राजनीति

'पायक पर्ने ठाउँमा राजधानी बनाऊ, नत्र कर्णाली प्रदेशमा जान देऊ'

फागुन १२, २०७५

    बाँके : प्रदेश सभा विशेष समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा सहभागी बाँकेबासीले सवैलाई पायक पर्ने ठाउँमा प्रदेश राजधानी नतोकिए बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने धारणा राखेका छन्।

    नेपालगन्जका व्यवसायी मधुसुदन शर्मा रिजालले पश्चिम नेपालकै व्यापारिक तथा औद्योगिक क्षेत्र नेपालगन्जलाई राजधानी बनाउन सुझाव दिँदै बुटवललाई कुनै पनि हालतमा राजधानी बनाउन नहुने सुझाव दिए। उनले बाँके र बर्दियालाई प्रदेश ५ मा राख्नु वैज्ञानिक दृष्टिकोणले उपयुक्त नभएको बताउँदै दाङलाई विकल्पको रुपमा स्वीकार्न सकिने बताए। ‘बाँके र बर्दियालाई अपायक पर्ने ठाउँमा राजधानी तोकिए कर्णाली प्रदेशमा गाभिनुको विकल्प हुँदैन’, उनले भने। 

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुको विकल्प नभएको बताए। उनले बाँके र बर्दिया ५ नं. प्रदेशमा रहिरहने हो भने अवसरबाट वञ्चित हुने बताउँदै कर्णाली प्रदेशमा गाभिए अवसरका मुहान फुट्ने बताए। ‘बाँके र बर्दियाको भलो चिताउने हो भने कर्णाली प्रदेशमा मिसाउनु पर्छ’ उनले भने। 

    प्रदेश सभा विशेष समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा नागरिक समाजका अगुवाले बाँके र बर्दियाका लागि ५ नं. प्रदेश पायक नपर्ने बताउँदै बाँकेबासीले कर्णाली प्रदेशमा मिसिएमात्र विकास र अवसर पाइने बताए। कार्यक्रममा पत्रकार पूर्णलाल चुकेले बाँके र बर्दियालाई प्रदेश ५ मा नभई कर्णाली प्रदेशमा मिसाउनुपर्ने सुझाव दिए। उनले भौगोलिक सुगमता, प्राकृतिक स्रोत, प्रशासनिक पहुँच, जमिनको पर्याप्ततालाई मध्यनजर गरि प्रदेश राजधानी बनाउनुपर्ने बताए। ‘प्रशासनिक पहुँचलाई हेर्ने हो भने बाँके र बर्दियालाई कर्णाली प्रदेश उपयुक्त देखिन्छ’, उनले भने। 

    जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रदेश सभासद, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। यसैबीच, विकासका लागि नागरिक सरोकार समिति, नेपालगन्जले बाँकेलाई प्रदेश नं. ५ को राजधानी र नेपालगन्जलाई प्रदेशको नामाकरण घोषणा गर्न माग गरेको छ। प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, पर्याप्त साधन स्रोत, र सम्भाव्यता समेतलाई दृष्टिगत गरी संविधान, संघीयताको भावना तथा मर्म बमोजिम बाँके जिल्लालाई ५ नं.प्रदेशको राजधानी र यस प्रदेशको नाम नेपालकै नामबाट परिचित प्राचीन एवं ऐतिहासिक शहर नेपालगन्ज घोषणा गर्न माग गर्दछौँ’, प्रदेश सभा विशेष समितिलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ। 

    सो अवसरमा विकासका लागि नागरिक सरोकार समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बुटवल कुनै पनि हिसावले उपयुक्त नभएको बताउँदै प्रशासनिक सुगमता, वातावरण, भूगोल, सरकारी जमिनको पर्याप्ततालाई मध्यनजर गरि प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने बताए। उनले दीर्घकालीन सोँच राखेर प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने बताए। ‘भविष्यमा हुने जनसंख्या बृद्धि र प्राकृतिक स्रोतको उपलब्धतालाई ध्यान दिइएन भने पछि पछुताउनु बाहेक केही हुने छैन’, उनले भने। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]