काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
निजी क्षेत्र भने आशावादी
विराटनगर : प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ।
सरकारले प्रस्तुत गरेको उक्त बजेटको विषयमा सत्तापक्षका सांसदहरूले सकारात्मक भनेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचारात्मक र कार्यकर्तालाई बाड्ने बजेट भन्दै असन्तुष्टि जनाएको छ। यता निजी क्षेत्रले भने बजेटलाई सकारात्मक ढंगले लिएको प्रतिक्रिया दिएका छन्।
प्रदेश सरकारले चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ८ करोड विनियोजन गरेको छ। अन्तरसरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको छ। कृषि, पर्यटन, पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उक्त बजेट कार्यान्वयन हुने आफूले अपेक्षा गरेको नेकपाका सांसद बिमल कार्कीको भनाइ छ।
‘बजेट कार्यान्वयनमुखी, रोजगारमुखी र प्रगतिउन्मुख छ’, कार्कीले भने, ‘कार्यान्वयनको पाटोलाई चुस्त दुरुस्त बनाउन आवश्यक छ। बजेटले सबै पक्षलाई समेटेर आएको छ।’ यता नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने बजेट वितरणमुखी र प्रचारमुखी मात्रै भएको भन्दै असन्तुष्टि जनाए। उनले बजेटले विगतको परम्परालाई पछ्याएको, विगतकै कार्यक्रम ल्याइएको र कार्यकर्ता पोष्ने खालको भएको प्रतिक्रिया दिए। यस्तै कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले चालू आर्थिक वर्षकै बजेटको कार्यान्वयनको पाटो समिक्षा नगरी बजेट ल्याएको बताए।
‘बजेट पूर्णत संघीय सरकारको इकाइ जस्तो देखिन्छ। अनुदानमा निर्भर बजेट भएको छ’, उनले भने, ‘चालू आर्थिक वर्षमा मलाई जानकारी आएसम्म २५ प्रतिशत पनि बजेट खर्च भएको छैन। यस्तो अवस्थामा बजेट कार्यान्वयन गर्ने संयन्त्र बनाउनेतिर भन्दा प्रचारमुखी र सस्तो लोकप्रियता ल्याउने खालको बजेट भयो।’
विनियोजित बजेट अनुसार कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रका लागि १ अर्ब ६६ करोड, वन तथा वातावरणका लागि १ अर्ब २० करोड बजेट छुट्याएको छ। यस्तै उद्योग वाणिज्य, आपूर्ति क्षेत्रको विकासका लागि ४७ करोड, सिंचाई व्यवस्था तथा नदी नियन्त्रणका लागि ३ अर्ब २० करोड, समग्र शिक्षा क्षेत्रका लागि १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ।
मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले उद्योगी व्यवसायीलाई भने प्रदेश सरकारले माया गरेको बताए। ‘अहिलेको बजेटले कृषि, पर्यटन र पूर्वाधारलाई जोड दिएको छ। हामीले हेर्दा सकारात्मक पाएका छौं’ सारडाले भने, ‘निजी क्षेत्रलाई ढाडस दिने खालको बजेट छ। हाम्रो आत्मविश्वास बढाउने खालको देखिन्छ।लगानीका लागि पनि वातावरण बनाउनेतिर ध्यान गएको देखिन्छ।’
यस्तै बजेटमा स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाएको लागि ३ अर्ब, खेलकुदका लागि ४७ करोड ५५ लाख, सडक पुलमा ८ अर्ब, आवास भवन तथा सहरी विकासका लागि ३ अर्ब, कृषि क्षेत्रको उत्पादन प्रशोधन, भण्डारण, बजारीकरणका लागि २० करोड बजेट विनियोजन गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।