समाज

एसइई परीक्षा अमर्यादित गराउने केन्द्राध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

चैत १६, २०७५

    लहान : संघीय सरकारको निर्णयको आधारमा प्रदेश २ मा स्थगित गरिएको एसइई परीक्षा अमर्यादित बनाएको आरोपमा पक्राउ परेका सप्तरीका केन्द्राध्यक्षसहित आठ जनालाई शिक्षा ऐनअन्तर्गत मुद्दा चलाइएको छ। 

    स्थगित एसइई परीक्षा र जिल्लाको अवस्थाको विषयमा जिल्ला परीक्षा समन्वय समितिले शनिबार जिल्ला सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले पक्राउ परेकाविरुद्ध शिक्षा ऐनअन्तर्गतलाई मुद्दा चलाइएको जानकारी दिए।

    को को छन् पक्राउ पर्नेहरू ?

    एसइई  परीक्षा मर्यादित रूपमा संचालन गर्न नसकेको आरोपमा बुधबार सप्तरीको बनरझुला मावि केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष देवनारायण मण्डल, निरीक्षकहरू मनोजकुमार चौधरी, रामसुन्दर चौधरी, लगेन्द्रप्रसाद चौधरी र रामानन्द चौधरी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले थप दुई जनाको नाम नखुलाए पनि केन्द्राध्यक्ष, निरीक्षक र दुईसहित आठ जनालाई शिक्षा ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरी उपरीक्षक विष्टले उल्लेख गरे । शिक्षा ऐनअन्तर्गत परीक्षा अमर्यादित गर्ने कार्यमा संलग्न भएको पुष्टि भए ६ महिना कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ। 

    प्रहरीले बनरझुला परीक्षा केन्द्रबाट नै पक्राउ परेका विद्यार्थीलाई भने निष्कासन गरेको बताए पनि नाम र संख्या भने खुलाएको छैन। प्रहरीले केन्द्रमा फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इमो, भाइबर लगायतका प्रविधिको दुरुपयोग गरी चिट चोराउन सघाएको आरोपमा पक्राउ परेका अन्य ६ जनालाई सामान्य मुद्दा चलाइएको प्रहरी उपरीक्षक विष्टले बताए। 

    प्रश्न पत्रको प्याकेट दुरुस्त

    पत्रकार सम्मेलनमा एसइई परीक्षाको प्रश्न-पत्र सप्तरीबाट लिक नभएको जिल्ला परीक्षा समन्वय समितिको निष्कर्ष निकालिएको प्रमख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। प्रश्न-पत्र बाहिरिएको विषयमा जिल्ला परीक्षा समन्वय समितिको चैत १४ गतेको निर्णयअनुसार गठन गरिएको चार सदस्यीय टोलीले बाँकी विषयका परीक्षाको प्रश्न-पत्रको सिलबन्दी प्याकेटको स्थलगत अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाएको छ। 

    समितिले शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका शाखा अधिकृत छवि खड्का, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरु तिम्सिना, सशस्त्र प्रहरी बल नं. ६ गणका सहायक प्रहरी निरीक्षक सञ्जु खत्री र राष्ट्रिय अनुसन्धानका अनुसन्धान सहायक मुकेशकुमार यादवसहितको प्रश्न पत्र प्याकेट रुजु चेक जाँच टोली गठन गरेको थियो।

    समितिले जिल्लाको ३४ वटै परीक्षा केन्द्र हेर्ने सम्बन्धित प्रहरी कार्यालयमा पुगेर एसइई परीक्षाको चैत १५ गतेको सामाजिक अध्ययन विषय र बाँकी चार विषयका सिलबन्दी प्रश्न पत्रको प्याकेटको अवस्था ठीक रहेको बताइएकाे छ। प्रश्न पत्र राखिएको प्याकेटको सिलबन्दी तोडी प्रश्नपत्र निकालेको कुनै प्रमाण नभेटिएको प्रतिवेदन बुझाएको छ। 

    जिल्लामा सिआइबीको टोली 

    प्रश्न-पत्र बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान टोली जिल्ला आइसकेको बुझिएको छ। स्राेतका अनुसार ब्यूरोका प्रहरी नायव उपरीक्षकको कमाण्डमा रहेको अनुसन्धान टोलीले जिल्ला परीक्षा समन्वय समितिसहित अन्य सम्बन्धित पक्षसँग भेटेर अनुसन्धान थालिसकेको बताइएको छ। 

    सप्तरीमा नियमित आठ हजार ३५६, एक्जामटेड १७, ग्रेड वृद्धि २४५ गरी कुल आठ हजार ६१८ जना एसइईका परीक्षार्थी थिए। विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ अन्तर्गत आठ जिल्लाकै विज्ञान बाहेकका विषयको परीक्षा परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]