समाज

हट्यो सुदूरबासीको अन्धकारमा बस्नुपर्ने बाध्यता

स्याउले सबस्टेसन सञ्चालनमा

फागुन ८, २०७५

    डडेल्धुरा : सुदूरपश्चिम क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्पूर्ण मानिन्छ। अपि, सैपालजस्ता मनै छुने हिमाल। अनि खप्तड, रामारोशन, बढीमालिका, मालिकार्जुन, उग्रतारा शैलेश्वरीजस्ता सुन्दर पर्यावरणीय एवं धार्मिक क्षेत्रहरुले सुदूरको शोभा बढाएको छ। यद्यपि, आर्थिक विकासका हिसाबले भने सुदूरपश्चिम अन्य प्रदेशभन्दा पछाडि छ।

    समग्र सुदूरपश्चिमको विकासको लागि तथा सुदूरपश्चिमका साता पहाडी जिल्लाहरुको विद्युत् वितरणलाई भरपर्दो र प्रभावकारी बनाउनको लागि विद्युत् सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२/३३/११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएपछि सुदूरपश्चिमबासीले वषौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ।

    जिल्लाको अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२/३३/ ११ केभी विद्युत् सबस्टेशनको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत् आयोजनाको विद्युत् वितरण तथा केन्द्रीय प्रसारण प्रणालीमा जोड्नसमेत सहज भएको हो।

    सरकारको लगानीमा सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन स्याउलेमा उक्त सव स्टेशन निर्माण गरिएको हो।

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सोही सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको छ। यसले त्यस क्षेत्रको विद्युत् विकासका लागि सहज वातावरण बनेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

    ‘सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा भरपर्दो र नियमित विद्युत् आपूर्ति गर्नका लागि स्याउले सब स्टेशन निर्माण गरिएको हो।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने। स्याउले सबस्टेशन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत् प्रवाहको गुणस्तरलाई पनि बढाएको उनको भनाइ छ।

    ‘स्याउले सबस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सबस्टेशनबाट पहाडी जिल्लामा ३३ केभी फिडरमार्फत विद्युत् वितरण गरिएको थियो। जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता थियो। उनले भने,– ‘सो सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि त्यस्तो अवस्था हटेको छ। त्यस क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनीयता पनि पहिलाभन्दा मजबुत भएको छ।’

    दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् स्याउले सबस्टेशनबाटै डडेल्धुरा, बझाङ, दार्चुला, डोटी, बैतडी र अछाममा वितरण हुनेछ। यसअघि प्राधिकरणले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्‍याई फेरि करीब १०० किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो।

    कूल ३० मेगावाट क्षमताको चमेलिया र नौगाड जलविद्युत् केन्द्रबाट उत्पादन भएको आठ मेगावाट गरी कूल ३८ मेगावाट विद्युत् मध्येबाट स्याउले सबस्टेशनमार्फत करीब १२ लाख उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी केन्द्रिय प्रणालीमा प्रवाह भइरहेको उनको भनाइ छ।

    ‘डडेल्धुरा, बझाङ, दार्चुला, डोटी, बैतडी र अछामका १२ लाख उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा प्रभाह गरिएको छ।’ उनले भने।सबस्टेशन निर्माण सम्पन्न गर्नमा सहयोग गर्ने नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रलय, प्रदेश सरकार र स्थानीय नागरिकलाई उनले धन्यवाद दिए। सबस्टेशन अहिले आफ्नो क्षमताको करीब ३० प्रतिशत मात्रै सञ्चालनमा आएकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ। यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    अत्तरिया–डडेल्धुरा–दीपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेल्धुरा र डोटीको दीपायलमा भएका ३३÷११ केभीका सबस्टेशनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो । प्राधिकरणले डडेल्धुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेल्धुराबाट दीपायल हुँदै अछामसम्म विद्युत् आपूर्ति गर्दै आएको छ।

    ‘सबस्टेशनको निर्माण आर्थिक वर्ष ०७२÷७३ मा शुरु गरिएको थियो। प्रसारण लाइनको निर्माणका लागि २०७२ पुस ८ मा इस्ट इण्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने–‘२०७५ साल असार २३ गतेदेखि यो सबस्टेशन सञ्चालनमा आएको हो।’

    सव स्टेशनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ। जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेशन रु ४५ करोडमा निर्माण सम्पन्न भएका हो।

    यो पनि पढ्नुस्

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]