समाज

प्रदेश-२ मा एसइई : प्रश्नपत्र बाहिरिनुमा लापरबाही कसको?

चैत १७, २०७५

    काठमाडौं : देशभर सञ्चालन भइरहेको एसइई परीक्षाका प्रश्‍नपत्र परीक्षाअगावै बाहिरिएपछि प्रदेश–२ का ७० हजार ५६८ विद्यार्थी प्रभावित भएका छन्। अन्य प्रदेशमा परीक्षा नियमित रूपमा सञ्चालन भइरहे पनि प्रदेश–२ का सबै विषयको परीक्षा स्थगित गरिएको संघीय सरकारले जनाएको छ।प्रदेश–२ मा बिहीबार विज्ञान विषयको  र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएका थिए।

    स्थगित भएको विज्ञान विषयको परीक्षा चैत २२ मा हुने भनिए पनि अरू विषयको परीक्षा कहिलेबाट हुने भन्न‍े टुंगो लागिनसकेको अवस्था छ। प्रदेश–२ मा  २ सय ६२ परीक्षा केन्द्रबाट ७० हजार विद्यार्थी सहभागी थिए।

    परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ।, तर प्रदेश–२ मा बिहीबार विज्ञान विषयको  र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा परीक्षा हुनुभन्दा अघिल्लो दिन नै छ्यापछ्याप्ती भएका थिए।

    प्रश्नपत्र बाहिरिनुमा लापरबाही कसको

    परीक्षा हुनुभन्दा अघिल्लो दिन नै प्रश्नपत्र सार्वजनिक भएपछि सबैको मनमा कसको लापरबाहीका कारण प्रश्नपत्र पहिले नै बाहिरियो त भन्ने प्रश्न उब्जिएको छ। एकजनाको लापरबाहीका कारण ७० हजार विद्यार्थीको भविष्य र मिहिनेतमा नराम्रो असर पुगेको छ। प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर शाह प्रश्‍नपत्र बाहिरिनुमा केन्द्र सरकारकै लापरबाही रहेको बताउँछन्। उनी भन्छन्, ‘यो प्रदेशको गल्ती होइन, प्रदेशले गरेको लापरबाही पनि होइन, यो केन्द्रकै लापरबाही हो, यसमा केन्द्रकै हात छ।'

    शिक्षाविद् डा.विद्यानाथ कोइराला भने प्रश्नपत्र बाहिरिनुमा प्रश्‍नपत्र तयार गर्ने जनक शिक्षा सामग्री केन्द्रप्रति नै आशंका व्यक्त गर्छन। उनी भन्छन्, ‘यो कि त जनक शिक्षा सामग्री केन्द्रको लापरबाही हो कि त सुरक्षामा खटिएका प्रहरीको।’

    मन्त्री शाहले प्रदेश–२ का आठवटै जिल्लाबाट सम्पन्न भएका अनिवार्य अंग्रेजी, नेपाली र गणित विषयको उत्तरपुस्तिका सुरक्षाका लागि उच्च सतर्कर्ता अपनाएको जानकारी दिए। प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिर ल्याउने र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कडा सजाय हुनुपर्ने उनको भनाइ छन्।

    यसवर्ष प्रदेशअनुसार ६ वटा अनिवार्य विषयको छुट्टाछुट्टै प्रश्नपत्र तयार पारिएको थियो। तर, आठवटा जिल्लाबाट ७० हजार विद्यार्थी अहिले परीक्षा दिनबाट वञ्चित भएका छन्। यसले परीक्षार्थीलाई भविष्यका साथै मानसिक रूपमा समेत नराम्रो प्रभाव पारेको छ।

    कहिले हुन्छ त बाँकी परीक्षा?

    शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले स्थगित भएका सबै विषयको परीक्षा चैत्र २१ गतेबाट नियमित रूपमा सञ्चालन हुने तयारी भइरहेको बताए। उनले कुन–कुन दिन के–के विषयको परीक्षा हुने भन्नेबारे अझै सार्वजनिक नभएको बताएका छन्। तर, बिहीबार रद्द भएको विज्ञान विषयको परीक्षा भने २२ गते नै हुने उनको भनाइ छ। अर्याल भन्छन्, ‘अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक भए पनि ऐच्छिक विषयको प्रश्नपत्र एउटै भएका कारण सबै विषयको परीक्षा यही चैत्र महिनाभित्र सम्पन्न गराउनुपर्छ।’

    अर्यालले भने,  ‘एसइई बोर्डको बैठकले स्थगित परीक्षाको ५ विषयको प्रश्नपत्र छाप्ने प्रक्रियालाई अघि बढाएको छ।’ एसइई परीक्षामा बाहिरिएका विज्ञान र सामाजिक विषयसहित ५ विषयको प्रश्नपत्र छपाइको तयारी भइसकेको बताए। अर्यालका अनुसार परीक्षा नियन्त्रण कार्यालयले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिक तर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ।

    अर्यालले स्थगित एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जनक शिक्षा सामग्री केन्द्रलाई प्रश्नपत्र छपाइका लागि निर्देशन दिइसकेको बताए। उनले  भने, ‘परीक्षा नियन्त्रण कार्यालयले जतिसक्दो छिटो प्रश्नपत्र छपाएर परीक्षाको रुटिङ सार्वजनिक गर्नेछ।’

    परीक्षा नियन्त्रण कार्यालयले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्नेछ। उक्त प्रश्नपत्र छपाइ गर्दा करिब ९० लाख खर्च हुने केन्द्रको दाबी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]