समाज

सुत्केरी मृत्यु प्रकरण : तीनबुँदे सहमतिपछि विवाद साम्य

जेठ ३२, २०७६

    डडेल्धुरा । डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा सदरमुकाममा उत्पन्न भएको तनाव साम्य भएको छ।

    अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। मृतकका आफन्तसंग तीन बुँदे सहमति भएपछि शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगामा भएको प्रदर्शन रोकिएको छ।

    प्रर्दशन रोकिएसँगै सडकमा रोकिएका सवारीका साधन गन्तव्य तर्फ हिँडेका छन्। तीनबुँदे निर्णयमा सहमति जनाइ घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि उग्र बनिरहेको प्रदर्शन शान्त भएको हो।

    गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाइपछि प्रदर्शन रोकिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

    प्रशासन कार्यालय र मृतकका आफन्तबीच घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली खटाइ पठाइ दिन भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, मृतक गीताको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकबाट गर्ने गरी चिकित्सक पठाइदिन स्वास्थ्य जनसंख्या मन्त्रालय र सुदूरपश्चिम सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउन जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णयमा सहमति भएको हो। 

    चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए। गीताको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै आफन्त अस्पतालमा प्रदर्शनमा उत्रेका थिए। शनिबार महिलाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्दै नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए।

    उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै महिलाहरुले प्रशासन घेराउन गरेका थिए। महिलाहरुले जुलुस निकाली प्रशासन घेराउ र अस्पताल घेराउ गरेका थिए। आफन्त र गाउँले पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडकसमेत अवरुद्ध पारेका थिए। बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए।

    ‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ। अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ।

    तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ। गीतालाई १२ पिन्ट रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ। मृतक गीताका श्रीमान स्वास्थ्यकर्मी हुन्। उनी नेपाल सरकारको हेल्थअसिस्टेन्ट पदमा अछाममा कार्यरत छन्।

    बिहीबार छोरा भएको १५ दिन पुगेपछि रगत बग्न थालेकाले उनी अस्पताल पुगेका थिए। उनले जेठ १६ गते दिउँसो साढे दुई बजे अप्रेसन गरी बच्चा पाएकी थिइन्। बच्चा सकुशल जन्मिएपछि स्वास्थ्यमा प्रतिकुल असर रहेकाले २४ गतेसम्म पाँच दिन बच्चालाई आइसियुमा राखिएको थियो।

    उनलाई २४ गते अस्पतालबाट घर पठाइएको सहमति पत्रमा उल्लेख गरिएको छ। उनी ३० गते फेरी अस्ताल पुगि रगत बगेको बताएकी थिइन्। करिब १ महिना सम्म रगत बग्ने भन्दै अस्पतालका चिकित्सकले चिन्ता नलिन आग्रह गर्दै उनलाई घर पठाएका थिए। घर पुगेपछि रक्तश्राब नरोकिएपछि उनी ३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन्।

    अस्पतालका मेसुले जाँच गरेपछि पाठेघरमा पुरानो जमेको रगत बगेको हो, ताजा रगत बगेको छैन भनेका थिए। पछि दिउँसो उनको अवस्था चिन्ताजनक रहेको बताउँदै मेसुले रिफर गर्नु पर्ने भन्दै हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिँदै खर्चको जोहो गर्न आफन्तलाई भनेका थिए। तर, साँझ साढे पाँच बजे गीताको मृत्यु भएकाले आवश्यक छानबिन गरिनु पर्ने सहमति पत्रमा लेखिएको छ।

    अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सक माथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका हुन्। आक्रोसित आफन्तले शुक्रबार साँझ अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका थिए। पीडित पक्ष आक्रोसमा आएपछि शुक्रबार बेलुकी केहीबेर प्रहरीसँग झडप समेत भएको थियो। ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति दुई पक्षबीच बनेको बताए। जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टको गाउँ वडा नं. ६ को घटना भएकाले उनीसहित अमरगढी नगरप्रमुख, उपप्रमुख, मृतकका आफन्त संग शुक्रबार रातीको छलफलपछि शनिबार बिहान तीन बुँदे सहमति भएको थियो। उनले भने, ‘अहिले सोही सहमति अनुसार प्रदर्शन रोकिएको छ।’

    यो पनि पढ्नुस्ः

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]