समाज

प्रदेश ५ मा सडक दुर्घटना : हरेक दिन औषत दुईकाे मृत्यु

चैत १४, २०७५

    बुटवल : विश्वास गर्न गाह्रो पर्न सक्छ तर एक सरकारी तथ्यांकको पछिल्लो तीन वर्षको आँकडालाई हेर्ने हो हो भने अहिले प्रदेशमा दैनिक औषत २ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाउँछन्।

    तथ्यांकअनुसार यहाँ हरेक दिन जसो दैनिक ३ देखि ४ वटासम्म सडक दुर्घटना हुने गरेका छन्। नेपाल सरकार कै प्रतिवेदन अनुसार नेपालमा सवारी दुर्घटनामा मृत्यु हुनुको चौथो ठूलो कारण हो भने अपांगताको तेस्रो ठूलो कारण। प्रदेश ट्राफिक कार्यालय, बुटवलको तथ्याङ्कलाई हेर्दा गत तीन वर्षदेखि यो फागुन मसान्तसम्म सडक दुर्घटनामा परी २ हजार २२४ जनाले ज्यान गुमाइसकेका छन्। प्रदेशको शहरी क्षेत्रमा ट्रक, टेम्पो, मोटरुसाइकल र अन्य सवारी साधनको दुर्घटनामा परी मानवीय क्षति भइरहेको छ।

    ग्रामीण भेगमा भने बस, जिप कार, ट्याक्टरका दुर्घटना धेरै भएको  प्रदेश ट्राफिक कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक माधवबहादुर बुढाथोकीले बताए।सडक दुर्घटनामा ज्यान गुमाउनेमा ९० प्रतिशत दुई पांग्रेका यात्रु, सार्वजनिक सवारी साधनका यात्रु र पैदल यात्रु छन्। लिंगगत हिसाबले भने दुर्घटनाको सबभन्दा बढी मार पुरुषमा पर्ने गरेको छ। दुर्घटनामा मारिने मध्ये ७२ प्रतिशत पुरुष छन् भने २४१ जना बालबालिका रहेका छन्। 

    दुर्घटना संख्या र मृतकको संख्यालाई हेर्दा यी तीन वर्षमा हुन् दुर्घटना न्यूनीकरण भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा ८२६ ओटा सवारी दुर्घटना भए। आव २०७३/ ०७४ मा ९०२ र अघिल्लो आर्थिक वर्षमा ९०४ ओटा सवारी दुर्घटना भए। त्यस्तै यो आर्थिक वर्षको फागुन मसान्तसम्म ६९७ ओटा सवारी दुर्घटना भइसकेका छन्। 

    प्रदेश ट्राफिक कार्यालय, बुटवलको सो तथ्यांकले चालकको लापरवाहीबाट ४७.६७ प्रतिशत दुर्घटना हुने गरेको औंल्याएको छ। त्यस्तै, यात्रुको लापरवाहीले ७ प्रतिशत, अगाडिको गाडीलाई उछिन्दा ४.१६ प्रतिशत, तीव्र गतिका कारण  २७.५९ प्रतिशत, मापसे गरेर चलाउँदा २.३० प्रतिशत, गाडीको गडबडीबाट ३.६३ प्रतिशत, अधिक भारका कारण ०.३ प्रतिशत, चौपायाहरूका कारण १.४७ प्रतिशत र अन्य विविध कारणले ५.८८ प्रतिशत दुर्घटना हुने गरेको बताउँछ।

    चालकको लापहरवाही, सडकको जीर्ण अवस्था, पुराना सवारी साधन र यात्रुको कारणले सडक दुर्घटना हुने गरेको  भए पनि दुर्घटना पश्चात घाइतेले छिटो उपचार नपाउँदा मृतकको संख्या बढ्ने गरेको प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए। 

    जनचेतना होइन अनुशासन नभएर दुर्घटना 

    प्रदेश तीब्र शहरीकरणको अवस्थामा छ। त्यो सँगै सवारीको चाप पनि उल्लेख्य हिसावमा बढेको छ भने शहरी क्षेत्रका बाटो साघुँरिदै गएका छन्। अहिले प्रदेशमा ५ लाख ५० हजार सवारी साधन चालु अवस्थामा छन् भने जम्मा एक हजार ८४९ बाटो कालोपत्रे छ। सवारीको चाप बढिरहँदा सडकमा यात्रा गर्ने सबैले ट्राफिक अनुशासनको पालना गर्नुपर्ने बुढाथोकी बताउँछन्। 

