फिचर

तीन छोराले छुट्टाछुट्टै धर्ममा गरे आमाको किरिया

गरिबीकै कारण धर्म परिवर्तन हुँदै

माघ २१, २०७५

    उदयपुर : नेपालमा पछिल्लो समय धर्म परिवर्तन बढ्न थालेको छ। धर्म परिवर्तन गर्नेहरु धेरैजसो विभिन्न प्रलोभनमा फसेर धर्म परिवर्तन गरिरहेका छन्। धर्म परिवर्तनले नेपालको मौलिक कला संस्कृति, संस्कार र परम्परामा भोलिका दिनमा हराउँदै जानेमा कुनै दुई मत छैन। जसको प्रभाव पहाडी क्षेत्रका दुर्गम वस्तिहरुमा बढिरहेको छ। जन्मदेखि मृत्यु संस्कारसम्म परिवारका सदस्य एक ठाउँमा हुनुपर्ने हुन्छ। तर, धर्म परिवर्तनका कारण परिवारका सदस्य छिन्नभिन्न हुँदा समाज नै दुई भागमा विभाजन हुने संकेतसमेत देखा पर्न थालेका छ।

    तीन छोराद्वारा दुई धर्ममा काजकिरिया

    धर्म परिवर्तनको गतिलो उदाहरण खोटाङको खोटेहाङ ९ रसुवा माझिटारको माझी परिवारमा छ। केही दिनअघि मृत्यु भएकी ७६ वर्षीय पूर्णमाया माझीको तीन छोराले दुई धर्ममा अन्तिम संस्कार गरेका छन्। जेठा छोरा वीरबहादुरले हिन्दु धर्ममा माझी संस्कारअनुसार अन्तिम संस्कार गरे भने अर्का छोरा हरि र सूर्य माझीले क्रिस्चियन धर्मअनुसार अन्तिम संस्कार गरे। जहाँ एउटै परिवारलाई धर्म परिवर्तनले दुई भागमा चिरा पार्‍यो।

    हिन्‍दु र क्रिस्चियन विधिबाट छुट्टाछुट्टै किरिया

    जन्मदेखि मृत्युसम्म एकै ठाउँमा जम्मा हुँदै आएका एकै परिवार धर्मकै कारण दुई भागमा विभाजन भए पनि सुन्ने देख्नेलाई समेत खल्लो बनायो। छोरा बीरबहादुरले हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरेको बताए। ‘मैले हिन्दु धर्ममार आधारित भएर माझी सँस्कार अनुसारनै गरे,’ उनले भने, ‘भाइ सूर्य र हरिले क्रिश्चियन धर्मअनुसार गरे।’

    न्याउरो अनुहार लगाएर वीरबहादुरले एउटै आमाका छोराछोरी दुई धर्ममा विभाजित हुँदा खल्लो भएको गुनासोसमेत गरे। पूर्ण मायाले १२ भाई छोरा जन्माएकी थिइन्। त्यसमध्ये पाँच जना मात्र बाँचेका थिए। ‘बाँचेकामध्ये दुईजना भारतमा काम गर्न गएकाले आमाको अन्तिम काजकिरियामा सहभागी बन्न पाएनन्,’ हिन्दु संस्कारअनुसार काजकरिया गरेको बताउने वीरबहादुरले भने, ‘भएका हामी तीन भाइले पनि दुई समूहमा विभाजित भएर आमाको अन्तिम संस्कार गर्दा दुख लागेर आउँछ।’

    डेढ वर्षदखि क्रिस्चियन धर्मका लागेकाले आफ्नै धर्मअनुसार आमाको काजकिरिया गरिरहेका छौं,’ पूर्णमायाका दुई छोरा हरि र सूर्यले भने, ‘आमा एउटै भए पनि धर्म नै फरक भएपछि आफ्नै धर्मअनुसार काजकिरिया गरेका हौँ।’

    यसरी हजुर आमाको काजकिरया बुवाहरुले फरक फरक धर्ममा गरेको मृर्तकी नातिनी सुनीता माझीलाई पनि दुखी बनाएको छ। ‘मेरो बाबा र अंकलले क्रिस्चियन धर्मअनुसार पास्‍टरहरूबाट अन्तिम संस्कार गरे,’ उनले भनिन्, ‘बडाबाले हिन्दु धर्ममा रहेर माझी संस्कारबाट काजरिया गर्नुभयो, मर्दापर्दा एकैठाउँमा हुने दाजुभाइ दुईतिर हुँदा परिवारनै विभाजित भएको जस्तो भयो।’

    एउटी आमाका ३ छोराले फरकफरक संस्कार संस्कृतिमा काजकिरिया गरेकामा गाँउघर पनि असन्तुष्ट छन्। आफन्त, छिमेकी र बाटो हिँड्ने सर्वसाधारणले समेत पूर्णमायाको काजकिरियाप्रति कुरा काट्ने गरेको स्थानीय घरनारायण मगरले बताए। ‘छोराछोरी सवैले आमाको मृत्यु हुँदा सवै एकै ठाउँमा भेला भएर काजकिरीया गर्नुपर्ने हो,’ उनले भने, ‘छोरामध्ये अहिले ३ छोराले दुई धर्ममा गरे, जेठो छोराले आफ्नै धर्म संस्कार र संस्कृतिमा गरेको छ।’

