फिचर : फोटो फिचर

सुरक्षाकर्मीको घेराभित्र बिरामीलाई सेवा दिँदै डडेल्धुराका चिकित्सक, फोटोफिचर

असार २, २०७६

    डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार सेवा सुरु गरेका छन्। यहाँका सरोकारवालाको आश्वासनपछि सोमबारदेखि चिकित्सकहरू काममा फर्किएका हुन्। 

    जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दा प्रमुख जिल्ला अधिकारीले नै धम्की दिएको आरोप लगाएर आइतबार अस्पतालमा कार्यरत सबै चिकित्सकले सामूहिक बिदा मागेका थिए। जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मीको टोली अस्पतालमा खटाएपछि उनीहरू काममा फर्किएका हुन्। चिकित्सकहरूमा त्रास कायमै रहेकाले बाहिर गोलघरमा सामूहिक ओपिडी सेवा दिन सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए। 

    स्थानीय प्रशासनले सुरक्षाकर्मी उपलब्ध गराएपछि आफूहरूले अस्पताल बाहिरै सुरक्षा घेरामा बसेर बिरामीलाई सेवा दिइरहेको उनले बताए। अस्पतालका ६ वटा कोठामा प्रहरी राखेर बिरामीको चेकजाँच गर्नुभन्दा गोलघरमा नै आफूहरूले सेवा दिइरहेको उनको भनाइ छ। ‘हामीले जहाँ बसेर भए पनि आखिर बिरामी चेक गर्ने नै हो’ उनले भने,‘कोठाभित्र बसेर बिरामी चेकजाँच गर्दा त्यति सुरक्षा महसुस नहुने भएकाले सबै डाक्टरसँगै बसेर सेवा दिइरहेका हौं।'

    विगतमा इमरजेन्सी सेवा निरन्तररुपमा दिइरहेको उल्लेख गर्दै उनले सोमबार ओपिडी सेवा, ल्याब सेवा पनि सुचारु गरेको जानकारी दिए। ‘इमरजेन्सी सेवा कुनै दिन पनि रोखिएको थिएन।

    आजदेखि ओपिडी र ल्याब सेवा समेत सुरु भएको छ’ उनले भने,‘जुन दिन अस्पालमा तोडफोड गरिएको थियो। त्यहीँ दिन पनि इमरजेन्सी सेवा दिएका छौं।’ सामूहिक बिदा मागेका चिकित्सकहरू समेत ११ जना नै काममा फर्किसकेको उनको भनाइ छ।  

    के थियो घटना?

    जेठ १७ गते जिल्लाको अमरगढी नगरपालिका ६ छचोडा गाउँकी गीता ताम्राकारलाई बच्चा जन्माउन नसकेपछि घरबाट ७ किलोमिटर दूरीमा रहेको सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइयो। सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने अवस्था देखिएपछि सेफालोपेल्भिक डिस्प्रोपोर्सन (शिशुको टाउको र आमाको पेल्भिसको अनुपात नमिलेको) भएको यकिन गरेपछि डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूति रोग चिकित्सक डा नवराज जैसीले त्यही दिन १७ गते उनको शल्यक्रिया गरेर सुत्केरी गराए।

    पाँच दिन अस्पताल राखेर २४ गते उनलाई डिस्चार्ज गरियो। उनी १४ दिन घरै बसिन्। त्यसपछि फलोअपका लागि बिहीबार अर्थात् गत जेठ ३० गते उनी डडेल्धुरा अस्पताल आइन्। फलोअपमा आउँदा योनीबाट अलिअलि रक्तश्राव भएको उनले चिकित्सकलाई बताएकी थिइन्। चिकित्सकले त्यसपछि उनको भिडियो एक्सरे गरे। शल्यक्रिया गरिएको ठाउँ सामान्य भइसकेको थिएन। 

