काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
हेटौँडा : शहीद दिवसको दिनमा प्रदेशभर सार्वजनिक बिदा दिएर चर्चामा रहेको प्रदेश ३ का मुख्यमन्त्रीले आफूलाई मुख्यमन्त्री पद छाड्न पर्दा गाह्रो नहुने तर, हेटौंडा–११ मा अवस्थित शहीद स्मारक विकास समितिको अध्यक्ष पद छाड्न नसक्ने बताएका छन्।
प्रदेश सरकारको आयोजनामा बुधबार हेटौंडामा शहीद दिवसको सन्दर्भ पारेर आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री पौडेलेले आफ्नो नेतृत्वमा देशमै नमुना शहीद स्मारक हेटौंडामा निर्माण गरेको कारण आफू त्यसको नेतृत्व छाड्न नसक्ने दावी गरेका हुन्। ‘मुख्यमन्त्रीको पद त्याग्न मलाई समस्या नहोला तर, स्मारक विकास समितिको त्याग्न म सक्दिनँ।’, मुख्यमन्त्री पौडेलले भने।
उनले शहीदको सम्मान आफूले स्मारक निर्माण सुरु गर्दा कसैले पनि आजको अवस्थामा आइपुग्छ भन्ने विश्वास नगरेको दाबी गरे। ‘शहीद स्मारक घुम्नलाई देशभरबाट वर्षेनी लाखौं पर्यटक आउन थालेका छन्। हाम्रो स्मारक हेरेर देशभर शहीद पार्क निर्माणको काम भइरहेको छ।’, उनले थपे।
उनले शहीदको सच्चा सम्मान गर्नुपर्ने औंल्याए। ‘परिवर्तनका लागि भूमिका निर्वाह गरेको शहीदको सपना हामीले पूरा गर्नुपर्छ। अब हामीले आर्थिक समृद्धिको दिशामा देशलाई अगाडि बढाएर शहीदको सपना पूरा गर्नुपर्छ।,’ उनले भने। हेटौंडा–११ स्थित शहीद स्मारकबाट सुरु भएको प्रभातफेरी शहीद स्मारकमा पुगेर टुंगिएको थियो। स्मारकमा रहेको शहीदको प्रतिमामा मुख्यमन्त्री तथा ३ नम्बर प्रदेशका मन्त्रीहरुले माल्यार्पण गरेका थिए।
स्थानीय राजनीतिमा शहीद स्मारक व्यवस्थापन समिति र मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष पदबाट मुख्यमन्त्रीले राजिनाम दिनुपर्ने भन्ने सर्वत्र आवाज उठिरहेको समयमा मुख्यमन्त्रीबाट यस्तो अभिव्यक्ति आएसँगै मकवानपुरको राजनीतिमा अर्को तरंग थपिएको छ।
प्रदेश सरकारका आन्तकिर मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले शहीदको सपना साकारको दिशातर्फ देश बढिरहेको दावी गरे। उनले शहीदले देखेको सपना अनुसार देशमा तीन तहको सरकार स्थापना भएको र अब समृद्धिको यात्रातर्फ देश अगाडि बढेको दाबी गरे।
जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल तथा शहीद स्मारक सञ्चालक समिति सदस्य रामेश्वर रानालगायतले शहीद दिवसको सन्दर्भमा आफ्नो धारणा राखेका थिए। स्मारकले प्रत्येक वर्ष शहीद दिवसमा प्रभातफेरी तथा प्रवचन कार्यक्रम गर्दै आइरहेको छ। स्मारकमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले शहीदप्रति सलामी समेत अर्पण गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।