पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
तनहुँ : पानी नपुगेर धारोमै ताल्चा लगाइएको भनेर सुन्दा पनि हामीलाई अचम्म लाग्न सक्छ। गाउँका स्थानीयलाई पर्याप्त पानी नपुगेपछि धारामा तालाचाबी लगाएर राखिएको छ। पानीको अभावले गर्दा पानी खेर जान नदिनका लागि तनहुँको भानु नगरपालिका १३ बासपानीका धारोमा ताल्चा लगाउने गरिएको छ।
ग्रामीण पर्यटकीय क्षेत्रमा खानेपानीको चरम अभाव छ। तल्लो बासपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले गाउँमा भएको खानेपानीको ट्याङ्कीमा पर्याप्त पानी नभएकाले धारामा ताल्चा लगाउने गरिएको बताए। ‘पानी अभावले धारामा ताल्चा लगाएर पानी सङ्कलन गर्ने गरेका छौँ, पानी जम्मा भएपछि समय मिलाएर एकतिर बिहान र अर्कोतिर बेलुका धारो खोल्ने गछौँ। गाउँमा जथाभाबी धारो खोलिने र सङ्कलित पानी पनि खेर जान थालेपछि ताल्चा लगाउने गरिएको हो,’ उनले भने।
खानेपानीको ट्याङ्की सानो हुँदा पानीको समस्याले स्थानीयले सास्ती भोग्नुपरेको छ। त्यहाँका गाउँवासीलाई उठ्ने बित्तिकै पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउने गर्दछ। खानेपानीको अभावले धाराको पानी पिउनको लागि मात्र प्रयोग गर्ने गरेको स्थानीय प्रेम गुरुङले बताए। ‘धाराको पानीले पिउन मात्र पुग्छ। त्यस कारण गाईबस्तु र कपडा धुनको लागि खोलाको पानी प्रयोग गर्छौँ। पानी अभावले गर्दा समितिले धारामा ताल्चा लगाउने निर्णय गरेको हो’ उनले भने।
२१ घरधुरी रहेको बासपानी गाउँले प्रशस्त पानी नहुँदा समस्या झेल्दै बाध्य भएका छन्। त्यस्तै गाईबस्तुलाई खुवाउन, खेतीपाती र कपडा धुन खोलाको पानी पुग्ने गरेका छन्।
दुई घण्टा खर्चेर उनीहरूले बेँसीको सवादी खोलाको पानी ल्याउन बाध्यता छन्। जङ्गल फँडानीले मूल सुक्दै गएको र त्यस क्षेत्रमा पानीको अभाव हुन पुगेको छ। खानेपानीको धारा ठडिएको छ तर पर्याप्त पानी नआउँदा त्यस क्षेत्रका समस्या समस्यामै सीमित छ। हिउँदको समयमा मात्रै होइन बाह्रैमास पानीको जोहो गर्ने ध्याउन्नमा त्यहाँका स्थानीयको समय फाल्नुपर्ने भएको छ। कम पानी आउने धारो बाहेक नजिक भएको एउटा खोला मात्र छ।
खोलासम्म पुगी पानी भरी आउँदा समय धेरै खर्च हुने गरेको उनीहरूको गुनासो छ। वर्षाको समयमा धाराको पानीले अलि सहज भए पनि हिउँदमा घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता कायमै छ। खानेपानीको समस्याले गर्दा घरको अन्य काम अलपत्र परेकोमा स्थानीयको दुखेसो छ। ग्रामीण पर्यटकीय क्षेत्र मानिएको गाउँमा पानीको अभावले पर्यटकीय व्यवसाय समेत फस्टाउन सकेको छैन।
उपभोक्ता समितिका अध्यक्ष अधिकारीले स्थानीयले गाउँको पर्यटन प्रवर्द्धन गर्नका लागि होम स्टे सञ्चालन गर्ने तयारी गरे पनि पानी अभावले रोकिनु परेको बताए । उनले भने, ‘होमस्टे चलाउन भनेर गाउँका स्थानीयले चासो देखाएपनि गाउँमा पर्याप्त पानी अभावले होमस्टे सञ्चालन गर्न सकेका छैन।’ उर्वर जमिन प्रशस्तै रहेको गाउँमा पानीको अभावले गर्दा तरकारीको लागि बजारको भर पर्नुपरेको उनीहरूको भनाई छ। पानीको अभावले यहाँको कृषि उत्पादनसमेत घटेको उनीहरूले बताउँछन्।
भानु १३ का वडा अध्यक्ष रामबहादुर बानियाले ट्याङ्की सानो भएकाले नै गाउँमा समस्या भएको बताए। ‘नगरपालिका र वडा कार्यालयको समन्वयमा यसै वर्षदेखि ८० हजार लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरिएको छ’ उनले भने, ‘ट्याङ्की बनेपछि स्थानीयवासीको समय बचाउने गरी समस्या समाधान हुन्छ।’
खानेपानी समस्याको समाधानका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढेको छ। भानु नगरपालिका प्रमुख उदयराज गौलीले खानेपानीको समस्या समाधानका लागि नगरपालिकाले बृहत् योजनासहित अगाडि बढेको बताए। उनले भने, ‘अबको एक वर्षमा खानेपानीको समस्या समाधान हुन्छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।