समाज

सम्झनामा विकासप्रेमी र समन्वयकारी प्रशासक दाहाल

फागुन १६, २०७५

    झापा : ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहालको निधनले दमक नगरपालिका स्तव्ध भएको छ। यो नगरपालिकासँग दाहालको नाता र यहाँ उनले गरेका कामले नगरवासीले उनलाई सम्झिरहेका छन। 

    दाहाल दमक नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत हुन्। दाहालको निधनको खबरले दमकबासी स्तब्ध भएका छन्।

    प्रधानमन्त्रीको कार्यालयमा उपसचिवका रूपमा कार्यरत दाहालले दमकमा कार्यरत हुदा ल्याएका दीर्घकालीन योजना, सेवा प्रवाहमा गरिएको सुधार लगायतका कामको दमकवासीले सम्झना गरिरहेका छन्। 

    दाहालकै अगुवाईमा दमकमा वृहत औद्योगिक क्षेत्रको अवधारणा ल्याइएको थियो। जुन अहिले चिनियाँ लगानीमा निर्माणको चरणमा गएको छ। यसका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणको चरणमा छ। यसैगरी दमकमा बुद्ध मूर्तिसहितको पार्क बनाउने योजनासमेत उनले अघि सारेका थिए।

    दमक ३ मा हाल त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ। दमकलाई पर्यटकीय नगरको रूपमा विकास गराउन भ्यू टावर निर्माणको योजना पनि उनले ल्याएका थिए। त्यसको पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

    यस्ता योजना ल्याउने उच्च अधिकृतलाई गुमाएकामा नगरवासी र देशले नै शोक मनाइरहेको छ। 

    ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा उपसचिव दाहालसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो। 

    दाहालको निडरपन र निष्ठाको प्रशंसा

    नगरका विभिन्न चोकमा राष्ट्रिय ख्याती प्राप्त तथा राष्ट्रिय विभूतिको शालिक निर्माणको क्रम दाहालको कार्यकालमा तीव्र पारिएको थियो। साविकको मामा चोकमा राखिएको भानुभक्तको शालिक निर्माण गरेका मूर्तिकार मञ्जुल मितेरीले दाहाललाई साहसिक, कुशल र दूरदर्शी प्रशासकको रूपमा सम्झना गरेका छन्। यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल दाहाललाई निडर र निष्ठावान प्रशासकको रूपमा स्मरण गर्छन्। उनले भने,‘दमकको समग्र विकास निर्माण गर्नका लागि खेलेको भूमिकाको दमकवासीले सधै स्मरण गरिरहनेछन्।’

    कर्मचारीका अभिभावक

    जनप्रतिनिधि विहीनताको अवस्थामा साढे ३ वर्ष दमकको प्रशासकीय नेतृत्व गरेका दाहाललाई कर्मचारीले भने अभिभावकको रूपमा सम्झिएका छन्। नगरका सूचना अधिकृत समिप चुडालले उनी प्रशासक मात्र भन्दा पनि कर्मचारीका लागि अभिभावकको रूपमा रहने बताएको सम्झना सुनाए। यस्तै नगरपालिकाका कर प्रमुख टीकाप्रसाद दाहालले जनप्रतितिनिधि नभएको समयमा पनि दीर्घकालीन विकासको खाका ल्याउने क्षमता दिवंगत दाहालमा रहेको भन्दै कर्मचारीहरू प्रति कहिल्यै पनि प्रशासकको रूपमा नभई सहकर्मीको रूपमा व्ययभार गर्ने गरेको बताए। 

    समन्वयकारी व्यक्तित्व

    जनप्रतिनिधिले पनि दाहाल कुशल र समन्वयकारी प्रशासकको रूपमा सम्झना गरेका छन्। नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई विश्वासमा लिएर काम गर्ने क्षमता भएको भन्दै कुशल प्रशासक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। यस्तै उपप्रमुख गीता अधिकारीले अहिले आफूसँग स्तब्धताबाहेक केही नरहेको उल्लेख गरेकी छन्।

    दाहालकै कार्यकालमा दमकले हरित नगर, समृद्ध दमकको दूरदृष्टि निर्धारण गरेको थियो भने मुख्य चोकमा हरित नगरको स्मारक समेत बनाइएको छ।नगरपालिकाको पहिलो नगरसभाबाट नै धिमाल जातिलाई नगरको पहिलो नागरिकको रूपमा घोषणा गरिएको थियो। यो प्रक्रियाका लागिसमेत उनले विश्वका विभिन्न मुलुकको अभ्यासका बारेमा अध्ययन गरेका थिए।

    स्थानीय तहको निर्वाचनपछि उनी जनप्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व प्रदान गरेपछि प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारीमा पुगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]