समाज

डोल्पाका दर्जनौँ गाउँ दैनिक १७ घण्टासम्म सञ्चारविहीन

मोबाइलमा कुरा गर्न आकाश हेर्दै ठिक्क

फागुन २०, २०७५

    डोल्पा : ठुलीभेरी नगरपालिका ७ जुफालमा राखिएको मोबाइल टावर भरपर्दो नभएपछि डोल्पाली जनता समस्यामा पर्न थालेकाछन्। दैनिक १७ घण्टासम्म लोड सेडिङ हुन थालेपछि सञ्चारविहीन भएको त्रिपुराकोटबासीकाे गुनासाे छ।

    घाम लागे आउने र बादल लागे जाने टावर भएपछि दैनिक आकाश हेरेरै टावरको प्रतीक्षा गर्ने गर्न थालिएको छ। 'उ बेला पछिल्लो दिनको मौसम बिदो बाल्दो कस्तो हुन्छ भनेर आकाश हेर्थ्याै। तर आजभोलि मोबाइल टावर आउँछ आउँदैन। थाहा पाउन पनि दैनिक दश पटक आकाश हेर्छु' त्रिपुरासुन्दरी नगरपालिका १ का नैनानन्द देवकोटाले भने।

    'छोराछोरी जिल्ला बाहिर पढ्न गएकाछन्। मोबाइल टावर घण्टौ नआउने र आए पनि कामै नगर्ने भएकाले उनीहरूको सञ्चो-बिसञ्चो बुझ्न पाएको छैन। त्यस्तै त्रिपुराकोटकै कालुप्रसाद हमालले पनि त्यो दिन टावर आउने नआउने कुरामा ढुक्क हुनकालागि बिहानीको झुल्के घाम हेर्ने थालेको दुइसाता भइसक्यो। 'बिहान राम्रो घाम लाग्यो भने दिउसोको केही घण्टा मोबाइल टावर दिन्छ भन्ने कुरामा ढुक्क हुन्छु। तर बादल लाग्यो भने त्यो दिन टावर नआउँने कुरामा पक्का हुन्छ' हमालले भने।

    आजभोलि नैनानन्द, कालुप्रसाद जस्तै अधिकांश त्रिपुराकोटबासीको डोल्पाली दैनिकी आकाश हेर्दै बित्ने गर्दछ। ठुलीभेरी नगरपालिका ७ जुफालमा राखिएको मोबाइल टावर भरपर्दो नभएपछि जुफाल, मोतिपुर, त्रिपुराकोट, लिकु पहाडा, रुम, रल्ली, रसी लगायतका बस्तीका स्थानीयले सञ्चारमा सास्ती भोग्दै आएकाछन्।
    आकाशमा बादल लाग्ने बित्तिकै टावर अवरुद्ध हुनेगरेपछि एक ठाउँबाट सम्पर्क गरेर सुचना आदानप्रदान गर्न साह्रै समस्या हुने गरेको त्रिपुराकोटवासीले गुनासो गरे।

    'घाम लाग्यो भने दैनिक ७ घण्टा मात्रै मुश्किलले काम नगर्ने टावर दिने गर्दछ भने १७ घण्टा टावरको लोडसेडिङ खेप्नुपर्दछ। घाम लागेन भने टावर नै दिँदैन' त्रिपुरा माबिका शिक्षक लोकेश खत्रीले भने, 'बरु बत्तीको लोडसेडिङ साह्रै सजिलो हुँदो रहेछ। दियालोको भरमा समेत बस्न सकिन्छ। तर मोबाइल टावर नहुँदा ठूलो समस्या हुन्छ।

    जुफालमा राखिएको टावर बादल, हिँउ र पानीले घण्टौसम्म अवरुद्ध हुन थालेपछि स्थानीयबासी चिन्तित हुन थालेकाछन्। भौगोलिक बिकटलाई बिर्साउने एकमात्र माध्यमको रुपमा मोबाइल टावर नै नहुँदा जिल्ला बाहिर गएका परिवार, आफन्तसँग कुरा गर्न नपाउनुका साथै एक्कासी कोही बिरामी पर्दा समेत समयमै उद्धार गर्न नसकिने भन्दै उनीहरूले चिन्ता ब्यक्त गरेका हुन्।

