समाज

दैलेखमा ब्लड बैंक नहुँदा समस्या

संकलन भएको रगत सुर्खेत पठाउनुपर्ने बाध्यता

फाइल फोटो
माघ २१, २०७५

    दैलेख : जिल्लाको नारायण नगरपालिका १ की २१ वर्षीया नवीना केसी जिल्ला अस्पताल दैलेखमा प्रसूति हुन गइन्। जिल्ला स्वास्थ्य कार्यालय दैलेखले दिएको मितिअनुसार प्रसूति गराउन गएकी उनलाई व्‍यथा लागे पनि बच्चा जन्मन सकेन। जिल्ला स्वास्थ्य कार्यालयले अप्रेसन गर्ने सबै तयारी गरेपछि उनलाई बी नेगेटिभ ब्लड चाहिने भयो। तर, जिल्लाभर खोजियो उनलाई मिल्ने ब्लड कतै पाइएन। पछि जिल्ला स्वास्थ्य कार्यालयले उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा रिफर गर्‍यो। सुर्खेतमा अप्रेसन भयो र उनलाई ब्लड नै चढाउनुपरेन। उनको स्वास्थ्य  अवस्था सामान्य रहेको उनको परिवारले जनाएको छ। उनी मात्र होइन नौमुले गाउँपालिका ४ की २५ वर्षीया मनकला राम्जाली प्रथामकि स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइन्। त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुले जिल्ला अस्पतालमा रिफर गर्‍यो। उनको सामान्य रूपमा बच्चा जन्मिन नसकेपछि जिल्ला अस्पताल दैलेखले अप्रेसनको तयारी गर्‍यो।

    रगतको आवश्यक भएपछि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले नेपाली सेनाको गुल्ममा जिल्ला प्रहरी कार्यालय दैलेखमा खवर गर्‍यो। त्यहाँ पनि नपाइएपछि जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डा अनील खरेलले आफैँ रगत दिएर उनको ज्यान बचाए। जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दैनिकजसो रगत अभावले बिमारीका आफन्त छटपटाइरहेका हुन्छन्। बिरामीका आफन्त र स्वास्थ्यकर्मी आफन्तलाई रगत खोज्दैमा घण्टौँ बित्छ आवश्यक रगत चाहिएमा नेपाली सेनाको सैनिक गुल्म र प्रहरीको रक्त समूह मिलेपछि आफ्नो ड्युटी छोडेर अस्पतालमा दोड्नुपर्ने बाध्यता छ।

    जिल्लामा ब्लड बैंक नहुँदा बिरामीका आफन्‍तले थप सास्ती खेप्नुपरेको छ। रक्तदाता खोजेर रक्त समूह पहिचान गर्नमै बढी समय लाग्ने र बिरामीलाई समयमै ब्लड दिन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा निरञ्जन पन्तले बताए। उनले जिल्लामा रहेको दैलेखी युथ जिल्ला स्वास्थ्य र रेडक्रसले २०७२ सालमा गएको भूकम्पको बेला सयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरे पनि आवश्यक पर्ने भण्डारका लागि संकलित सबै रगत सुर्खेतमा पठाउनुपर्‍यो जिल्लामा ब्लड बैंक स्थापना हुन नसक्दा भएको रगत सुर्खेत पठाएपछि  जिल्लामाा आवश्यक पर्दा रगत पाउन नसकिने अवस्थामा रहेको डा पन्तले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षत्रीले जिल्ला अस्पतालको मागअनुसार आफूले रक्तदान गर्ने गरिरहेको बताए। उनले भने, 'यहाँ ब्लड बैंक  छैन ब्लड बैंक भनेको हामी प्रहरी र सेना हौँ। मृत्युको मुखमा पुगेकालाई समेत बचाएका छौँ।'

    ठूलो समूह एकै स्थानमा भए पनि रक्तदानका लागि बेग्लै कन्भिन्स गर्नु नपर्ने भएपछि जिल्ला स्वास्थ्य कार्यालयले पनि सिधै सेना र प्रहरी अधिकृतसँग सोझै सम्पर्क गर्छन्। स्थानीयले रक्तदान गर्नुपर्छ भन्ने भावनासमेत नभएको अधिकारकर्मी राधा मल्लले बताइन्। उनले ब्लड दिनसमेत हिच्किच्याउने प्रवृत्तिका कारण समस्या हुने गरेको बताइन्। जिल्ला अस्पतालका डा निरञ्जन पन्तका अनुसार धेरैजसो गर्भवती सुत्केरी र चोटपटक लागेकालाई रगत चढाउनुपर्ने अवस्था हुन्छ जिल्लामा रगतको खाँचो धेरै परे पनि जिल्लामा ब्लड बैंक नहुँदा समस्या भएको उनले बताए।

    उनले आवश्यक पर्ने जनशक्ति जिल्ला अस्पतालमा भए पनि आपश्यक पर्ने सामग्री उपलब्ध गराउन नसकेर संकलित रगतसमेत प्रयोग नभएर खेर जाने बताए। नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले रगत अभाव हुने समस्याका लागि नारायण नगरपालिकाबाट जिल्ला अस्पताल दैलेखलाई ५० शय्याको अस्पतालका रूपमा विकास गर्नका लागि नगरसभाले समेत पारित गरेर प्रदेश सरकारमा पठाएको र चाँडै ५० शय्याको अस्पताल निर्माण गरेपछि ब्लड बैंकको स्थापना हुने बताए। जिल्ला अस्पताल व्‍यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले आफू नियुक्त भएपछि अस्पतालको सेवा सुविधाको प्रभावकारिताका विषयमा आफूले अनुगमन गरेको र थप सेवा दिनका लागि नारायण नगरपालिका दैलेख र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आवश्यकका लागि पहल थाल्ने बताए। ५० शय्‍याको अस्पताल प्रमुख प्रथामिकतामा रहेको र त्यो भएमा ब्लड बैंकको समस्या नहुने शर्माले बताए।

उदयराज अधिकारी

अधिकारी थाहा खबरका दैलेख समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]