समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण

माघ २०, २०७५

    चितवन : भरतपुर महानगरपालिका १५ मा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य सुरु भएको छ। आइतबार रंगशाला निर्माणस्थलमा कार्यक्रमको आयोजना गरी धुमुर्स सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस' र भरतपुर महानगर प्रमुख रेनु दाहालले संयुक्त रुपमा डिपिआर निर्माण कार्य सुरु भएको घोषणा गरेका हुन्। 

    फाउण्डेसनका अध्यक्ष धुर्मुसले निर्माण स्थलमा डोजर चलाएर डिपिआरको औपचारिक सुभारम्भ गरे। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने रंगशालाको डिपिआर अबको ६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै धुर्मुसले शिलान्यास गरेको २ वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने योजनाका साथ अघि बढेकाले निर्धारित समयमा सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने बताए। उनले यो रंगशाला देशकै गौरवको विषय भएकाले सकेको सहयोग गर्न देश विदेशमा रहेका सवै नेपाललीलाई अपिल पनि गरे। उनले सवैको सहयोगले मात्रै निर्माण सम्पन्न हुनेभएकाले आर्थिक पारदर्शिताका लागि सचेत रहेको बताए।

    सहयोग आएको रकम १ रुपैयाँ पनि अनियमितता नहुने भन्दै धुर्मुसले यसअघि गरिएको बस्ती निर्माणको अनुभव पनि ठूलो सहयोगी बनेको उल्लेख गरे। यस्तै कुञ्जना घिमिरेले हर तरहले रंगशाला निर्माणको काम निर्धारित समयमा नै सम्पन्न गर्ने दृढता व्यक्त गरे। उनले यस्तो अवस्थामा छाती ठूलो बनाएर राष्ट्र र राष्ट्रियताका लागि एक जुट हुन सवैसँग आव्हान गरिन्। यस्तै भरतपुर महानगर प्रमुख दाहालले अन्तर्राष्ट्रिय रंगशाला चितवनमा निर्माण हुनु गर्वको कुरा भएकाले सवै मिलेर सम्पन्न गर्नुपर्ने बताए।

    महानगरले ठूलाठूला योजनाहरू अघि बढाइरहेकाले अबको २ वर्षमा विकासको मोडालीटी देखिने बताए। रंगशाला २ वर्षमा सम्पन्न हुन्छ, अन्य सडक सञ्जाल लगायत भौतिक संरचना निर्माण कार्य पनि धेरै अगाडि बढ्नेछन्, प्रमुख दाहालले भने, 'अवको दुई वर्षमा भरतपुरबाट सिंगो नेपालको परिचय दिनेछ।' उनले विकासका लागि कसैले पनि तेरो मेरो नभनी हातेमालो गर्नुपर्नेमा जोड दिइन्। 

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले रंगशाला निर्माणका लागि सहयोग गर्ने ठाउँमा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता जनाएका छन्। अध्यक्ष दाहालले चितवनसँगै प्रदेश ३ र सिंगो नेपालको परिचय दिने ऐतिहासिक काममा निजी क्षेत्र, सवै राजनीतिक दल, सरकार, आम सर्वसाधारण सवै मिलेर अघि बढ्नुपर्ने बताए। यस्तै नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले भरतपुरमा रंगशाला निर्माण हुनु गर्वको विषय भएकाले आफ्नाे पार्टीबाट हुने सवै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए।

    गौरवको विषयमा कसैको विरोध, असन्तुष्टि नरहने भन्दै श्रेष्ठले भने समृद्धिका लागी सवै मिलेर हातेमालो गर्नु पर्छ। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीप लामिछानेले विराट कोहली लगायत विश्व चर्चित क्रिकेट खेलाडीलाई आउट गराएको हेर्ने दिन धेरै टाढा नभएको भन्दै खुसी व्यक्त गरे। कार्यक्रम सुरु हुनु अघि भरतपुरको चौविसकोठीबाट निर्माण स्थलसम्म राजनीतिक दल, व्यवसायी, खेलाडी, स्थानीय सारेकारवाला पक्षको बाक्लो उपस्थितिमा वृहत र्‍याली निकालिएको थियो।

    केही दिन अघि काठमाडाैंमा भरतपुर महानगर र धुर्मुस सुन्तली फाउण्डेसनबीच रंगशाला निर्माणका लागी सम्झौता भएको थियो। २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको निर्माण लागत ३ अर्ब लाग्ने बताइएको छ। नेपाली मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारको हुनेछ। क्रिकेट रंगशाला भनिए पनि अभ्यासका लागि दुईवटा छुट्टा-छुट्टै मैदान बन्ने छ। बहुआयमिक रंगशाला परिसरमा फुटबल, स्विमिङ, भालिबल, डण्डिवियो, बास्केटबल लगायतका खेल मैदान पनि बन्नेछ।

    रंगशाला निर्माणको घोषणा भएसँगै सवैमा खुसियाली छाएको छ। कतै दीप प्रज्ज्वलन गरिएको छ भने कतै र्‍याली, केक काट्ने लगायत खुसी साटासाट गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]