राजनीति

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

माघ २०, २०७५

    विराटनगर : प्रदेशसभाको तेस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ। प्रदेश प्रमुख गोविन्दबहादुुर तुम्बाहाङले प्रदेशसभाको बैठक आव्हान गरी पत्र वाचन गर्दै प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले बैठक आरम्भ भएको जानकारी दिए।

    प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले हिउँदे अधिवेशन सफलताको शुभकामना दिए। बैठकमा बोल्दै नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङले प्रदेशसभालाई सरकारपक्ष र प्रतिपक्षको आधारमा नभई सहमति र सहकार्यका आधारमा अघि बढाउनु पर्नेमा जोड दिए। उनले विगतमा जस्तै सहज र सकारात्मक दृष्टिकोणबाट प्रदेशसभा अघि बढ्ने भन्दै छलफल र सहमतिका आधारमा प्रदेशको नाम, राजधानी र कानुनहरूको विषय टुंगो लगाइने विश्वास दिलाए। 

    विगतका सरकारहरू तथा पुरानो व्यवस्थाअन्तर्गतका स्थानीय तह सञ्चालनको अनुभव परिवर्तित सन्दर्भमा खास उपयोगी बन्न नसक्दा सरकारको गति केही धिमा देखिए पनि अब सरकारको गति बढ्ने उनले बताए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सरकार एकपक्षीय बनेकोे अनुभूति हुन थालेको आरोप लगाए। उनले योजना आयोग गठन गर्दा छलफल नगरेको र सुख्खाग्रस्त क्षेत्रमा एकपक्षीय रुपमा राहात वितरण गरेको आरोप लगाए।

    ‘सरकारका सकारात्मक कामको समर्थन गर्दै अघि बढिरहेको सन्दर्भमा पछिल्ला दिनमा सरकार एक्लै हिड्न खोजेको अनुभूति भएको छ’ नेता कोइरालाले भने,‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। तर यो सरकारको पुच्छर बनेर चाहिँ हिड्दैनौं भन्ने हेक्का राख्न पनि अनुरोध गर्दछौं।’ यस्तै संघीय समाजवादी फोरम नेपालका नेता जयराम यादवले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पछिल्लो भूमिकाको आलोचना गरे। उनले विगतमा संसदमा प्रतिपक्षलाई पेलेर हिड्ने संस्कारको विकास गरेकै कारण यति बेला दुई तिहाइको सरकारलाई अधिनायकवादी भन्ने आरोप लगाउने अवस्था सिर्जना भएको टिप्पणी गरे। उनले सरकारले पछिल्लो समय विकासको कामलाई व्यस्थित बनाउँदै लगेको र बजेट कार्यान्वयनमा थप जोड दिनुपर्ने सुझाव दिए। 

    बैठकमा राप्रपा दलका नेता इन्दिरा राई, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता बिष्णु तुम्वाहाम्फेले बोलेका थिए। प्रदेशसभाको अर्को बैठक माघ २३ गते बस्ने छ। प्रदेशसभा बैठकपछि सभामुख भण्डारीले पत्रकारसँग अनौपचारिक छलफल गरे। त्यस क्रममा उनले प्रदेश राजधानी र नामांकनको विषय प्रदेशसभाको भए पनि राजनीतिक दलहरू र सरकारले त्यसलाई संसदमा प्रवेश गराउनु पर्ने बताए। सभामुख भण्डारीले यस अधिवेशनबाट भने राजधानी, नाम र समितिका सभापतिहरूको टुंगो हुने विश्वास व्यक्त गरे। त्यसकालागि संसद नियमावली संशोधन गर्नुपर्ने र नियमावली संशोधन गर्न समिति नै गठन गर्नुपर्ने भएकोले केही समय भने आवश्यक पर्ने जानकारी दिए। उनले प्रदेशसभाको गतिविधि सञ्चालनमा सञ्चारकर्मीले संयमतापूर्वक काम गरेर सहयोग गरेको भन्दै पत्रकारको प्रशंसा गरे।

    आगामी दिनमा पनि थप सहयोग गर्न र प्रदेशसभालाई समृद्ध तथा व्यस्थित बनाउन सुझावको अपेक्षासमेत गरेको उनले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]