फिचर

शिक्षासँगै स्वरोजगार, बारीमै पढाइ, बारीमै खेती

माघ २०, २०७५

    दमक(झापा) : झापा हल्दिबारीका दिपेश राजवंशीले शिक्षा संकायबाट १२ पास गरे। तर, रोजगारीको कुनै निश्चितता भएन। सोही संकायमा थप अध्ययन् गरे पनि भविष्य सुरक्षित नदेखेपछि उनले प्राविधिक विषय, पशु विज्ञान रोजे। उनी अहिले झापाको कमल गाउँपालिका–७ स्तिर सरस्वती मावि, प्राविधिक शिक्षालयमा अध्ययन मात्र गरिरहेका छैनन्, उद्यमशीलताको अभ्यासमा पनि छन्। हल्दिबारीबाट आएका १० मध्ये ५ जना छात्रहरूले बंगुरपालन गरिरहेका छन्। विद्यालयकै जमिनमा बंगुरको खोर बनाएका छन्, त्यसमा उनीहरू सैद्धान्तिक विषयमा गरिएका अध्ययनहरू अभ्यास गर्ने गरेका छन्।

    उनकै सहपाठी रोशन ढुंगेल पढाइ सकेर बिदा हुँदा फारम नै सञ्चालन गर्न सक्ने हुने आत्मविश्वास व्यक्त गर्छन्। उनीहरूसँगै पढ्ने पाँचजना छात्राहरूले भने सामूहिक कुखुरा पालन गरिरहेका छन्। किताबी ज्ञानलाई अभ्यास गर्ने र सोही माध्यमबाट आम्दानी पनि हुने भएकाले विद्यालयको पढाइ रुचिकर पनि भएको छात्रा आशा खेवाङ्ले बताइन्।

    यस प्राविधिक शिक्षालयमा अध्ययनरत् विद्यार्थीहरू कक्षा कोठामा सैद्धान्तिक अध्ययन गर्छन्। कक्षा कोठामा अध्ययन गरेको विषय तुरुन्तै नजिकै रहेको बारीमा पुगेर अभ्यास गरिहाल्छन्। सैद्धान्तिक र व्यावहारिक ज्ञान एकसाथ लिएसँगै उनीहरूले उद्यमशीलताको अभ्यास पनि सँगै गरिरहेका छन्।

    विद्यालयमा सञ्चालित बालि विज्ञान, पशु विज्ञान तथा आइएस्सी एजीका विद्यार्थीहरूको अध्ययनको शैली नै यही हो। विद्यालयका शिक्षक एकराज प्याकुरेल कक्षा कोठामा सैद्धान्तिक कुरा पढाइने र तुरुन्तै खेतबारीमा पुगेर व्यावहारिक कुरा पढाइने गरेको बताउँछन्। जसका कारण उनीहरूमा अध्ययनसँगै अभ्यासको पनि विकास भइरहेको बताउँछन्।

    विद्यालयमै बारी

    विद्यालयका प्रधानाध्यापक दुर्गा सेढाईं कृषि प्राविधिकहरूको बढ्दो माग भएकै कारण विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने क्रम बढेको बताउँछन्। उनका अनुसार यस विद्यालयमा झापाका विभिन्न गाउँका साथै प्रदेश एकका विभिन्न जिल्ला र अन्य प्रदेशबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आएका छन्। टाढाबाट आउने विद्यार्थीहरूका लागि लक्ष्य गरी छात्रावास निर्माण पनि भइरहेको छ।

    विद्यालयसँगै रहेको करिब साढे ५ बिगा जमिनमा विद्यार्थीहरूले आफ्नो विषय अनुसारको उद्यम पनि गरिरहेको उनले जानकारी दिए। तीमध्ये बाली विज्ञानका विद्यार्थीले विभिन्न प्रकारका खेती गरेका छन् भने पशु विज्ञानका विद्यार्थीहरूले सामूहिक रूपमा पशुपालन गरेका छन्।

    यसबाट विद्यार्थीहरूले शिक्षाले रोजगारी पनि दिलाउँछ भन्ने वातावरण बनेको शिक्षक डायमण्ड ताजपुरियाले बताए। पढाइसँगै विद्यार्थीहरूमा सामूहिक भावनाको पनि विकास भएको र यसले उनीहरूलाई साझेदारीमा उद्यम गर्न पनि सिकाइ अभ्यास हुने उनको भनाइ छ।

    जोडियो हिमालपहाड र तराई

    स्वरोजगारमूलक शिक्षाकै कारण झापाको एउटा गाउँमा रहेको विद्यालयले हिमाल, पहाड र तराईलाई जोडेको छ। यहाँ प्राविधिक शिक्षा अध्ययनका लागि हिमाली जिल्ला ताप्लेजुङकी जानुका शेर्पादेखि तराईको आदिवासी समुदायका निर्मला राजवंशी, जमुना सोरेनलगायत अध्ययरत छन्। यस्तै, धनकुटामा जेटिएको अध्ययन सकेकी संखुवासभाकी सरस्वती राउतको ध्यान पनि अहिले कृषि अध्ययनले तानेको छ।

    विभिन्न स्थानीय तहमा पनि कृषि प्राविधिकहरूको माग बढिरहेकाले पनि रोजगारीको सम्भावना बढी भएको हाल कृषि विषय अध्ययन गरिरहेकी उदयपुर रामपुरकी युनिसा श्रेष्ठ बताउँछिन्। यस्तै, १२ कक्षासम्म व्यवस्थापन संकायमा अध्ययन सकेकी पाँचथरको मेमेङकी कविता रिजाल पनि अहिले आइएस्सी एजीको अध्ययन गरिरहेकी छन्। छात्रहरू मात्र नभई छात्राहरूमा पनि बाली विज्ञान, पशु विज्ञान, आइएस्सी एजी जस्ता विषयहरूमा आकर्षण उच्च रहेको विद्यालयका प्रधानाध्यापक सेढाईंले बताए।

    बच्चा छोडेर अध्ययनमा

    कृषि तथा पशुपालन अध्ययनमा भर्खरै विद्यालय अध्ययन पूरा गरेका मात्र होइन, घरजम गरेका र अरू व्यवसायमा अनुभव संगालेकाहरूको आकर्षणपन उस्तै छ। ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ की एलिजा राईका ४ वर्षका छोरा छन्। उनले यसअघि धरान र बेलबारीमा ब्युटीपार्लरको तालिम पनि लिएकी हुन्। ताप्लेजुङमै केही समय व्यवसाय पनि गरिन्। तर, त्यसबाट भने कृषि विषयको अध्ययनबाट स्वरोजगारी सहज हुने देखेपछि अहिले झापा आएर डेरा बसी यही विद्यालयमा अध्ययन गरिरहेकी छन्। विवाहित र छोराकी आमा भए पनि पारिवारी साथ, सहयोग र सल्लाह नै कृषि विषय अध्ययन सहज भएको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]