अर्थ

सुदूरपश्चिम प्रदेश :  प्रतिपक्षी भन्छ- बजेट ‘कनिका छराइ’ भो

बजेट उत्कृष्ट रहेको अर्थमन्त्रीको दाबी

असार २, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले दोस्रोपटक ल्याएको पूर्ण बजेटका विषयमा विभिन्न टिका टिप्पणी सुरु भएका छन्। कसैले बजेट उत्कृष्ट रहेको बताएका छन् भने कोही बजेटप्रति सन्तुष्ट नरहेको बताउँछन्।

    सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले 'कनिका छराइ'झैँ गरी बजेट ल्याएको टिप्पणी गरेको छ। सबैलाई खुसी पार्ने उद्देश्यले सरकारले बजेट ल्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलको भनाइ छ। ‘बजेट निराशाजनक भयो’ उनले भने,  ‘कनिका छराइ जस्तो गरी ल्याएको छ प्रदेश सरकारले बजेट छ।’

    सरकारले ३ करोडको पूर्वाधार विकास कार्यक्रम बनाएको प्रति पनि उनले प्रश्न गरेका छन्। ‘सबैलाई खुसी पार्ने हिसाबले बजेट आएको छ’ उनले भने, ‘मान्यज्यूहरूलाई पनि १ करोड थप भएको छ। मान्यहरू पनि खुसी हुने नै भए।’

    नेपाली कांग्रेसकै अर्का सांसद टेकबहादुर रैकाले  पनि सरकारले ल्याएको बजेटबाट सन्तुष्ट हुने अवस्था नरहेको बताएका छन्। ‘चालू आर्थिक वर्षको जस्तो पनि बजेट आएन’ उनले भने, ‘पहुँचवालाको लागि त ठिकै होला तर, सोझासाझा जनताका लागि बजेट उपलब्धिमूलक छैन।’

    पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसदलाई ३ करोड रुपैयाँ दिने सरकारको निर्णय उपयुक्त नरहेको उनले बताए। ‘त्यो रकमको बरु योजना हालिदिनुपर्ने थियो। सांसदलाई पैसा दिनु उपयुक्त होइन’ उनले भने।

    चालू आर्थिक वर्षको लागि सरकारले प्रदेश सभा सदस्यहरूलाई २ करोड उपलब्ध गराएको थियो भने आगामी आर्थिक वर्षको लागि १ करोड थप गरेको छ।

    उद्योगी पनि असन्तुष्ट

    आइतबार प्रदेश सरकारले ल्याएको बजेटबाट प्रतिपक्षी मात्रै होइन उद्योगी,  व्यवसायी पनि असन्तुष्ट छन्। सरकारले औद्योगिक क्षेत्रका विषयमा पर्याप्त बजेट विनियोजन नगरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

    ‘सरकारले उद्योगी व्यवसायीलाई समेट्न सकेन’ उनले भने, ‘कृषि, पूर्वाधार र पर्यटन क्षेत्रमा जति प्राथमिकता दिएको छ त्योअनुसार उद्योग व्यवसायमा बजेट आउन सकेन।’

    उनले कर छुटलगायत विषयमा प्रदेश सरकार मौन रहेको आरोप लगाए।

    सुदूरपश्चिम प्रादेशिक उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर बोगटीले पनि प्रदेश सरकारको बजेट उद्योगमैत्री नभएको बताएका छन्। ‘हामीले पटकपटक हाम्रा विषयमा सरकारलाई जानकारी गराएको थियौँ तर त्योअनुसार बजेट आएन’ उनले भने, ‘प्रदेश सरकारले हाम्रो मागहरूप्रति चासो नै दिएन।’

    औद्योगिक क्षेत्र स्थापनमा सरकारले चासो नदिएको उनले आरोप लगाए। ‘औद्योगिक क्षेत्र हामीलाई सबै भन्दा बढी आवश्यक्ता छ’ उनले भने, ‘त्यो नभएसम्म प्रदेशको विकास गर्न निकै कठिन छ।’

    सत्तापक्षीय सांसदको बचाउ

    प्रतिपक्षी दलका सांसदहरू र उद्योगी व्यवसायीहरूले आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेटबाट सन्तुष्ट हुने अवस्था नरहेको बताए पनि सत्तारूढ दलका सांसदहरूले भने बजेट उत्कृष्ट रहेको बताएका छन्।

    सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बजेट उत्कृष्ट रहेको बताएका हुन्। ‘बजेटले सबै क्षेत्र र विषयलाई समेटेको छ’ उनले भने, ‘सबैभन्दा बढी कृषि र पर्यटनमा बजेट आएको छ। यो प्रदेशको समृद्धिको आधार हुन सक्छ।’

    सत्तारूढ दलकै अर्का सांसद लीलाधर भट्टले पनि बजेट समग्रमा राम्रो रहेको बताएका छन्। उनले भने, ‘नीतिगतरूपमा ठिक छ तर, यसको कार्यान्यन आवश्यक छ।’ सत्तापक्षी सांसदहरूमध्ये अधिकांश सांसदहरूले बजेटले सुदूरपश्चिम प्रदेशका सबै विषयलाई छोएको बताएका छन्। तर, ती विषयहरूको कार्यान्यनमा सरकार गम्भीर बन्नुपर्ने केहीको धारणा छ।

    सत्तारूढ दलकै सांसद वीरमान चौधरी भन्छन्, ‘सबै क्षेत्र समेटिएको छ तर कार्यान्यन चुनौतीपूर्ण छ।’

    यस्तो छ प्रदेश अर्थमन्त्री दाबी

    सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट उत्कृष्ट रहेको दाबी गरेका छन्। उनी चालू आर्थिक वर्षको भन्दा पनि आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट रहेको बताउँछन्।

    ‘चालू आर्थिक वर्षको भन्दा पनि आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट छ’ उनले भने,  ‘प्रदेशको पहिचान कायम गराउने प्रकृतिको बजेट आएको छ।’

    प्रदेशका सामान्य विषयहरूलाई बजेटमा प्राथमिकता नदिएको उनी बताउँछन्। प्रदेशको समृद्धिको  आधार तयार हुने गरी बजेट ल्याइएको उनको दाबी छ।

    ‘साना कार्यक्रमलाई यसमा राखेका छैनौँ। जनताले अनुभूति गर्ने कार्यक्रमहरू समेटिएका छन्। यसले प्रदेशलाई पनि विकासको बाटोमा लम्कन मद्दत गर्ने छ’ उनको भनाइ छ।

    कृषिमा आत्मनिर्भर, पूर्वाधारमा लगानीको वातावरण, पर्यटनका क्षेत्रमा उल्लेख्य विकाससँगै खेलकुद ,शिक्षा, स्वास्थ्य लगायतका महत्त्वपूर्ण विषयमा पर्याप्त बजेट विनियोजन गरिएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]