    दुई छोराले धर्म संस्कार र संस्कृति नै छाडेर आमाको काजकिरिया पनि फरक किसिमले गर्दा दुख लागेको बुवा भरत माझी बताउँछन। ‘बाबु बाजेको चलननै मिचेकाले कसरी सम्झाउनु,’ उनले भने, ‘गाँउमा पनि क्रिश्चियन बनाउने गुरुहरु आएपछि छोराहरु पनि दुई धर्ममा लागे।’

    माझी परिवारको पीडा

    उदयपुर र खोटाङको सीमा नदी सुनकोसी नदीको रसुवाघाटमा डुंगा चलाएर गुजारा गर्ने माझी बस्ती छ। सुनकोसी नदीमा झोलुंगे पुल निर्माण भएपछि माझीको ढुंगा तार्ने पेशासमेत विस्थापित भएको छ। गरिबी र अशिक्षाका कारण भौतारिएका माझी परिवारको अहिले धर्म संस्कार र संस्कृतिमा समेत संकट परेको माझी समुदायका पुरोहित दुरुस्ते माझी बताउँछन्।

    ‘गरिबी र अशिक्षाका कारण धर्मसंस्कार र संस्कृति हराउँदो रहेछ,’ उनले भने, ‘गरिबकै धर्म सँस्कार संस्कृति हराउँदै छ, क्रिश्चियन भएर पैसा पाँउछन की कसो थाहा भएन,  एउटै आमाको लाम्टो चुसेका दाजुभाइले दुई धर्मअनुसार काजकरिया गरे।’

    दुई दर्जन बढी माझी परिवार माझीटारमा चरम गरिबीमा पिल्सिएका छन। परम्परागत पेसाबाट विस्थापित हुँदै जाँदा भरियाको पेसामा लागेको उनीहरुको भनाइ छ।गुजारका लागि गरिने जुनेलो, मास मस्याम र दलन खेती गर्छन। तर, खानसमेत नपुग्ने उनीहरु बताउँछन्। 

    गरिबीकै कारण धर्म परिवर्तन हुँदै

    नेपालको संविधान २०७२ ले धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ। तर, नेपालका दुर्गम र दुरदराज क्षेत्रमा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने क्रम बढिरहेको छ। जर्वजस्ती धर्म परिवर्तन गराउन नेपालको कानुनविपरीत हो। यसले नेपालको मौलिक परम्परा, संस्कृति र संस्कारलाई समेत असर पारेको छ। दुर्गम ग्रामीण क्षेत्रमा जातजातिको मौलिक परम्परा, संस्कार र संस्कृतिमा परितर्वन हुँदै गएको छ। धर्म परिवर्तनका कारण जन्मदेखि मृत्युसंस्कार गर्दासम्म एउटै परिवारका सदस्यसमेत एकै ठाउँमा बस्न छाडेका छन। त्यसले गर्दा सामाजिक सदभावसँगै जातजातिको आफ्नो मौलिक परम्परा, संस्कार र संस्कृति लोप हुने खतरा बढेको गाईघाटका शिक्षक राधारमण खतिवडा बताउँछन। ‘धर्म परिर्वतनले सामाजिक मूल्य मान्यतासँगै परम्परा, संस्कार र संस्कृति हराउँदै गएका छन,’ उनले भने, ‘ ‘सामाजिक मूल्य मान्यतासँगै संस्कार संस्कृति लोप हुँदै जाँदा परिचयनै हराउने भयो।’

    पुर्खौंदेखि मान्दै आएको धर्म परिवर्तन गराउने क्रमले भने नेपालका जातजातिहरूको मौलिक परम्परा, संस्कार र संस्कृति नै मासिने खतरा बढेको आदिवासी जनजाति अगुवा विमल राई बताउँछन। ‘आदिवासी जनजाति र दलितको लाखौँलाख संख्यामा धर्म परिर्वतन गरिरहेका छन,’ उनले भने, ‘धर्म परिवर्तन गर्न पाउने मौलिक अधिकार हो, तर, नेपाली परम्परा, सँस्कार संस्कृति लोप हुने खतरा बढ्दै गएको छ।’

    पहाडी क्षेत्रमा गरिवीकै कारण विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन हुने गरेको कटारी नगरपालिका ११ का स्थानीय राजन राउत बताउँछन्। ‘जो आर्थिक रुपमा अति गरिवको सुचीमा छ, त्यसैलाई धर्म परिवर्तनको सिकार बनाइएको छ,’ उनले भने, ‘देखेर, सुनेर, भेटेर सम्झाउने अवस्था समेत छैन।’ प्रदेश १ मा पर्ने उदयपुर, खोटाङ, सोलुखम्बु, भोजपुर लगायतका पहाडी वस्तिमा अहिले धर्म परिवर्तनको लहरनै चलेको छ। जसले गर्दा स्थानीय जातजातिको मौलिक परम्परा, धर्म, संस्कार, संस्कृति युवा पुस्ताले बिर्संदै गएका छन्।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]