राजनीति

डा. केसी अनशनको २२ औँ दिन : स्वास्थ्य अवस्था गिर्दो

अस्पतालमा हडताल गरेर क्लिनिक धाउँछन् डाक्टर

माघ १६, २०७५

    काठमाडौं :  आफूसँग १५ औँ अनशनमा भएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने लगायतका माग राख्दै विगत २२ दिनदेखि डा. केसी १६औं पटकको अनशसन बस्दै आएका छन्। बढ्दो उमेर र पटकपटकको अनशनले गर्दा डा. केसीको स्वास्थ्य अवस्था क्रमश: कमजोर बन्दै गइरहेको उनका समर्थकहरू बताउँछन्। तर, यसपालि सरकारले उनीसँग वार्ता गर्ने कुनै चासो देखाएको छैन भने यसभन्दा अगाडिका अनशनमा एक ढिक्का भएर केसीको अनशनमा समर्थन गर्दै आएका  चिकित्सकहरूसमेत विभाजित हुँदै गएका छन्। जसले गर्दा १६औँ अनशनसम्म आइपुग्दा केसीका समर्थकहरू पनि घट्दै गएको देखिन्छ।

    रातारात हट्यो पाल

    डा. केसीको अनशनको लामो समय बितिसक्दा पनि सरकारले उनको जीवनरक्षा र मागलाई सुनुवाइ नगरेको भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि शिक्षण अस्पताल परिसरमा नै केसी अनशन बसेको भवनको अगाडि रिले अनशन सुरु गरेको छ। १५औँ अनशनमा पनि संघले केसीको जीवनरक्षाको लागि भन्दै यसरी नै धेरै संख्यामा चिकित्सक जम्मा भएर दवाब स्वरूप रिले अनशन सुरु गरेका हुन्। तर, यसपटक भने विगतको तुलनामा चिकित्सहरूको उपस्थिति एकदम न्यून छ भने अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै संघले रिले अनशन बस्न बनाइएको पाल पनि रातरात हटाइएको छ।

    तर, शिक्षण अस्पताल प्रशासनले भने अस्पताल हातामा धर्ना नबस्न आग्रह गरेको थियो। त्यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दिएको थियो। अस्पताल प्रशासनले रातारात पाल हटाएपछि थोरै संख्यामा धर्ना बसिरहेका चिकित्सकहरूले म्याट ओछ्याएर काम चलाउँदै छन्।

    विद्यार्थी चिकित्सकको बलियो साथ

    डा. केसीको अनशनमा सुरुदेखि नै विद्यार्थी चिकित्सकहरूको बलियो साथ रहेको देखिन्छ। यसपाली पनि केसीको अनशनको एक हप्ता नबित्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले केसीको जीवनरक्षाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छन्। हाल शिक्षण अस्पतालका करिब दुई सय आवासीय चिकित्सकहरू, चिकित्सा विईन राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवसीय चिकित्सक तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरूले आकस्मिकबाहेक अन्य बिरामीको सेवामा नगई दिनहुँ नारा जुलुस गरिरहेका छन्।

    सुरुमा हातमा कालोपट्टी बाँधेर केसीको समर्थन गरिरहेका न्याम्स र शिक्षण अस्पतालका आवसीय चिकित्सकहरूले आइतबारदेखि भने अनशन स्थलमा नै धर्नासहित रिले अनशन सुरु गरिरहेका छन्।

    यता, आठौँ अनशनदेखि डा. केसीलाई पूर्णरूपमा समर्थन गर्दै आएको विवेकशील नेपाली दल पनि यसपटक एकदम कम सहभागिता जनाइरहेको छ।अघिल्ला अनशनमा दिनहुँ अनशनस्थलमा प्लेकार्डसहित विवेकशील दलका कार्यकर्ताहरू उपस्थित भएको देखिने दृश्य यसपालि खासै देखिएको छैन।

    यसकारण छन् समर्थन नगर्ने 

    राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले डा. केसीका माग स्वास्थ्यसँग सम्बन्धित हुँदासम्म आफूहरूले साथ दिए पनि यसपटक राजनीतिक विषय बोकेकाले समर्थन गर्न नसकिएको बताए। उनले अस्पताल बन्द गरिए प्रतिकारसमेत गरिने बताए। उनी वीर अस्पतालमा कार्यरत चिकित्सक हुन्।  उनले भने, 'यसपालि डा. केसीका माग चिकित्सा शिक्षाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित छन्, द्वन्द्वकालीन मुद्दा र संसदीय व्यवस्थालाई चुनौती दिने कुरामा हाम्रो असहमति छ।'

