फिचर

'गाउँमै महिनामा लाख कमाउन छोडेर सात वर्ष मलेशिया बसेँछु'

असार १, २०७६

    सल्यान:  साथीभाइहरू विदेशतिर हाँकिएको देखेर छत्रेश्वरी गाउँपालिका-६ रानागाउँका लोकराज भण्डारी सोच्थे, 'जिन्दगी पाल्नको लागि त विदेश नगई नहुने रहेछ।' महिनाको ४०-५० कमाउँछु भन्दै  उनीहरू कुनै समय गाउँमा आउने देख्दा पनि उनी सोच्थे, 'म पनि त्यस्तै देश जान पाए यति नै पैसा कमाएर परिवारलाई पठाउन पाए कति सुख हुन्थ्यो होला जीवन?'

    यहि सोचका साथ उनी मलेसिया पनि हानिए। झन्डै सात वर्ष विदेशको भूमिमा उनले पसिना बगाए। आज राम्रो कमाइ होला भोलि होलाभन्दा भन्दै सात वर्ष विदेशमा बसेको उनलाई पत्तै भएन। तर सोचेजस्तो आम्दानी कहिल्यै भएन। अन्ततः स्वदेशमै फर्किए।

    सात वर्ष विदेशमा बस्दा पनि सन्तोषजनक आम्दानी नभएर चिन्तित बनेका उनले गाउँमै कुखुरापालन गर्ने सोच बनाए। विदेशमा रातदिन पसिना बगाउनुभन्दा गाउँघरमै काम गर्दा कसो आम्दानी गर्न नसकिएला र भन्ने सोचका साथ कुखुरा पालन सुरु गरेको भण्डारी बताउँछन्।

    सुरुमा सीमित संख्यामा कुखुरा पालन सुरु गरेका भण्डारीसँग अहिले झन्डै पाँच हजारबराबर कुखुरा रहेका छन्। गाडीको सहचालकदेखि वैदेशिक रोजगारसम्मको अनुभव गरिसकेका भण्डारीले व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेको बताउँछन्।

    मासिक एक लाख आम्दानी

    विदेशी भूमिमा श्रम गरिरहेकै समयमा स्वदेशमै फर्किएर केही गर्नुपर्छ भन्ने सोच पलाएपछि नेपाल फर्किएको बताउँछन् उनी। अहिले आम्दानी पनि राम्रै भइरहेको छ। चार वर्षको अवधिमा उनले मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरको बताउँछन्। घर खर्च कटाएर, अन्य खर्च कटाएर अहिले मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी हुँदै आइरहेको छ।

    लोकराजलाइ उनकी पत्नी सुन्दरा भण्डारीले पनि राम्रो साथ दिएकी छन्। स्नातकसम्मको अध्ययन र कृषि जेटिए पढेकी सुन्दराले जागिरका लागि आफूहरू निकै भौतारिएको र जागिर नपाएपछि व्यवसायमा हात हालेको बताइन्। दुवैजनाको साथ र सल्लाहबाट सञ्चालन गरेको यस व्यवसायले जागिरभन्दा पनि कैयौँ गुणा राम्रो भएको उनको अनुभव छ। ‘पहिले जागिर नै खानुपर्छ भन्ने सोचका साथ पढाइ गरियो,' उनले भनिन्, ‘अहिले आएर जागिरको कुनै आवश्यकता महसुस नै हुँदैन आफ्नै पेसा व्यवसायबाट सन्तुष्ट छौँ।'

    चार हजार ब्रोइलर जातका र दुई सय बढी लोकल कुखुरा, साकिने घाँटीखुइले, प्वाँख उल्टे, न्यु हेम्पासायर र गिरिराज जातका कुखुरा पालlरहेका छन्। उनको फर्ममा अहिले जिल्लाभित्र र जिल्ला बाहिरबाट पनि कृषि अवलोकनका लागि आउने गरेका छन्।

    कुखुरासँगै माछा र तरकारी खेती

    व्यावसायिक कुखुरापालन गर्दै आइरहेका भण्डारीले माछा र तरकारी खेतीसमेत गर्दै आइरहेका छन्।  तीन रोपनी क्षेत्रफलमा उनले माछापालनका लागि चारवटा पोखरी बनाएका छन् भने बाँकी चार रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन्।

    कुखुरको मल प्रशस्त हुने भएकाले तरकारी खेतीका लागि कुनै समस्या नभएको उनी बताउँछन्। मौसमी र बेमौसमी तरकारी खेती गर्दै आइरहेका भण्डारीले तरकारी बजारीकरणका लागि कुनै समस्या नभएको बताए। सिँचाइ प्रयाप्त मात्रामा भएकाले पनि तरकारी खेती गर्न सहज भएको सुनाउँछन्।

    विदेशमा भन्दा स्वदेशमै राम्रो आम्दानी

    नेपालमै बसेर पनि राम्रो गर्न सकिने रहेछ भन्दै उनी अनाश्वयक दुःख पाएकोमा पश्चाताप मान्छन्। 'विदेश गएकोमा अहिले पछुतो लागेको छ' उनले भने। विदेशमा गएर धेरै कमाइ हुन्छ भन्ने सोच भ्रामक मात्रै भएको उनले बताए।

    'विदेशमा बसेर कमाएर रकम ऋण तिर्नमा नै ठिक्क भयो यसरी आफ्नै ठाउँमा पहिले नै काम गर्ने सोच आएको भए अहिलेसम्म धेरै प्रगति गर्न सकिन्थ्यो।' उनी चुचुकाउँछन्। विदेश जाने युवालाई विदेश नजानसमेत उनले आग्रह गरे।

    कृषिक्षेत्रमा लगानीको अभाव

    भण्डारी  दम्पतीको  व्यवसाय जिल्लामै नमुनायोग्य भए पनि तमाम समस्याका कारण चाहेको जस्तो गर्न नसकेको उनीहरूको दुखेसो छ। आफ्नै लगानीमा झन्डै डेढ किलोमिटर सडक खनेर फर्ममा लगेको तर अहिलेसम्म विद्युत सेवा फर्मसम्म नपुग्दा फर्मलाई प्रविधि मैत्री बनाउन नसकेको भण्डारीले बताए।

    उनले वित्तीय संस्थाले पनि कृषि क्षेत्रमा काम गर्नेलाई सजिलै सहयोग नगरेको गुनासो गरेका छन्। व्यावसायिक रूपमा अगाडि बढ्नका लागि वित्तीय सास्ती बेहोर्नुपरेको छ। उनी भन्छन्, 'जति हामीले सेवा सुविधा पाउनुपर्ने हो त्यो अझै पनि पाउन सकेका छैनौँ।'

    उनले बैंक र वित्तीय संस्थाहरूले परियोजना ठीक भएको बताए पनि जग्गाको भ्यालु ठीक नभएको भन्दै खाली हात फर्काइदिने गरेको बताए। व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक पर्ने भएकाले कृषि व्यवसायीसँग घरघडेरी नभएकै कारण ऋण लिन असहज हुने गरेको छ।

    स्थानीय तह र विभिन्न वित्तीय संस्थाहरूले यस्ता नमुना किसानहरूलाई प्रोत्साहन गरेमा यस व्यावसायिक रूपमा कृषि क्षेत्रमा आउनेहरूलाई र काम गरिरहेकाहरूलाई पनि प्रोत्साहन मिल्ने उनी बताउँछन्।

दीपक शर्मा

शर्मा थाहा खबरका सल्यान समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]