फिचर

'मलाई यो जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो'

माघ २०, २०७५

    अतिन आचार्य

    काठमाडौं :  'कस्तो कर्म र जिन्दगी रहेछ व्हिल चेयरको ड्राइभर पो भइएछ।' गीत सुन्दा झट्ट लाग्छ उनी व्यवसायीक गायक हुन तर टेकु, त्रिपुरेश्वर, सुनधारा सडकखण्डमा व्हिल चेयरमा पत्रिका बेच्दै हिड्ने पूर्व प्रहरी हवल्दार क्षेत्र बहादुर भण्डारी हुन्। गीत मात्र गाउँदैनन् पत्रिका समेत बेच्छन्। पत्रिका किन्न आउने मान्छेलाई गीत सुनाउँदै पत्रिका बेच्छन् उनी। कान्तिपुर, अन्नपूर्ण, गोरखापत्र, नागरिक, नयाँ पत्रिका व्हिल चेयरको छेउमा लेखिएको छ। उनी भन्छन्, 'पत्रिका किन्नुहोस् गीत सुनेर जानुहोस्।'

    टेकुको अम्बे कम्प्लेक्समा बस्दै आएका ६२ वर्षे भण्डारी को स्थायी घर काभ्रे भुलुङ गाउँपालिका हो। २ छोरा र १ छोरीको पिता हुन् उनी। उनी ११ वर्षदेखि गाउँ गएका छैनन्। उनी भन्छन्, ' बैसाखीको सहाराले निर्वाचनमा भोट हाल्न भने गएको थिएँ।'

    उनको दैनिकी व्हिल चेयरमा पत्रिका बेचेर जीवन चलिरहेको छ। व्हिल चेयरमाथि सप्तरङ्गी छाता छ। उनी भन्छन्, 'मैले यसरी पत्रिका बेच्न थालेको ११ वर्ष भयो। गीत गाउँदै, पत्रिका पढ्दै, अरूलाई पढाउँदै आएको छु।'

    व्हिल चेयरमा बसेर पत्रिकाको साथसाथै पानी समेत बेच्छन्। पत्रिका किन्नेले पानी पनि किन्छन्। भण्डारी अगाडि थप्छन् 'पत्रिका किन्न आउनेले पानी पनि किनेर लान्छन्। 'उनको लागि पत्रिका र पानी बेच्नु बाध्यता हो।

    रोग लागेर आफ्नो जीवन व्हिल चेयरको साथी भएपछि जीवनभर साथ दिन्छु भनेकी श्रीमतीले छोडेर गएको बताउँछन्। जेठा छोरा र बुहारी काभ्रेमा बस्छन् भने कान्छा छोरा विदेशमा छन्। भण्डारी भन्छन् 'छोराहरू २ वटा भएर के गर्नु तर यस्तो हालतमा व्हिल चेयरमा बसेर दुख:का उकाली र ओरालीहरू काट्नु परेको छ।'

    उनलाई जेठी बुहारीले घरबाट निकालेकी रहेछिन। 'बुहारी त यस्तो कसैको नहोस्। आफ्ना ले त मान्दैनन् अरूका छोरीले त झन् के माया गर्लान भन्ने आस।'

    प्रहरीमा ११ वर्ष सेवा गरेका उनले त्यहाँ रहँदा सबै खालको गाडी कुदाउन जानेको बताउँछन्। ३ वर्ष प्रहरी सेवामा हवल्दार समेत भएका व्यक्ति हुन् उनी। राजीनामा दिएर प्रहरी सेवाबाट निस्केको बताउँछन् उनी।

    जीनामा किन दिनुभयो त? उनी भन्छन्, 'चाकरी गर्नेको बढुवा हुने मेरो नहुने भएकोले राजीनामा दिएँ। चाकरी गरेर पनि के जागिर खानु?' त्यस समयमा प्रहरी जवान र प्रहरी निरीक्षक समेतलाई आफूले प्रशिक्षण दिएको उनी बताउँछन्।