    दैनिक १७ घण्टा दर्जनौ गाउँ सम्पर्कविहीन

    जुफालमा राखिएको नमस्ते र स्काइको मोबाइल टावरमा दैनिक १७ घण्टासम्म लोड सेडिङ हुने गरेको छ। २४ घण्टानै मोबाइल फोनसेवा सुचारु हुन पर्नेमा प्रत्येक दिन दिन लामोसमय लोड सेडिङ हुने गरेपछि जुफाल, मोतीपुर, त्रिपुराकोट, लिकु लगायतका दर्जनौं गाउँ सम्पर्क विच्छेद हुने गरेका हुन्। मोबाइल टावर नहुँदा कतै घटना घटी हाल्यो भने जानकारी पाउन नसकिनुको साथै प्रहरीको सेटले समेत राम्रोसँग काम नगर्ने प्रहरीचौकी त्रिपुराकोटले बताएको छ। सदरमुकाम दुनै र जुफालबाहेक अन्य गाउँबस्तीहरू एडीएसएल इन्टरनेट, ल्यान्डलाइन फोन लगायतको कुनै पनि फोन सुविधा उपलब्ध छैन।

    सोलार थप्न नसक्ने टेलिकम

    सोलार ब्याकअप अभावका कारण जुफालको टावर नियमित संञ्चालन हुन नसकेको दूर सञ्चार कार्यालय डोल्पाले जनाएको छ। मोबाइल टावरमा हुने समस्याका विषयमा दूर सञ्चार कार्यालय डोल्पा र क्षेत्रीय कार्यालय नेपालगञ्ज जानकार भए पनि समस्या समाधानका लागि भरपर्दो कदम नचालेको डोल्पाका सरोकारवालाले बताएकाछन्। सोलार ब्याकअप थप्नका लागि दूर सञ्चार कार्यालय डोल्पाले क्षेत्रीय कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको बताएको छ।तर दूर सञ्चार कार्यालय नेपालगञ्जमा बुझ्दा सोलार ब्याकप थप्न पनि केन्द्रीय कार्यालयलाई नै भन्नुपर्ने भन्दै जिम्मेवारीबाट पञ्छिँदै आएको छ।

    नगरको आडैमा रहेका टावरको बेवास्ता

    ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालको आडैमा रहेको मोबाइल टावर पटक–पटक अवरुद्ध हुँदा समेत नगरपालिकालाई तातो लाग्न सकेको छैन। टावरजस्तो संवेदनशील सञ्चारको साधनको दुर्दशा देखेर नगरबासी नै आत्तिने गरेकाछन्। स्थानीय सरकारको भूमिकामा रहेको नगरपालिकाले आडैमा रहेको मोबाइल टावर नियमित सञ्चालनकालागि चार–पाँच लाख रकम खर्च गरेर सोलार ब्याकअप थप गर्न नसक्नु दुखदायी भएको उनीहरूले बताए।

    सोलार ब्याकअप थप्न माग

    मोबाइल टावर नियमित सञ्चालनमा ल्याउन पुरानो मर्मत गर्न र थप सोलार ब्याकअप थप गर्न डोल्पाली जनताले माग गरेकाछन्। घामको भरमा चल्ने मोबाइल टावरलाई नियमित सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ। दैनिक घण्टौ बन्द हुने र अति आवाश्यक काम परेको बेला फोन गर्न नपाइने भए जुफालको टावरलाइ छ भन्नु र छैन भन्नुको कुनै अर्थ नभएको त्रिपुराकोटबासीको भनाइ छ। यथाशीध्र नियमित रुपमा टावर सञ्चालनका लागि डोल्पाली जनताले सम्बन्धित निकायलाइ माग गरेका छन्।

रामचन्द्र न्यौपाने

न्यौपाने थाहा खबरका डोल्पा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]