राजनीति

प्रधानमन्त्रीले ऐना हेर्न बन्द गर्नुहोला भन्ने डर लाग्दै छ : गगन थापा

फाइल फोटो
माघ २०, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकारले संसदको बल नकरात्मक ठाउँमा प्रयोग गरेको आरोप लगाएका छन्। संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले सरकारले दुई तिहाईको बल डा. गोविन्द केसीको अनशन तोडाउन र मेडिकल माफियाहरूलाई पोस्नका लागि दुरुपयोग भएको आरोप लगाएका हुन्।

    नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने जानकारी दिन विशेष समय लिएर बोलेका थापाले नेपाल सरकारलाई व्यांगात्मक रूपमा बधाई दिएका हुन्।

    थापाले डा. केसीका कारण सयौं विद्यार्थी विदेशका क्याम्पसमा मेडिकल शिक्षा पढ्न गएर ठगिनबाट बचेको, भाडाका बिरामी र डाक्टर ल्याएर सिट क्षमता पाउने गरेका मेडिकल कलेजलाई रोकिएको र २०० सिट क्षमता पाउनेले १०० सिटको क्षमता मात्रै पाएको, एक करोड पुग्न लागेको मेडिकलको पढाइ ५० लाखमा झारेको भए पनि सरकारले भने डा. केसीलाई पराजित गरेको भन्दै बधाई दिएका हुन्।

    सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर मेडिकल माफियालाई खुसी बनाएको एवं डा. केसीलाई पराजित गरेर लोकमानसिंह कार्कीलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन्। थापाले भने, 'दुई तिहाईको दम्भ देख्नै पाएका थिएनौँ। अनाथ बालबालिकाका निम्ती कानुन बनाउने अवसरमा दुई तिहाई देख्न पाइएको थिएन। शिक्षामा राज्यको भूमिका बढाउन दुई तिहाई देख्न पाइएन। कमरेड मनमोहनको लागि दुई तिहाई देख्न पाइएन। कमरेड मार्सीमोहनको लागि दुई तिहाई देख्न पाइयो।'

    थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा भाषण गरेको तर सरकारको काम जनताको जीवनमा नदेखिएको बताएका छन्।  उनले जनतामाझ प्रधानमन्त्रीको विस्वास गुमेको बताए। उनले भने, 'दुई तिहाईले सुतेको डाक्टरलाई उठाइदियो। यहाँ त प्रधानमन्त्रीको विश्वास ढल्यो कसले उठाइदिने? विस्वासमा डढेलो लाग्यो कसले पानी हालिदिने?'

    सरकारले शान्तिसुरक्षाको व्यवस्था गर्न असफल भएको थापाको आरोप थियो। उनले निर्मला पन्तको झैँ मोरङकी रुक्मती दासको सामूहिक बलात्कार र हत्या भएको तर जनताले भने न्यायको आश मारेको बताए। सरकार निर्मलाको बलात्कार र हत्यामा असंवेदनशील बनेको र अन्त पनि त्यस्तै रूप देखिने बताए।

    अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा सरकारले लगानी सम्मेलन गरेर कसरी लगानी ल्याउला भनेर थापाले प्रश्न गरे। उनले स्वदेशमा भएका उद्योगी भाग्न खोजेका र सरकारी नीतिका कारण उद्योगी निराश भएका बताए। यस्तो अवस्थामा प्रधानमन्त्री ओली भने संसरबाट लगानी आइरहेको छ भनेर भाषण गरिरहेको थापाले बताए। त्यसैगरी सरकारले विभिन्न तथ्यांक तोडमरोड गरिरहेको पनि आरोप थापाले लगाए।

    प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्ने गरेको तर वरपर जताततै भ्रष्टहरू राखेको थापाको आरोप थियो। उनले भने, 'प्रधानमन्त्रीले ऐना हेर्न बन्द गर्नुहोला भन्ने डर लाग्दै छ।' उनले अगाडि भने, 'प्रधानमन्त्री एकपटक ऐनामा हेरिदिनुस्, दागैदाग छ। सफा गरिदिनुस् भन्छौँ। तर उहाँ भन्नुहुन्छ ऐना सफा गर, ऐनामा फोहोर होला भन्नुहुन्छ।'

    थापाले सरकारका एकपछि अर्को कामले जनतामा आक्रोश बढिरहेको बताए। यस्ता क्रियाकलापले लोकतान्त्रिक व्यवस्था नै धरापमा पर्छ कि भन्ने चिन्ता लागेको थापाको भनाइ थियो।

    उनले, संसद अवरोध हटाउने तर प्रतिपक्षी र सरकारबीचको सम्बन्ध हिजोको जस्तो नरहने बताए। सरकारले प्रतिपक्षीप्रति गरेको व्यवहार नसहने थापाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]