ब्लग

खै ! शहीदको परिभाषा : तस्वीरमा पनि हेर्न नपाइने हो?

File Photo
माघ १६, २०७५

    काठमाडौं : हरेक वर्ष माघ १६ मा मनाइने शहीद दिवस औपचारिकतामा मात्रै सीमित हुन थालेको छ। न सरकारसँग शहीदको स्पष्ट तथ्यांक छ न शहीदको वास्तविक परिभाषा नै। जसका कारण सरकारपिच्छे आफ्ना निकटका व्यक्तिलाई शहीद घोषणा गर्ने प्रवृत्ति हावी बनेको छ।

    विस २०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्ने परिपाटी शुरु भएको हो। जसले वास्तविक शहिद र उनका परिवारले अन्यायको महसुस गरेका छन्। शहीदको परिभाषा गर्न भन्दै पूर्वमन्त्री मोदनाद प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा गठन भएका दुई आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि कार्यान्वयन हुन सकेको छैन।

    देश र जनताका लागि माफी नमागी मर्न चाहने चार शहीदलाई पहिलो श्रेणीको शहीद मान्नुपर्ने र राम्रो काम गर्दागर्दै मर्छु भन्ने थाहा नभए पनि कारणवश मरेका पनि शहीद हुने भनी प्रतिवेदन तयार गरी बुझाइयो। तर सोअनुसार हुन भने सकेको छैन। पछिल्लो समय सरकारले शहीद परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था गरेपछि त्यही राहत पाउनकै लागि आफ्ना व्यक्तिलाई शहीदको सूचीमा राख्ने होड चलेको हो।

    पछिल्लोपटक झै-झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ। राज्यले शहीद र शहीद परिवारलाई बेवास्ता गरेको जनआन्दोलनका घाइते तथा शहीद परिवारको गुनासो छ। रिपोर्टर्स क्लब नेपालमा बुधबार भएको कार्यक्रममा शहीद यमलाल लामिछानेका छोरा द्रोण प्रसाद लामिछानेले राज्यले आफूहरूलाई नसम्झिएको गुनासो गरे।

    तर, यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताए। शहिद दिवसका अवसरमा बुधबार बिहान लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धान्जलि सभा तथा माल्र्यपण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकासका लागि सिंगो देश एकाबद्ध हुनुपर्नेमा जोड दिए।

    शहीद दिवसमा दिँदै आएको बिदा केन्द्र सरकारले कटौति गरेपछि तीन तहका सरकार नै अलमलिएको जस्तो देखिएको छ। शहीद दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले बुधबार दिएको सार्वजनिक बिदा मकवानपुरका सरकारी कार्यालयले बेवास्ता गरे। यो परिस्थिति आउनुलाई राम्रो मान्न सकिदैन।

    पछिल्लो समय बढेको राजनीतिक खिचातानी र निहीत स्वार्थका कारण वास्तविक शहीदप्रतिको सम्मानमा कञ्जुस्याँइ भएको हो कि? भन्ने भान हुन थालेको छ। धेरैलाई शहीद बनाउँदा शहीद पहिचान गर्न नै समस्या हुने देखिएको छ। र आफ्ना लागि प्राणको आहुति दिनेलाई तस्वीरमा सम्म देख्न नपाइने अवस्था सृजना भएको छ।

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]