प्रवास

बेलायती सेनाको उच्च अधिकृत बने देवेन्द्र आले

माघ २०, २०७५

    लण्डन : बेलायती गोरखा सैनिक देवेन्द्र आले मगर बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन्। हाल ११ 'इन्फेन्ट्री' बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेलाई बिहीबार बसेको छनोट बोर्डले बढुवा गरेको हो। उनी बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेन्ट कर्णेल पदमा पुगेका हुन्।

    बेलायती सेनामा ३० वर्षदेखि कार्यरत देवेन्द्र उच्च पदमा पुग्ने पाँचौ नेपाली बनेका छन्। गोरखा भर्तिको २०० वर्षभन्दा लामो इतिहासमा लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा उक्त पदमा यसअघि पुगिसकेका छन्। जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरू सबै सेवानिवृत्त भइसकेका छन्।

    देवेन्द्रले बेलायती सेनामा कार्यरत रहेका करिब २०० जना मेजरहरूलाई पछि पार्दै बढुवा भएका हुन्। 'मेजर पदमा सेवारत समकक्षीहरू करिब २०० जना छन्। त्यसमध्ये धेरैजना लेफ्टिनेन्ट कर्णेल पदका लागि प्रतिपस्पर्धा गर्न योग्य छन्, तर गोरखा सैनिकहरू भने कोही पनि थिएनन्', बढुवा भएपछि उनले भने। उनले नयाँ जिम्मेवारी अर्को वर्षबाट शुरु गर्नेछन्। करिब तीन वर्ष लेफ्टिनेन्ट कर्णेल पदमा कार्य गरेपछि उनी रिटायर्ड हुनेछन्। 

    योभन्दा माथि आफू जाने सम्भावना भने नरहेको उनले बताए। तर भविष्यमा भने सोझै कमिसनमा अधिकृत भएका गोरखा अफिसरहरू लेफ्टिनेन्ट कर्णेलभन्दा माथिल्लो ओहोदामा पुग्ने बताएका छन्।

    स्याङ्जाको बहाकोट, भञ्ज्याङ पुर्ख्यौली घर भएका आलेका पिता क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिक थिए। उनी पिता सिंगापुरमा रहेका बेला जन्मेका थिए। उनको पढाई भने हंकङ र नेपालमा भएको थियो। हंकङको गोरखा स्कुलबाट एसएलसी गरेका उनले अमृत साइन्स क्याम्पस काठमाडौंमा आइएसी गरेका हुन्।

    आइएसीपछि उनले देहरादुन गएर पुनः बायलोजीमा प्लस टु गरेका थिए। फर्केर त्रिचन्द्र कलेजमा बिएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भएका थिए। २२ वर्षको उमेरमा ब्रिटिश सेनाको क्लर्कमा भर्ति भएर उनले सैन्य जीवन सुरुवात गरेका थिए। उनी श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]