समाज

कञ्चनवनमा रङ-अवीर खेलेसँगै होली पर्व विधिवत सुरु

फागुन २९, २०७५

    जनकपुरधाम :

    ‘खेलैय होरी...हो...खेलैय होरी....., कञ्चनवन में !

    रामजीके हातमे कनक पिचकारी....,

    सीयाजी’ क हातमे अबिर झोरी...

    हो... खेलैय होरी....!!’’

    मध्यमा मिथिला परिक्रमा यात्रीहरुले गाएका होली गीतका यी हरफसँगै एकआपसमा रङ, अवीरको छ्याप–छ्यापले कञ्चनवन परिवेश नै राताम्य भएको छ। डम्फुको तालमा होलीगीत गाउँदै यात्रीहरूले रङ, अबिर खेलेको रमाइलो हेरेर बाटो हिँड्ने बटुवासमेत मन थाम्न नसकी होलीमा सरिक भइरहेका कञ्चनवन हरिहरपुर हरिनमरीकै हरिनमरी बस्तीका ८५ वर्षीय वृद्ध जितन यादवले बताए।

    मिथिलामा माध्यमिकी परिक्रमाको आठौँ दिन कञ्चनवनमा सुरु भएको होली पर्व परिक्रमाका यात्रीहरु पूर्णिमाका दिन जनकपुरधाम पुगेर सो राति सम्वत जलाएर (जसलाई होलिका दहन पनि भनिन्छ) भोलिपल्ट उत्सवका साथ रङ, अवीर खेलेपछि यो पर्व सम्पन्न हुने परम्परा छ। महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता)को डोला (डोली)मा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छयापा–छ्याप गरेपछि मिथिलामा होली (फागु) पर्व विधिवत् सुरु भएको छ।

    कञ्चनवनमा जनकपुरधामस्थित राममन्दिरका महन्त र जानकी मन्दिरका महन्थले एक आपसमा होली खेलेपछि होलीको सुरुवात हुने परम्परा रही आएको छ। वसन्तपञ्चमीको सुरुवातसँगै होली शुभारम्भ भएको मानिए पनि मिथिलाञ्चलमा परिक्रमायात्रीले कञ्चनवनमा होली खेलेपछि मात्रै होलीको विधि सुरुवात हुने परम्परा रहेको छ।

    त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ, अवीर खेलेको पौराणिक मान्यताका आधारमा १५ दिने माध्यमिकी परिक्रमाका यात्रीले रङ, अवीर छर्दै रमाइलो गरेपछि मिथिलामा फागु पर्व विधिवत् सुरु भएको हो। करिब २० हजारभन्दा बढी यात्री रहेका परिक्रमा यात्रामा स्थानीय लाखौं भक्तजन सहभागी हुने गरेका छन्। कञ्चनवनको होलीको रमाइलोले नै आफूहरूलाई हरेक वर्ष परिक्रमामा सरिक हुन अभिप्रेरित गर्दै ऊर्जा दिने गरेको वर्षौंदेखि नियमित परिक्रमामा सरिक हुँदै आएका यात्री बाबा मनमोहन दास बताउँछन्।

    कञ्चनवनको चारैतिर बिघौँ बिघासम्म देखिने सघन बगैँचाको हरियाली, वरिपरि मधुरो स्वरमा गुञ्जिरहने रामायणकालीन गाथा प्रवचन, होली गीतको माधुर्यता र रङ, अवीरको रमाइलो खेल बिर्सन नसक्दा आफू लगातार १५ वर्षदेखि परिक्रमामा सरिक हुँदै आएको सीमावर्ती सीतामढी जिल्लाको भारतीय गाउँ गोरहारीका ६५ वर्षीय अवधबिहारी शरण दासको भनाइ छ।    

    मिथिला महात्मय अनुसार १८ औं शताब्दी देखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धार्मिक यात्राको सहयात्रीहरुले दिनभरि हिड्ने र रात्रिकालीन भजन किर्तन गरी विताउन गर्छन्। सुख, समृद्धि तथा चारधाम दर्शन गरे वापतको फल प्राप्ति हुने जनविश्वासका साथ धार्मिक यात्रीहरूले नेपालको १ सय ७ र भारतको ३३ किलोमिटर गरी १ सय ४० किलोमिटर पैदल यात्रा गर्नेगर्छन्। परिक्रमामा सहभागि यात्रीहरुले १५ दिनसम्म आली खुटा हिड्ने तथा लसुन, प्याज, माछा–मासु समेत बर्जित गर्ने चलन रही आएको छ। साथै परिक्रमा अवधिभर गृहप्रवेश नगरी हुल्ला आकाशमुनी पाल टाँगेर वनवासी जिवन जिउने गर्छन्।  

    माध्यमिकी परिक्रमा यात्रामा जिल्लाका पाँच रात्रि विश्रामस्थल मध्ये कञ्चनवन अन्तिम स्थल रहँदै आएको छ। जिल्लाको मटिहानीमा चौथो दिनको विश्रामबाट सुरु हुने महोत्तरी यात्रा कञ्चनवनमा आठौँ दिन रङ, अवीर खेलेर रात्रि विश्रामपछि नवौँ दिनको यात्राका लागि धनुषा जिल्ला प्रवेश गर्ने परम्परा छ। जिल्लामा परिक्रमा यात्राको सांस्कृतिक परम्पराअनुसार मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन विश्रामस्थल रहँदै आए पनि विकासको अवसर नपाउँदा यी ठाउँ कुना कन्तरा जस्तो बन्दै आएको महोत्तरीवासीको गुनासो रहेको छ।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]