काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदल बैठक बिहीबार बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ।
सचिवालयमा रहेका कार्यदल संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेलले ल्याउने प्रस्ताव अनुसार नै बैठकमा छलफल हुने कार्यदल सदस्य लेखराज भट्टले जानकारी दिए। पुस मसान्तभित्र काम सक्नेगरी जिम्मेवारी पाएको कार्यदलले माघ महिना सकिन लाग्दासमेत जिम्मेवारी पूरा नगरेपछि सचिवालयले दुई दिनभित्र अपूरै प्रतिवेदन माग गरेपछि कार्यदल छलफलमा जुट्न लागेको हो।
कार्यदलका सदस्यहरू केही समय मागेर जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाउने र अहिले नै सबै जिम्मा सचिवालयलाई दिने भन्नेमा विभाजित छन्। गठन भएयता ६ पटक बैठक बसेको कार्यदलले अहिलेम्म विधानमा भएका त्रुटी सच्याउनेबाहेक अरु काम गरेको छैन। प्रदेश कमिटी हेरफेरको सवालमा कार्यदलका सदस्यभित्रै मतभेद भएपछि कार्यदलको बैठकसमेत बस्न सकेको थिएन।
बुधबार कार्यदल सदस्यहरु योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टले संयोजक थापालाई भेटी बैठक बोलाउन माग गरेका छन्। लगातार बैठक बसेमा दुई तीन दिन भित्रै सबै विषय टुंगो लगाउन सकिने कार्यदल सदस्य भट्टको भनाइ छ। पुस १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।