समाज

वातावरण प्रदुषणविरुद्ध जुटे स्थानीय, फोहोर मैला बोकेको ट्याक्टर नियन्त्रणमा

चैत १६, २०७५

    भद्रपुर, (झापा) : नगरमा संकलित फोहोर मैलालाई जथाभावी फाल्दा वातावरण तथा वायु प्रदुषण बढेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका वडाबासीले शनिबार विहान फोहोर मैला बोकेर फाल्न आएका ट्याक्टरलाई नियन्त्रणमा लिएर मेची नदी किनारबाटै फर्काएका छन्।

    भद्रपुर नगरपालिकाभित्र संकलित फोहोर मैलालाई भद्रपुर ५ स्थित नेपाल–भारत जोड्ने मेची नदी किनारको दशगजा क्षेत्रमा फालिँदै आएको छ। नगरपालिकाभित्र फोहोर मैला व्यवस्थापन (ल्याण्डफिल्ड साइड) केन्द्र नहुँदा वर्षाैदेखि मेची नदी किनार मै नगरको फोहोर मैला फालिँदै आएको छ। नवनिर्मित मेची पुलदेखि एक किलोमिटर दक्षिण नेपाल भारतको १०१-५ नम्बर पिलरनजिकै फोहोर मैला फालिन्छ।

     ट्याक्टरमा लोड गरी दिनहुँ नदी किनारमा ल्याएर फालिएको फोहोरमैलाले वातावरण, वायु र स्वास्थ्यमा असर पुर्‍याउन थालेकाले आसपासका स्थानीय आक्रोसित बनेका छन्। नदी किनारमा थुपारिएका फोहोर मैलालाई हावाहुरीले उडाएर नदी आसपासका घरवस्तीमा पुर्‍याउने, फोहोर मैलामा लगाएको आगोले वायु प्रदुषण फैलाउने, फोहोर मैलामा रहेका खानेकुरा खान आएका कुकुरले घरपालुवा जनावरमाथि आक्रमण गर्ने, दुर्गन्ध र धुँवाले स्वास्थ्यमा असर पुर्‍याउने जस्ता विषयमा आवाज उठाउँदै वडाबासी विरोधमा उत्रिएको स्थानीय इन्द्र नेपालले बताए। 

    यी आवाजसहित मागलाई सम्बोधन गर्न वडाबासीले भद्रपुर नगरपालिका कार्यालयमा चैत ८ गते ५५ जना स्थानीयको हस्ताक्षर संकलित ज्ञापनपत्र बुझाइसकेको छ। 
    ‘स्थानीयले बुझाएको माग सम्बोधन नभएपछि फोहोर मैला बोकेको ट्याक्टर नियन्त्रणमा लिएर फर्काएको हो’, स्थानीय नेपाल भने, ‘नगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन नगरेसम्म नदी किनारमा फाल्न दिदैनौं।’ ट्याक्टर चालकले फोहोरमैला जथाभावी फालेर जाने गरेको छ।

    नदी किनारमा फालिएको फोहोर मैला छरपष्ट छ। ‘फोहोर मैलासँगै नगरपालिकाले टयाक्टरले वेवारिसे मानिसको शव र जनावरको शव समेत ल्याएर फालेर जान्छ। हावा चल्दा शवको दुर्गन्ध गाउँघर समेत फैलिन्छ,' स्थानीय शंकर साहले गुनासो पोखे।

    ‘फोहोर मैला फालिएको स्थानमा कुकुर आतंक बढेको छ’, स्थानीय कामिनी मण्डलले भनिन्, ‘घरपालुवा खशीबाख्रा, कुखुरा र गाइ वस्तुलाई समेत त्यहाँ आएका कुकुरले टोक्दा स्थानीय थप मारमा परेको छन्।’ नगरपालिकाले डम्पिङ साइडको छनाेट नगर्दा नयाँ बजारबासी समस्यामा परेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताए। मेची नदी किनार, त्यसमाथि दशगजा क्षेत्रमा फोहोरमैला फाल्ने चलन जनप्रतिनिधि आउनु अघिदेखि नै रहेकोले डम्पिङ साइडको उचित व्यवस्थापनमा ठूलो समस्या र चुनौती देखा परेको उनको भनाई छ।

     ‘डम्पिङ साइडको विषयमा नगरपालिकाको कार्यपालिका बैठकमा आवाज उठने र सेलाउने काम मात्र भइरहेको छ’, वडा अध्यक्षले कार्कीले भने, ‘फोहोर मैलाको व्यवस्थापन वडा कार्यालयको बजेटले नभ्याउने भएकोले यसतर्फ भद्रपुर नगरपालिका गम्भीर भएर लाग्नु पर्ने बेला आएको छ।’

    वर्षौदेखि भद्रपुरको फोहोर मैला नदी किनारमा फालिँदै आएको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए। उनले अहिले आएर त्यहाँका डम्पिङ गरिएको फोहोर मैलाले स्थानीयलाई समस्या परेको विषयमा नगरपालिका गम्भीर रहेको बताए। नगर प्रमुख श्रेष्ठले भने, ‘फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले डिपिआर बनाइरहेको छ। डिपीआर तयार भएपछि यसको उचित व्यवस्थापन हुन्छ।’ फोहोर मैला फालिएको स्थानमा आगो लगाउने  र जथाभावी फाल्ने काम बन्द गरी एकै ठाउँमा डम्पिङ गर्न ट्याक्टर चालकलाई जानकारी गराइसकेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]