अर्थ

नगर प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न

सांकेतिक
माघ २१, २०७५

    काठमाडौं : रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेका पाइएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले  प्रमुख श्यामप्रसाद यादव (ग्राहक नं. ००८.१३.०१) र वडा नम्बर- ६का वडाध्यक्ष रामसिंहासन यादव (ग्राहक नं. ०७.२०.०३ ए) र गरुडा नगरपालिका- १ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं. १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेलापारेको हो।  

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्यधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाएका थिए। जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए।

    टोलीले गत १४-२० माघमा रौतहटमा गरेको छड्के जाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेका दुईवटा घरमा प्रमुख श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेलापारेको हो। टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण प्रमुखको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए।

    ‘घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ। त्योभन्दा अलिक पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर बत्ती बालिएको घरमा लाइन ल्याइएको छ’, उनले भने, ‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ। हुकिङ काट्यौँ तर चोरीको बत्ती प्रयोग गरिरहेको फेलापरेपछि मान्छेको भीड जम्मा भयो। उनीहरूले मिटर खोल्न दिएनन्।’ तर प्रमुखले विद्युत चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा प्रमुखका भाइ संजीवकुमार यादवले सही गरेको शर्माले जानकारी दिए। उनले मुचुल्लाको फाइल गौर शाखालाई दिएर विगो तथा त्यसमा लाग्ने जरिवानालगायतका कानुनी कारवाही गर्न निर्देशन दिइएको पनि बताए। 

    टोलीले गढीमाई नगरपालिका- ६ का वडाध्यक्ष रामसिंहासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्युत प्रयोग भइरहेको फेलापारेको छ। ‘वडाध्यक्षको घरमा धेरै विद्युत खपत गर्ने सामग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केवल खोली राखेको तर हुकिङमार्फत् घरमा बत्ती प्रयोग गरिएको रहेछ’, शर्माले भने, ‘त्यस क्षेत्रमा चोरी अध्यधिक रहेकाले विद्युत आपूर्ति गर्ने टान्सफर्मरबाट लाइन काटेर आएका छौँ।’

    गरुडा नगरपालिका- १ का वडा अध्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए। टोलीकाअनुसार, वडा अध्यक्षले आफ्नो घरमा मात्रै होइन, दाजुभाइको घरमा समेत चोरीको विद्युत दिएका थिए। वडा अध्यक्षहरूले चोरी गरेको विद्युतको विगो र त्यसमा लाग्ने जरिवानालगायतका कानुनी कारवाही गौर वितरण केन्द्रले गर्नेछ।  

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक वितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने टार्गेट दिएका छन्। यसका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरणलगायतका काम अभियानकै रूपमा चलाइएको छ। प्राधिकरणले बढी विद्युत चोरी हुने क्षेत्रमा लोडसेडिङ गर्ने, विद्युतको नियमित आपूर्तिका लागि टान्सफर्मर नथप्ने तथा मर्मतसमेत नगर्ने नीति लिएको बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]