    भण्डारीले प्रहरी सेवाबाट राजीनामा दिएको एक दशक भन्दा बढी भइसकेको छ। देशमा ठूला ठूला राजनीतिक परिवर्तन भए। देश जनयुद्धदेखि दोस्रो जनआन्दोलन हुँदै संविधानसभाको निर्वाचनसम्म आइपुगेको छ। जसको प्रत्यक्ष साक्षी हुन उनी। हातले तलमाथि गरेर ह्यान्डिल घुमाएर बिताउनुपर्ने उनको जीवन भने परिवर्तन हुन सकेको छैन।

    अनेक हण्डर र ठक्करबाट गुझ्रदाँ पनि बाँच्ने साहस हराएको छैन उनमा। कवि भूपी शेरचनले कवितामा भनेजस्तो 'म पाइडल जति चलाउँछु, उतिबेलासम्म डाइनामो बल्छ।' तर अफसोच क्षेत्रबहादुरमा लागू भएन।

    किनभने डाइनामो बाल्न व्हिल चेयरमा बत्ती थिएन।  यद्यपि उनको व्हिल चेयरको यात्रा रोकिएको छैन। पत्रिका बेच्दै कहिले सुनधारा, कहिले थापाथली, कहिले टेकु कुदिरहेका हुन्छन्। भन्छन्, 'बाँच्नको लागि भए पनि यात्रा गरिरहनु पर्ने नै रहेछ।'

    जागिर पनि छोड्नु रोगले पनि समात्नु उनको जीवनमा संयोग भयो। दुवै खुट्टा नभएर व्हिल चेयरमा शरीर थामेर बसेका छन् उनी। भण्डारी भन्छन्, 'मेरो जीवनमा सुगर ठुलो अभिशाप बनेर आएको छ, दुवै खुट्टा आज सुगरले लगो।' पहिलो पटक पैसा हुँदा बनेपाको अस्पतालमा गएर खुट्टा काटेका हुन उनले। दोस्रो खुट्टा काट्ने बेलामा पैसाको अभाव भएर सडकमा बेवारिसे भएका उनी भन्छन्, 'म सडकमा थिए एक जना ट्याक्सी ड्राइभरले मलाई वीर अस्पतालमा लगेर छोडदेका थिए।' दोस्रो खुट्टा वीर अस्पतालमा काटिएको रहेछ। दुवै खुट्टा नभए पनि खुसी र हिम्मतका साथ बाँचेका छन्।

    व्हिल चेयर बाच्ने आधार भएको छ। शारीरिक रूपमा अपाङ्गता भए पनि आफ्नो पेट पाल्ने काम आफै गरेका छन् उनले। व्हिल चेयर कसरी प्राप्त भयो त भन्ने प्रश्नमा उनी भन्छन् 'अस्पतालमा बस्दा अरू बिरामीका कुरुवा आफन्तले मलाई सुनाए। व्हिल चेयर पाए म लिन्छु भने, त्यहीँबाट मेरो व्हील चेयरको यात्रा सुरु भएको हो।' अनामनगरमा राजेश हमालको भाइ राकेश हमालको व्हिल चेयर दिने संस्था रहेछ। भण्डारी भन्छन्, 'उनै हमालको भाइले व्हिल चेयर दिएको हो, व्हिल चेयरमा जब चढेर हिडे मलाई त काठमाडौं नै नभए जस्तो लागेको थियो।'

    तीन चक्का भएको उनको व्हिल चेयर छ, हिजोआज साथमा अमेरिका र नेपालको झन्डा पनि छ। यस्तो नयाँ प्रविधिको व्हिल चेयर कसले प्रदान गर्‍यो त? उनी भन्छन्, 'एक दिन बाटोमा पुरानो व्हिल चेयरमा हिडिरहेको बेला रामचन्द्र दाहाललाई भेटेँ। उनीसँग गफको क्रममा म यस्तो नयाँ खालको साधन भए केही गरिखान्थे भनेर सुनाएँ।' उनै रामचन्द्रले २ महिनापछि विदेशबाट मगाएर अहिले चढिरहेको व्हिल चेयर दिएका हुन्। पुरानो व्हिल चेयर चढ्नु सजिलो कि नयाँ व्हिल चेयर चढनु सजिलो लागेको थियो भनेर सोध्दा उनले आफ्नो अनुभव सुनाउँछन्' पुरानोमा हात र शरीरको पुरा बल लगाएर चलाउनुपर्थो भने यसमा भने सिटमा बसेर हातले घुमाए पुग्छ।'

