समाज

उपचार गर्दागर्दै घर–सम्पत्ति सकियो, बुढेसकालमा मन्दिरको बास

माघ २६, २०७५

    पर्वत : पर्वतको फलेवास नगरपालिका ११ पाङराङका पदमबहादुर कँडेलले जीवनको उत्तरार्धमा मन्दिरको बास होला भन्ने कहिल्यै सोचेका थिएन्। उनले जुन कुराको कल्पनासम्म पनि गरेका थिएनन्, उनी त्यही कुरा भोग्न बाध्य भोग्दै छन्।

    क्यान्सर रोग लागेपछि उपचार गर्दागर्दै भएको जग्गासहित सबै सम्पत्ति भएपछि उनको जोडी अहिले मन्दिरमा बासेर दिन र रात कटाइरहेको छ। लामो समयदेखि उपचार गर्न सम्पत्ति बेच्दै लगानी गरेपछि उनी अहिले  श्रीमती भीमाकुमारी सहित फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको कालिका मन्दिरमा बस्दै आएका छन्। 

    उमेरले ६७ वर्षीय पुगेका कँडेलले क्यान्सर र पिसाबनलीको उपचारका लागि आफ्नो सानो घर र चार हलको खेत बेचेर १२ लाख रुपैयाँ खर्च गरेका छन्। २०७१ सालदेखि बिरामी परेका उनले रोग निको आसामा भएको सम्पत्ति सबै बिक्री गर्दा पनि न त रोग निको भयो, न त सम्पत्ति नै रह्यो। बस्नको लागि घर सम्पत्ति केही पनि नभएपछि उनी मन्दिरमा आएर भगवानको नाममा बसेका छन्। ‘भगवानले पनि यहाँ भन्दा दुःख त के दिन पर्‍यो र?

    सबै सम्पत्ति बेच्दा पनि रोग निको भएन’ कंडेलले भने, ‘मर्न पनि सकिएन, बाँचौँ कहाँ गएर बाँचौँ? त्यही भएर अब जे होला भगवानकै नाममा होला भनेर बूढाबुढी नै मन्दिरमा बस्न थालेका छौँ।’

    चार वर्ष अगाडिदेखि नै उपचार शुरु गरेको भए पनि उनको समस्या भने झन्झन् बल्झिँदै गयो। पिसावमा रगत देखिन थालेपछि उनी २०७१ पुसमा पोखराको मणिपाल शिक्षण अस्पतालमा पुगे। त्यहाँ चार महिना उपचार गरेपछि रगत बग्ने समस्या कम भयो र उनी घर फर्किए। पोखरामा उपचार गराउँदैमा उनको १० लाख रुपैयाँ सकियो। तर एक महिनापछि पिसाबमा रगत बग्ने समस्या फेरि पनि दोहोरियो।

    पुन: उपचारको लागि उनले गाउँलेहरुको सल्लाह अनुसार भएको घर, गोठ र खेत बेच २०७५ जेठमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा पुगे। भरतुपरमा एक महिना उपचार गराउँदा सम्पत्ति बेचेर लगेको सबै पैसा सकियो।  अस्पतालले थप उपचारका लागि थप रकम ल्याउन सल्लाह दिएर अस्पतालबाट डिस्चार्ज गर्‍यो। घर फर्किएर जसोतसो पैसोको जोहो गरेर भरतपुर नै फर्किने सोचमा घर फर्किएका उनले कहीँकतैबाट पनि पैसा जुटाउन नसकेपछि अन्ततः मन्दिरको आश्रयमा पुगेका छन्। 

    उनलाई अब २२ लाख रुपैयाँ आवश्यक छ, तर उनको खल्तीमा भने २२ रुपैयाँ पनि छैन्। ‘डाक्टरले २२ लाख रुपैयाँ भए उपचार हुन्छ भनेका छन् मसंग खल्तीमा रुपैयाँ पनि छैन्।’ कंडेलले भने, ‘२२ लाख रुपैयाँ मैले कहाँबाट ल्याएर यो संसार हेरुँ? 

    कँडेलका चार छोरा छन्। छोराहरूको पनि आर्थिक हैषियत उस्तै कमजोर छ। कान्छा छोरा मोहनबहादुर कँडेल दुबईमा रोजगारी गर्छन्। मोहनबहादुरले पठाएको रकम औषधी किन्दैमा सकिएको छ। जेठा छोरा सोमबहादुर घरमै कृषि पेशा गरेर परिवार पाल्दै आएका छन्, उनले जसोतसो आफ्नो परिवार मात्र पाल्न सकेका छन्। माइला छोरा भारतमा रोजगारीमा छन्। साइँलो छोरा पोहोर साल घरमै भएको आगलागीमा परेका थिए। उनले पनि जसोतसो आफ्नै उपचार मात्रै गराउँदै आइरहेका छन्।

    पदमबहादुरलाई औषधी किनेर खान मासिक १० हजार रुपैयाँ जति आवश्यक पर्ने उनकी श्रमती भीमकुमारीले बताइन्। यो जोडीले उपचारमा समस्या भएपछि देश विदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ। ‘’मलाई नी अझै बाँच्न मन त छ नि, तर मन मात्रै भएर नहुने रहेछ, निरोगी हुनुपर्ने रहेछ, निरोगी हुन पैसा चाहियो, पैसा मसँग छैन’, उनले भने, ‘सक्ने कसैले अलि अलि खर्च सहयोग गरिदिए पनि त अझै २\४ वर्ष बाँच्न सक्ने थिएँ, यो संसार देख्न पाउने थिएँ।’
     

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]