    चालकको लापहरवाही, सवारीको तीव्र गती, यात्रुको गल्ती, ओभर टेकजस्ता कारणले हुने दुर्घटना सबै ट्राफिक नियमको पालना नगरेकाले भएको उनको बुझाई छ। ‘बुटवलमा अहिले बाटो काट्न ‘फ्लाई ओभर’ को व्यवस्था छ। सवैलाई थाहा पनि छ। त्यहाँबाट बाटो काट्नु सुरक्षित हुन्छ भनेर तर त्यहाँबाट भन्दा सडकबाटै बाटो काट्ने गरेको पाएका छौं’, उनले भने। 

    तीब्र गतिका सवारीलाई निगरानी गर्न अहिले ट्राफिक कार्यालयले राडार गनलाई प्रयोगमा ल्याएको छ। प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार ८० मिटर रेञ्जसम्म सवारको गतिलाई राडार गनले मापन गर्न सक्छ।     

    ५० प्रतिशत मृत्युः उपचार अभावमा

    डिएसपी बुढाथोकीले भनेजस्तै दुर्घटना पश्चात घाइतेलाई आपातकालीन उपचार  गर्न प्रदेशमा ट्रमा सेन्टरजस्ता संयन्त्र छैनन्। न त प्रदेशमा रहेका प्रादेशिक अस्पतालहरू ट्रमा युनिटका रुपमा विकसित हुन नै सकेका छन्। रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पताललाई ट्रमा युनिटका रुपमा विकसित प्रदेश सरकारको योजना रहे पनि ठोस रुपमा काम अगाडि बढेको छैन। 

    प्रदेशकै सबैभन्दा ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा समेत ट्रमा युनिट नहुँदा अस्पतालमा ल्याईएका सबै घाइतेहरूको उपचार इमरजेन्सी शाखाबाट हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) कृष्ण खनालले बताए। 'अस्पताललाई ट्रमा युनिटका रुपमा विकास गर्ने कुरा चलेको हो। तर काम सुरु भएको छैन।’ उनले भने। 

    दुर्घटनामा परेका अरुलाई आपत्कालीन उपचार नपाउँदा मृत्यु हुनेको संख्या दोब्बर हुन पुगेको डिएस्पी बुढाथोकीको अनुमान छ। यद्यपि यसको ठोस तथ्यांक भने ट्राफिकसँग छैन। तर राम्रो ट्रमा सेन्टर भएमा सवारी दुर्घटनामा परेकालाई मृत्यु हुनबाट मात्र नभई अपांगताबाट समेत बचाउन सकिन्छ। ट्रमामा पूर्ण विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशा, मुटु शल्य चिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूहले आपातकालीन उपचार प्रदान गर्ने गरी निर्माण गरिएको हुन्छ।

    दुर्घटनामा घाइते भएकाहरूको कम भन्दा कम क्षती होस भन्नका लागि यस्तो सेन्टरको निर्माण गरिएको हुन्छ। प्रदेशमा सडक दुर्घटनामा परि दैनिक औषत ३ जना गम्भीर घाइते हुने गरेको बताइएको छ। नेपालमा बढ्दो सवारी दुर्घटनाबाट हुने मृत्युको संख्या कम गर्न ट्रमा सेन्टरको आवश्यकता बढेको हो। 

    कति छन् प्रदेशमा सडक र सवारी? 

    प्रदेशका १२ वटै जिल्लामा सडक सञ्जाल पुगेको भए पनि २० प्रतिशत सडक कालोपत्रे भएका छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा ९ हजार ७११ किलोमिटर सडक सञ्चाल रहेको छ। त्यसमध्ये दुई हजार ९४१ किलोमिटर ग्राभेल र ४ हजार ९२१ किलोमिटर कच्ची सडक छ। बाँकी एक हजार ८४९ किलोमिटर सडक कालोपत्रे भएको छ। 

    प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चल समेटेर बनेको प्रदेश हो। प्रदेश यातायात व्यवस्था कार्यालय लुम्बिनीमा पाँच लाख ६८ हजार ८७६ गाडी दर्ता भएका छन्। त्यस्तै गरी राप्तीमा ४९ हजार २३८ र भेरीमा ९९ हजार २०५ सवारी दर्ता छन्। समग्र प्रदेशमा गरी ८ लाख गाडी छन्। त्यसमध्ये पाँचलाख ५० हजार सवारीहरू गुड्ने अवस्थामा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]