    व्हिल चेयरमा अमेरिका र नेपालको झन्डा हल्लिरहेका छन्। आफ्नो स्वेच्छाले अमेरिकाको झन्डा पनि नेपालको झण्डासँग राखेको उनी बताउँछन्।

    नेपाल र अमेरिकाको पुरानो दौत्य सम्बन्ध छ उनको विचारमा। 'झन्डालाई सम्मान गर्नु भनेको देशलाई सम्मान गर्नु जस्तै हो', उनी भन्छन्।

    एक पटक उनी सडकमा व्हिल चेयरमा सदा झैँ यात्रा गरिरहेका थिए। मिठा कल्पनाका साथमा यात्रा गरिरहेका थिए। टेकु सडकखण्डमा कसैले उनलाई पछाडिबाट बोलाएछन्। उनी टक्क अडिए। एक जना व्यक्तिले उनलाई खाना खानु भनेर ४० रुपैयाँ दिएछन। उनी भन्छन् ' मैले खाना नखाएर गोजीमा राखेँ र भोलिपल्ट बिहान गएर ३९ रुपैयाँको पत्रिका किने।'

    त्यो बेलामा अहिले १० रुपैयाँ पर्ने पत्रिका ५ रुपैयाँमा आउँदोरहेछ। पत्रिका बेचेर उनको लागि खान हम्मेहम्मे पर्दोरहेछ। उनको लागि व्हिल चेयरमा पत्रिका बेच्नु भनेको बाच्नको लागि सहारा भएको छ।

    पत्रिका किन्न हिजोआज खासै मान्छे आउँदैनन् तर नियमित ग्राहक भने सधैँ आउँछन्। कोही कोही भने राम्रा मन र सहयोगी मनका मानिसहरू पनि आउने गरेका छन्। उनी सुनाउँछन्, 'दाइ पत्रिका दिनु भन्छन् मूल्य तिर्छन् बाँकी रहेको पैसा फिर्ता लान मान्दैनन्।' खुट्टा नभएकोले पनि दया देखाएका हुन भन्ने उनलाई लाग्छ।

    यो सडकमा उनी जस्तो मानिसलाई समस्या नहुने त कुरै भएन। अपाङ्गता  भएका व्यक्तिलाई हेयको दृष्टि हेर्नेहरू पनि छन्। उनी भन्छन्, 'मेरो यस्तो शरीर देखिदेखि तेरो आँखा छैन भनेर थर्काउँछन्, यो वान वेबाट किन हिँडेको भनेर एक जना महिला ट्राफिक प्रहरीले कराइन।'

    नेपाल सरकारका कर्मचारीबाट भने उनी सन्तुष्ट छैनन्। भण्डारी भन्छन्, 'प्रहरी जनताको साथी भन्छन् मौका पाउने बित्तिकै घाटी निमोठ्न आउँछन।' उनको सरकारसँग एउटै माग छ - खान र बस्न पाउँ, सुविस्ताले पत्रिका बेच्न पाउँ।

    श्रीमती, छोराछोरी पनि थिए सबैले छोडेर एक्लै बसेका छन् भण्डारी । परिवारको मायाभन्दा आज यही व्हिल चेयरको माया लाग्ने गरेको भण्डारी बताउँछन्। भण्डारी अगाडि थप्छन् ' मानव भएर मात्र के गर्नु त्यो मानवमा मानवियता छैन भने।'

    मानिसको भिडमा उनी आज एक्लो भएको महसुस गर्छन्। समय भन्दा बलवान केही रहेनछ भन्ने उनलाई लाग्दो रहेछ । 'कस्तो थिएँ, कस्तो भएँ आज। यो जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]