राजनीति

‘नेतृत्व चलायमान नभए कांग्रेसप्रति जनविश्वास घट्छ’

File Photo
माघ १६, २०७५

    हेटौँडा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्व चलायमान नभएको खण्डमा कांग्रेसप्रति जनविश्वास घट्ने दावी गरेका छन्।

    आगामी महाधिवेशन लक्षित गर्दै उपत्याका बाहिरको दौडाहामा निस्किएका सिंहले बुधबार हेटौँडामा कार्यकर्ता भेटघाटको क्रममा नेता सिंहले वर्तमान सरकार असफल भइसकेको अवस्थामा नेपाली कांग्रेस अब चुप लागेर बस्न नहुने बताए। ‘सरकार असफल भइसक्यो। अब नेपाली कांग्रेसले एक ढिक्का भएर सदन र सडकबाट आन्दोलन गर्न जरुरी रहेको छ। यस्तो अवस्थामा नेतृत्व तह बढी जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।’

    नेपाली कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका सिंहले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै वर्तमान कांग्रेसको नेतृत्वले कांग्रेसलाई चलायमान ढंगबाट अगाडि बढाउन नसकेको टिप्पणी गरे। ‘सरकार असफल भयो भनेर हुँदैन। त्यस विषयमा सबै जनतालाई जानकारी गराउन सक्नुपर्छ। यो काम पार्टी नेतृत्वको हो। तर, कांग्रेस नेतृत्वले त्यसो गर्न सकेको छैन। पार्टीले कार्यकर्ताको मन भावनाअनुसार काम गर्न जरुरी रहेको छ,’ उनले भने। समयको मागअनुसार पार्टीलाई अगाडि बढाउन नसकेको खण्डमा पार्टीको अवस्था अझै कमजोर हुँदै जाने उनको टिप्पणी थियो।

    ‘अघिल्लो निर्वाचनबाट हामी केही कमजोर देखिएका छौँ। समयको माग बमोजिम हामीले संगठन सञ्चालन गर्न सकेनौँ भने हामी अझै कमजोर हुँदै जानेछौँ। विगत जति सुकै राम्रो भएपनि वर्तमान र भविष्यमा जनताको नेतृत्व कांग्रेसले गर्न सक्दैन भन्ने जनभावना भएको खण्डमा पार्टीलाई फेरि पहिल्यको स्थानमा फर्किन गाह्रो हुन्छ’, उनले भने।

    उनले वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको दावीसमेत गरे। ‘सरकार सबैतर्फ असफल भइसकेको छ। अब जनताले लेखाजोखा सुरु गरिसकेका छन्। सुशासन र भ्रष्टाचार न्यूनीकरणमा सरकार चुकिसक्यो’ उनले भने। नेता सिंहले बाइडबडी काण्डबाटै सरकार भ्रष्ट रहेको प्रमाणित भइसकेको बताए। ‘वाइडबडीको विषय तत्काल छानविन गरेर भ्रष्टाचारीलाई कारबाही गर्न जरुरी रहेको छ । हाम्रो पार्टीका सभापतिले वाइडबडीको छानविन गर्न सदनमा सम्बोधन गर्दै सरकारलाई आग्रह गरिसकेका छन्’, उनले भने।

    ‘सरकार  सुशासनमा मात्र असफल भएको होइन। आफैँले ल्याएको नीति तथा कार्यक्रम लागू गर्न समेत असफल देखिएको छ। आफैँले ल्याएको विकास बजेट समेत खर्च गर्न सकेको छैन। हामीले राष्ट्रिय गौरवको रुपमा अगाडि बढाइरहेका बहुबर्षिय आयोजनाहरूको काम अहिले रोकिएका छन्। सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न  नसक्दा यस्ता अवस्था देखिएको हो’ उनले भने। नेता सिंहले सरकारले आफूसँग दुई तिहाइ भएको दम्भ देखाउँदै हिँडे पनि विकास र जनताको दैनिकीमा कुनै सकारात्मक परिवर्तन नदेखिएकोभन्दै सरकारको आलोचना गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]