फिचर

... अनि सरितालाई लाग्यो- जीवन रङहरूको समूह रहेछ

फागुन ३, २०७५

    काठमाडौं : घडीले मध्यान्हको १२ बजेर १५ मिनेट गएको जनाउ दियो। भृकुटीमण्डपको एउटा पसलमा छिन् सरिता थुलुङ। उनी आउने जानेलाई ह्वील  चियरमै बसेर नाच देखाइरहेकी छन्। यी तिनै सरिता हुन् जो ह्वील चियरमा बसेर नाच्छिन्। एउटा सानो पसल चलाउँछिन्। उनको प्रतिभालाई लिएर सामाजिक संजालमा खुबै चर्चा भइरहन्छ। खुल्ला बजारको पसलमा एउटी अपांगता भएकी महिला छन्। तर, उनी बहुमुखी प्रतिभाले भरिएकी छन्।

    अहिले फलामे खुट्टा जाेडेर केही हदसम्म हिँड्छिन्। तर, सजिलो गरी हिँड्न सक्दिनन्। त्यसलै उनी सजलोका लागि ह्वील चियर प्रयोग गर्छिन्। सुनसरी बराह नगरपालिका स्थायी घर भएकी थुलुङ ३ वर्षकी छँदा उनलाई ज्वरोले समायो। बाबा-आमाले धामी, झाँक्रीलाई देखाए। सञ्चो भएन। तर, भित्रभित्रै पोलियाेले गालेछ।

    'केही गर्दा निको नभएपछि मलाई पोलियो लागेको थाहा भयो। खुट्टा गुमाएँ' थुलुङ भन्छिन् 'त्यो बेलाको समय भनेको मानिसको कुरालाई विश्वास गर्ने थियो। त्यो दिन आजको जस्तो प्रविधिलाई हेरेर विश्वास गर्ने समय थिएन।'

    समय बित्दै गयो मनमा चाहना पनि बढ्दै गयो। थुलुङ भन्छिन्, 'सबै हिडेको देख्दा र मेरो अगाडि उभिएको देख्दा मलाई भक्कानिएर आउँथ्यो।' १५ वर्षको उमेरमा खुट्टाको अप्रेसन गरेर क्यालिफर लगाएर थुलुङको नयाँ जीवन सुरुवात भएको हो। पिडालाई लुकाएर थुलुङ ओठमा मुस्कान ल्याउने कोसिस गर्दै भन्छिन्, 'खुट्टाले सहारा पाउनु भनेको मेरो जीवनले सहारा पाएको जस्तो भएको छ।' आमाको चाहना र मायाको कारणले नै उनले सफलताको उचाइममा आएको बताउँछिन्।

    हतार-हतार गरेर थुलुङ भृकुटीमण्डपको खुला बजारको क्षेत्र नम्बर ४ को पसल नम्बर १२७ मा बसिन। ग्राहकहरु आइरहन्छन उनको पसलमा। सधैंजस्तो पसलमा हिजोआज ग्राहकहरु आउन छोडेको बताउँछिन् उनी। 'मानिसहरु यहाँ आउने भनेको किन्नको लागि भनेर आउदैनन् घुम्न आको बेला यहाँ मानिसहरु छिर्ने गर्छन्' उनी भन्छिन्,'महिनामा ३० हजार आम्दानी गर्छु यही पसलबाट।'

    बाल्यवस्थाको शिक्षा गाउँको विद्यालयमा बितेको हो। 'मलाई पढ्न इच्छा लागेकोले म आफै घिस्रेर स्कुल सम्म पुगेको हो,आफै गएर स्कुलमा नाम लेखाएकि हुँ,' उनी भन्छिन्, 'मानिसको इच्छाशक्तिलाई कहिले मर्न दिनुहुँदैन। मानिसको धन भनेको इच्छाशक्ति रहेछ।'

    बैङ्गोलरको रिह्याब सेन्टरबाट अनौपचारिक शिक्षा समेत लिएकी थिइन् उनले। धरानको सुनसरी टेक्निकल स्कुलबाट ल्याब पढाइ सुरु गरेर सर्लाहीबाट प्लस टू सकेर काठमाडौंमा आएर उनले स्नातक पनि पूरा गरिन्।  काठमाडौं बसेर उनी शिक्षाको यात्रामा छिन्।

    समयमा गरेको आँटले कोही बेला सगरमाथाको उचाइमा पुर्‍याउँदो रहेछ। 'लठ्ठीको सहारा मेरो जीवनको लागि पहिलो अभिभावक बनेको थियो,' उनी भन्छिन्, 'भयानक दिन आज सुनौलो भएको छ।' जीवनमा अगाडि बढ्नका लागि कोही बेला ठूलो कुराले भन्दा सानो कुराले पनि सहयोग गर्दोरहेछ भन्ने अनुभव पनि आफूलाई भएको उनले बताइन्।

