समाज

रोग पालेर बस्छन् ग्रामीण क्षेत्रका महिला

माघ २७, २०७५

    डोटी : पूर्वीचौकी गाउँपालिका–४ सानागाउँकी लक्ष्मी नाथलाई हातखुट्टा दुख्ने समस्या भएको चार वर्ष भयो। तर, यतिका वर्षसम्म उनले उपचार गराइनन्। सोही वडाको काडामाण्डौकी नरमादेवी बटलाको पनि व्यथा उस्तै छ। तीन वर्षदेखि कानको समस्याबाट ग्रसित उनले पनि उपचार गराइनन्।

    नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ शिविरमा पुगेका उनीहरुले आफ्नो समस्याबारे चिकित्सकसँग बताए। डा. जोती खड्कासँग ४८ वर्षिया लक्ष्मीले भनिन्, ‘मेरो हातखुट्टा दुख्न थालेको चार वर्ष भयो। घरमा खिरो (घरेलुु औषधी) हालेँ तर ठिक भएन। उकालो ओरालो गर्दा पनि दुख्छ। दुखाइ बढ्दै गएको छ।’ डाक्टर खड्काले उपचार गर्न जानु भएन भनेर सोध्दा उनले भनिन्, ‘हामी गाउँतिर बस्ने मान्छे यत्तिको बिरामी भैराख्छौँ। कहाँ उपचार गर्न जानु।’

    शिविरमा आएका अधिकांश महिलाले सामान्य रोग भन्दै उपचारमा ध्यान नदिने गरेको बताएको चिकित्सकहरुले बताए। स्वास्थ्य सेवामा पहुँच नहुनु र आर्थिक स्थितिसमेत कमजोर भएकाले यस क्षेत्रका महिलाले स्वास्थ्य सेवा पाउन सकेका छैनन्। उपचारमा संलग्न चिकित्सक सुमन थापाले भने, ‘यहाँका महिलाहरु रोग च्यापेर बसेको देखियो, रोग च्याप्दै गर्दा त्यही रोगले फेरि मान्छेलाई च्याप्छ।’ 

    डा. गीता खड्काका अनुसार शिविरमा पाठेघर खस्ने समस्या भएका महिलाहरु धेरै आएका थिए। ‘शिबिरमा धेरै थरीका महिला बिरामी आएका थिए,’ उनले भनिन् ‘त्यसमध्ये पाठेघरको समस्या, आँखा, हाडजोर्नी र छालाका बिरामी बढी देखियो।’ 

    महिलाहरुण् पनि आफ्नो स्वास्थ्यप्रति संवेदनशील नहुने गरेको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले बताइन्। ‘हामी महिला जहिले पनि घरको कामलाई प्राथमिकता राख्छौँ,’ उनले भनिन्, ‘रोगले धेरै च्यापेपछि मात्र घर परिवारलाई भन्ने गर्छन्, त्यही भएर पनि महिला धेरै समस्यामा छन्।’

    ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा कम पहुँच भएका कारण नेपाली सेनाले सद्भाव कार्यक्रमअन्तर्गत स्वास्थ्य शिबिर सञ्चालन गरेको रुद्रध्वज गण सिलगढीका प्रमुख कर्णेल रत्नकेशर खड्काले बताए। 

    साढे चार सयको परीक्षण 

    शिबिरमा ४५९ जनाले स्वास्थ्य परीक्षण गरेका छन्। तीमध्ये ३३७ महिला र १२२ पुरुष रहेका छन्। 

    वडा नम्बर ४ सानागाउँकी सुन्तली खड्काले घर नजिकै डाक्टरहरु आएको बेला स्वास्थ्य जाँच गरेको बताइन्। उनले भनिन्, ‘उहाँहरुजस्तो डाक्टर पाउन हामीले कहाँ–कहाँ धाउनु पर्छ, घर नजिकै आएको बेला चेकजाँच गरियो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]