समाज

प्रचण्ड र प्रकाशमान पनि हनुमन्ते सफाइ अभियानमा सहभागि हुने

‘विनासको अन्त्य र विकासको सुरुवात गर्छौं’ : महेश बस्नेत

फागुन १, २०७५

    काठमाडौं : ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न लागौँ’ भन्ने मूल नारासहित सुरु भएको हनुमन्ते नदी सफाई अभियान यही फागुन ४ गते ५१ औँ हप्तामा प्रवेश गर्दैछ ।

    बुधबार हनुमन्ते नदी सफाई ५१ औँ हप्ता मूल समारोह समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका नेता एवं  पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशिष्ट आतिथ्यतामा यही फागुन ४ गते भव्यरूपमा मनाइने जानकारी गराएको हो।

    भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ उनकै पहलमा सूर्यविनायक नगरपालिकाको संयोजकत्वमा शुरु भएको उक्त सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा राज्यको विनालगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको छ।

    कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले सफाई अभियान झण्डै एक वर्षको यो अवधिमा आफूहरुले हनुमन्ते नदी सफाईको धेरै काम गरेको जनाए । उनले भने, ‘हामीले अहिलेसम्म ७२ टन फोहोर उठायौँ।’ बस्नेतले विकासप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको सुझाउँदै अब सरसफाई, सभ्यता, शिक्षाजस्ता विषयमा देशभरि अभियान नै चलाउनु पर्ने बताए।

    उनले राज्यको बिनालगानी यो अभियानलाई आज ५१ औं हप्तासम्म पुर्‍याउन सफल भएको पनि दाबी गरे। उनले भने, ‘हामी डिजास्टरको अन्त्य र डेभलपमेन्टको सुरुवात गर्छौं।’ त्यस्तै उनले आफूहरूले यो ५१ औं हप्ता भव्य रूपमा मनाउनुको अर्को कारण अहिले धमाधम निर्माण भएको हनुमन्ते कोरिडोरको कार्यप्रगति देखाउनुपनि रहेको सुनाए।

    बस्नेतले कोरिडोरको शिल्यान्यास गरेको दुई महिनाभित्रै बिनाविवाद काम द्रुत गतिमा भइरहेको बताए। उनले विकास निर्माणमा सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘त्यही भएर हामीले पर्सीको ५१ औँ हप्ताको कार्यक्रममा प्रचण्ड र प्रकाशमानज्यूलाई बोलाएका हौं।’

    बस्नेतले आफुहरुले सुरु गरेको अरनीको राजमार्ग सफाई अभियान पनि अहिले छोटो समयमै फलदायी भएको पनि विश्वास दिलाए । उनले भने,‘पछिल्लो यो दुई महिनाको अवधिलाई हेर्ने हो भने पनि दुर्घट्ना कम भएको छ। कोटेश्वरको जाम पनि कम भएको छ ।’

    उनले आफूहरुले यो अभियानलाई देशकै अनुकरणीय अभियान बनाउन खोजेको स्पष्ट पारे । ५१ औं हप्ते कार्यक्रमको पूर्व सन्ध्यामा पर्सी शुक्रबार भक्तपुरमा घुम्ती शिविरको आयोजना गरिएको पनि उनले जानकारी दिए।

    यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने आयोजक मूल समितिले जनाएको छ। वाकाथोनसँगै भक्तपुरको सल्लाघारीको आइल्याण्ड पिकमा नेपालको ठूलो झण्डा गाडेर झण्डोत्तोलनसमेत गरिने भएको छ।

    कार्यक्रममा सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताए। कार्यक्रममा हुनमन्ते नदी सफाई ५१ औं हप्ता तयारी मूल समारोह समितिका संयोजक मधु ढुंगेल, नवराज काफ्ले उक्त कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]