राजनीति

प्रहरी बढुवाका लागि रिझाउने र चाकडी गर्ने कामको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

'तालिम केन्द्र सार्नेबारे राष्ट्रपतिलाई लिएर सेलिब्रेटी हुन खोज्नेले हल्ला मच्चाए'

फाइल फोटो
माघ २९, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।

    नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गरेका छन्। विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै ओलीले अब त्यस्तो नहुने बताएका हुन्। १९ महिना तालिम गरेर पास आउट हुन लागेका प्रहरी निरीक्षक र उच्च प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'प्रमोसन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन। यसअवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु।' उनले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि आग्रह  गरेका थिए।

    केही दिन पहिले मात्रै नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवाका क्रममा निष्पक्षता नभएको तथा कार्यसम्पादन र दक्षता एवं वरिष्ठता मिचेर बढुवा भएको भन्दै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए। त्यस्तै, डिएसपीबाट एसपीमा र एसपीबाट एसएसपीमा बढुवाका क्रममा सही निर्णय नभएको भन्दै प्रहरी संगठनभित्रको असन्तुष्टि सार्वजनिक भएको थियो।

    प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न निर्देशन दिएका छन्। मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न पनि ओलीको निर्देशन थियो। उनले प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताए।

    राष्ट्रपतिले लखेटेको जस्तो चर्चा भयो

    नेपाल प्रहरीको तालिम केन्द्र काभ्रेको पनौती सार्नका लागि सरकारले तयारी गरिरहेको प्रधानन्त्रीले जानकारी दिए। उनले दशौँ वर्ष पहिले नै निर्णय भएको यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको अनावश्यक आलोचना भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

    आफूलाई चर्चित बनाउन चाहनेहरूले प्रहरी एकेडेमी सार्ने विषयमा अनावश्यक हल्ला गरेको प्रधानमन्त्रीको भनाइ थियो। 'हल्ला गर्न रुचाउनेहरूले र आफूलाई खुब सेलिब्रेटी देखाउनका लागि एकेडेमी सार्ने विषयमा अनुचित हल्ला गरे। राष्ट्रपतिले लखेट्न खोजेजस्तो देखाए', प्रधानमन्त्रीको भनाइ थियो, 'पूर्वप्रहरी अधिकृतहरूले आफू पदमा भएको बेला त्यै कुरा गर्ने र अहिले यो ठिक भएन भनेर हल्ला गर्ने? सरकार त्यस्ता कुराहरूसँग सहमत छैन। देश र जनताका लागि जे गर्नुपर्छ त्यसमा दृढ छ।' प्रहरीलाई तालिम गर्ने सानो भएको र त्यसलाई काभ्रेको पनौतिमा फराकिलो ठाउँमा सार्न खोजेको उनको भनाइ थियो। उनले त्यहाँ प्रहरीलाई तालिमका लागि आवश्यक पर्ने फराकिलो ठाउँ भएको जहाँ दौड, पिटी-परेड र चाँद मार्नेसम्मका काम सजिलोसँग हुने भएकाले सार्न खोजिएको बताए। उनले त्यहाँ भारतले प्रहरि एकेडेमी निर्माण गर्ने सहमति पनि भएको बताए।

    नेपाल प्रहरीलाई सुविधासम्पन्न, प्रविधियुक्त, दक्ष र वैज्ञानिक सुविधा तथा तालिमको व्यवस्था गर्नका लागि एकेडेमी सार्न लागिएको प्रधानमन्त्रीको दाबी थियो। उनले भने, 'हामी पुराना कुराहरूमा र पुराना स्थितिमा टाँसिइरहन सक्दैनौँ।'

    सरकार ढल्नेवाला छैन

    प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई तिहाई बहुमतको भएकाले यो ढल्ला भनेर आश नगर्न आग्रह गरे। उनले विगतमा नौं-नौं महिनामा सरकार ढाल्ने बानी परेकाहरूलाई प्रधानमन्त्री ढलिहाल्छ भन्ने नसोच्न चेतावनी दिए।

    उनले अब राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्न नहुने बताए। उनले अब यस्तो अवस्था मान्य नहुने बताए। उनले भने, 'बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने, चन्दाका नाममा लुटपाट गर्ने, त्रासको वतावरण सिर्जना गर्ने कामलाई राजनीतिको खोल ‌ओढाएर उम्कन दिँइदैन। राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण मान्य हुने छैन।'

    प्रधानमन्त्रीले थपे, 'सुशासन र विकासलाई केन्द्रित गरेर सरकारले काम अगाडि बढाएको छ। हामीले राजनीतक अधिकारको लाडाइ सिध्याएका छौँ। संविधान निर्माणका काम र आधार निर्माण गरिसकेका छौँ। सुशासन र विकासको बाटोबाट हामी साझा उद्येश्यका साथ अगाडि बढ्न लागेका छौँ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]