    जागिरे जीवन पनि उनले भोगिन्। पहिलोपटक सर्लाहीमा प्रेरणा भन्ने संस्थामा काम गरेको,काठमाडौंमा ७ वर्षसम्म जागिर खाएको र महिनाको १०-१२ हजार तलब बुझेका स्मरण ताजै छन्। थुलुङ भन्छिन्, 'तलबमा काम गरेको भन्दा आफ्नो व्यापारबाट आएको आम्दानीबाट खुसी र सन्तुष्ट छु।'

    थुलुङ कोटेश्वरमा १० वर्षदेखि परिवार सहित बसिरहेकी छिन्। प्रेम विवाह गरेकी उनी श्रीमान, छोरी र सासुससुरासहित बस्छिन्। बिहान ६ बजे उठेर रत्नराज्यलक्ष्मी कलेजमा साढे ६ नबजी पुगिसक्छिन्। स्नातक तह सकेर एल.एल.बी पनि भर्ना भएकी छिन्। उता राजनीतिक शास्त्रमा स्नातकोत्तर पनि गर्दैछिन्। 'मानिसलाई शिक्षाको भोक लाग्यो भने खानाको भोकले छेक्दैन,' थुलुङले भनिन्।

    फुर्सदको समयमा काठमाडौंका विभिन्न विद्यालयमा गएर नृत्य सिकाउँछिन् उनी। उनी कलालाई सदा सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छिन्। उनले भने नृत्य आफैँ सिकेकी हुन्, युट्युब र टी.भीबाट। अहिले पनि उनले सिकिरहेको छिन्। सिक्न आउनेलाई अहिले पनि उनले नृत्य सिकाउने गरेको सुनाउँछिन्। 'अपाङ्ग साथीहरुलाई अहिले पनि नृत्य सिकाउने गरेकी छु,' थुलुङ्ले भनिन् 'म ह्वील चियरमा बसेर नृत्य गर्छु।'

    भारतको बैङ्गोलरमा नेपालको लागि ह्वील चेयर नृत्यमा प्रथम पुरस्कार हाँसिल गरेकी उनले आफ्नो र नेपालको नाम राखेको थिइन्। उनलाई घरिघरि आफ्नो जीवनको लक्ष्य प्राप्त गर्दिन कि भन्ने कुराले पिरोल्छ।  'लक्ष्य गाउँमा गएर स्कुल पढाउने, देश र जनताको सेवा गर्नु हो,' उनले पहिलोपल्ट पुरस्कार पाउँदाको क्षण सुनाउँदै भन्छिन्  'म पनि केही गर्ने सक्ने रहेछु।'

    परिचय ठाउँ अनुसार परिवर्तन हुँदै गएको छ। उनी भारत गएर ह्वील चियर नृत्यबाट पुरस्कार जितेर ल्याइन्। आफ्ना यी सबै दु:ख सुखमा श्रीमानले सहयोग गरिरहेको उनले बताइन्।

     ह्वील चियरबाट बास्केटबल खेलेको र त्यस गेममा बंगलादेशलाई पराजित गरेर आफूहरू विजयी भएको पनि उनले सुनाइन्। अहिले १ नम्बर प्रदेशको लागि खेल्नाका लागि उनले ट्रेनिङ गरिरहेको छिन्। उनले खेलबाट पनि देशको सेवा गर्ने साेचेकी छिन्।

    खेलकै लागि थुलुङ थाइल्यान्ड, जापान र स्वीजरल्यान्ड गइसकेकी छिन्। थाइल्यान्डमा ह्वील चियर बास्केटबल तालिम लिन गएको र जापानमा भने स्वीमिङ तालिम लिन गएको उनले बताइन्। स्वीजरल्यान्ड भने आदिवासी जनजाती महिलाको हकहीतको लागि ज्ञापन पत्र बुझाउन गएको उनले बताइन्।

    श्रीमान निजी स्कुलका ड्राइभर छन्। उनको सहयोग र माया धेरै छ। मन मिलेपछि उनीहरूले विवाह गरेका हुन्। पत्नीको शारीरिक अवस्था प्रति श्रीमानलाई गुनासो छैन। उनैको साथ र सहयोगले आफूलाई यहाँसम्म ल्याएको उनले बताइन्।

    जीवन भनेकै रङहरूको समूह हो जस्तो लाग्छ उनलाई। मानिस जति छन् जीवनका रङहरू पनि त्यति नै छन् भन्ने उनलाई लाग्छ। 'जुन दिनदेखि ह्वील चियरमा नाच्न थालेँ जीवनका जीवनका रङहरू धेरै रहेछन् भनेर थाहा पाएँ जस्तो लाग्यो ' थुलुङ भन्छिन्।

    अपाङ्गता भएका मानिसले पनि केही गर्न सक्छन् भन्ने उदाहरण अझै पनि देखाउन मन लागेको छ उनलाई। उनले भनिन्, 'मानिसमा हिजोआज धेरै निराशा छ। केही गर्न सकिएन भनेर। तर म उदाहरण बनेर देखाउन चाहन्छु।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]