    यस्तै, केसीले जनतामुखी चिकित्सा शिक्षा विधेयक पारित नभएको भन्दै आफूसँग १५औँ अनशनमा भएको समहमतिकै आधारमा विधेयक आउनुपर्ने भनिरहँदा राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. पौडेलले भने संसदले पारित गरेको विधेयकले केसीका धेरै माग समेटेको हुँदा व्यक्ति नै 'सर्वेसर्वा' हो भन्ने ठान्ने र संसदले गरेको कुरा मान्दिन भन्ने कुरा केसीले गर्न नहुने पनि स्पष्ट पारे। डा. पौडेलले भने 'केसीका माग सम्बोधन भइसकेको छ, सहमति हुबहु कार्यान्वयन गर्ने भन्ने कुरामा पनि हुँदैन, डा .केसीका यसअघिका मागमा हामीले साथ दिएका हौँ र चिकित्सा शिक्षा सुधारका विषयमा हामी उहाँसँगै छौँ।'

    यस्तै, उनले नेपाल चिकित्सक संघले गर्दै आएको आन्दोलनको कुनै अस्तिस्व नरहेको समेत बताए। उनले भने, 'उहाँहरूले सरकारको काममा मात्रै अवरोध गर्नुभएको छ, रिले अनशन पनि क्लिनिकमा जान मिल्ने गरी तालिका बनाउनुभएको छ, राजनीतिक दलको निर्देशनमा चल्नुभएको छ, त्यसकारण पनि राजनीतिक आन्दोलनमा हाम्रो सहभागिता नभएको हो, हामी आन्दोलनमा सहभागी हुँदैनौँ, कारबाही गरे भोग्न तयार छौँ।'

    स्वास्थ्य अवस्था गिर्दो

    अनशनको २२ दिनसम्म आइपुग्दा केसी स्वास्थ्य अवस्था गिर्दो अवस्थामा रहेको चिकित्सकहरूले बताउँदै आएका छन्। हाल उनको मुटुको चाल अनियमित छ। कृत्रिम अक्सिजनविना केहीबेर पनि बस्न नसक्ने अवस्था छ। लामो समयको अनशन, इलेक्ट्रोलाइटको असन्तुलन रहेको चिकित्सकहरूले बताएका छन्।

    यस्तै, डा. केसीको रगतमा म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियमसमेत न्यून छ। शिरमा सोडियम, क्याल्सियमको कमीले मस्तिष्कमा असर गर्ने गर्छ जसले गर्दा मस्तिष्कले जुनसुकै बेला काम गर्न नसक्ने हुन्छ। यस्तै, पोटासियम र म्याग्नेसियम पनि कम भयो भने मुटुलाई असर गर्छ।

    हाल डा. केसीले साधारण स्लाइन लिनेबाहेक अन्य कुनै प्रकारको स्वास्थ्य उपचार लिन नमानेको केसीको अनशनलाई सहयोग गर्दै आएका प्रितम सुवेदीले बताए। उनले भने, 'अनशनको २२ दिन भइसक्यो, उहाँ कमजोर भइसक्नुभएको छ, तर कुनै प्रकारको उपचार सेवा लिन मान्नुभएको छैन।' पटकपटक अनशन बसेका केसीको दुई महिनाअघि मुटुमा समस्या देखिएपछि केसीको दुईपटक ‘कोरोनरी एन्जियोग्राफी’ गरेर औषधि सुरु गरिएको थियो। त्यसयता केसीले मुटुको नियमित मुटुसम्बन्धी ‘विटा ब्लकर’ नामक औषधि खाइरहेका थिए। तर, १६ औँ अनशन सुरु गरेपछि उनले सो औषधि खानसमेत इन्कार गर्दै आएका छन्। हाल डा. केसीको मुटुको चाल कम भएर ४० को हाराहारीमा पुग्ने गरेको र रक्तचाप ८० र ५० सम्म झर्ने गरेको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]