समाज

अदालतको फैसला कुर्दै तनहुँ जलविद्युत्

सीएमसी काममा नफर्किए नयाँ टेण्डर

माघ ६, २०७५

    तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सिएमसी)को अदालतको फैसलाको प्रतीक्षामा रहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य निर्माणको ठेकेदार सीएमसी वित्तीय संकटमा फसेर भाग्न लागेको आरोपमा अदालतमा परेको उजुरीको फैसला नआउदासम्म जलविद्युत् आयोजनाले फेव्रुअरी ८ कुर्नुपरेको आयोजनाका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए।

    सिएमसी कम्पनीलाई ४ तारिखमा तनहुँ जलविद्युत् लिमिटेडमा उपस्थित हुन अनुरोध गरिएको पत्र पठाइएको र उपस्थित नभएमा स्वतः कानुनी रूपमै सम्झौता तोड्न सकिने थिकेले बताए। अदालतमा पेस भएको उजुरीको फैसला फेब्रुअरी ८ मा हुने हुँदा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘अदालतको फैसलाले मात्रै कम्पनीले आएपश्चात् प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने, ‘ठेकेदार आयोजनामा उपस्थित नहुँदा मौज्दातको काम ठप्प रहेको छ, सिएमसी काममा नफर्किए नयाँ टेण्डर आह्वान गर्नेछौँ।’

    उनका अनुसार अदालतको फैसलाबाट घाटामा गएको प्रमाणित भए ठेकेदार कम्पनीले क्षतिपूर्ति व्यहोर्नुपर्ने र कम्पनी घाटामा नगएको अदालतबाट फैसला भएमा जलविद्युत् कम्पनीले क्षतिपूर्ति व्यहोर्नुपर्ने हुन्छ। आयोजनाका प्रवर्द्धक तनहुँ जलविद्युतले सिएमसीलाई काममा फर्कन समय दिएको छ। सो समयभित्र सीएमसी काममा नर्फ्किए सम्झौता अनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने तनहुँका प्रबन्ध सञ्चालक थिकेले बताए।

    इटालियन कम्पनी सिएमसीले १४० मेगावटको तनहुँ हाइड्रोपावरसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो। ठेक्का सम्झौता भएपनि आयोजनाले सिएमसीलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) भने दिएको छैन।

    मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको सीएमसीले अहिले सुरक्षाका कारणले काम गर्न नसक्ने जनाएको उनले जानकारी दिए। सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्ताशहरुलाई समेत करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। ऋणदाता एसियाली विकास बैङक (एडीबी)ले पनि सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सुझाएको उनले बताए। ‘निर्धारित समयभित्र काममा नफर्किए सम्झौतामा भएको प्रावधान अनुरुप ठेक्का तोड्ने प्रक्रिया अघि बढाइनेछ,’ उनले भने ‘सीएमसी काममा फर्कने सम्भावना न्यून रहेको छ।’

    सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो। ठेक्का सम्झौता भए पनि तनहँुले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन। सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित भएको छ । ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया सुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने सम्भावना छ। दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग ठेक्का सम्झौता भइसकेको छ। आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा आयोजनाको कामकाज ठप्प रहेको बताए।

    सिनोले आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखेर ठेक्का सम्झौता गरिएको भएपनि यो कार्यतालिका प्रभावित हुने भएको छ। लट ३ अन्र्तगत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ।

    पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का सम्झौतामा भएको तनहुँ जलविद्युत् आयोजनाको कुल लागत ५० अर्ब ५० करोड डलर छ। यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत रहेको छ। एडीबीले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआईबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]