    घाउ नसुकेकाले भिडियो एक्सरे गर्दा पनि सामान्य रगत मात्रै देखियो। ‘भिडियो एक्सरेमा थोरै मात्र रगत देखिएको थियो। अप्रेसन गरेको थोरै समय भएकाले अवस्था सामान्य भइसकेको थिएन’, डा जितेन्द्र कँडेलले भने। भिडियो एक्सरेपछि गीता घर फर्किइन्। घर गइसकेपछि फेरि दिउँसो २ बजेतिर गीताको योनीबाट रगत बग्यो र पुनः रोकियो। रोकिएपछि आफन्तले उनलाई अस्पताल ल्याएनन्। फेरि मध्यराति १ बजेदेखि बिहानसम्म लगातार योनीबाट रगत बग्यो र पुनः रोकियो। 

    ३१ गते शुक्रबार बिहान ९ बजे मात्र उनलाई अस्पताल ल्याइयो। अस्पताल ल्याउँदा गीताको अत्यधिक रक्तश्राव भएको थियो। अस्पताल ल्याइपु¥याउँदासम्म उनको स्वास्थ्य अवस्था जटिल भइसकेको उपचारमा संलग्न कँडेलले बताए।

    ‘बिहान ९ बजे आउँदा उहाँको योनीबाट रक्तश्राव भइरहेको थियो। रक्तचाप नाप्न सकिने अवस्था थिएन’, उनले भने’ बिरामी जटिल अवस्थामा रहेकाले १० बजेबाट उपचार सुरु गर्‍यौं। स्लाइन दियौं। भित्र र बाहिरबाट रगत मगाएर १० पिन्ट रगत दियौं। तर, रक्तश्राव नरोकिएपछि रोक्न सकिने थप प्रक्रियाको प्रयास थाल्यौं।’

    चिकित्सकले बिरामीका आफन्त स्वाथ्यकर्मी धर्म ताम्राकारलाई बेलाबेलामा बिरामीको अवस्थाबारे जानकारी गराइराखे। उनले भने, ‘त्यसपछि पनि आफूले सबै संयन्त्र प्रयोग गरेर बिरामीलाई बचाउने प्रयास गर्‍यौं।’ डाक्टरले जति गर्दा पनि बिरामीको अवस्था सामान्य हुन नसकेपछि एयर लिफ्टिङ गर्ने प्रयास समेत भएको र सडक बाटो भएर बिरामीलाई धनगढी पुर्‍याउन सकिने अवस्था नरहेको डा कँडेलले बिरामीका आफन्तलाई जानकारी गराएको बताए।

    ‘यस्तो अवस्थामा धनगढी रिफर गर्न सकिँदैनथ्यो,’ उनले भने, ‘हेलिकोप्टरमार्फत एयर लिफ्ट गर्ने कुरा भयो। तर त्यो सम्भव भएन। सबैमा म आफैंले प्रयास गरेको छु।’ त्यसका लागि धनगढीस्थित प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय गरिएको उनको दाबी छ।

    ‘बिरामीका आफन्तलाई तपाइँहरु आफ्नो पक्षबाट हेलिकोप्टरको लागि कुरा नगर्नु भनेका थिएनौं’ उनले भने, 'मैले गरेको प्रयासमा मन्त्रालयले हेलिकोप्टर पठाउन नसक्ने बतायो। त्यसपछि डाक्टरको टोलीले रक्तश्राव रोक्न पुनः पाठेघरको शल्यक्रियाको प्रयासमा जुट्यो। अन्तिम विकल्पका रुपमा त्यही मात्र रहेपछि बिरामी गीताका श्रीमान् धर्मराज ताम्राकारले पुनः शल्यक्रिया गर्ने सहमति दिएका थिए। तलमाथि परेमा आफैं जिम्मेवार हुने भन्दै डेथ अन टेबल भनिने मन्जुरीनामामा पनि हस्ताक्षर गरे।’ 

    शल्यक्रियाकै क्रममा रगत जम्ने प्रक्रिया सुरु भएको र साँझ ५ः १५ मा उनको मुटुको चाल रोकिएको डा कँडेलले बताए। बिरामी बचाउन सबै प्रयास असफल भएपछि अस्पतालले गीतालाई बचाउन नसकेको जानकारी बिरामीका आफन्तलाई गराएको र त्यसलगतै आफन्तहरू तोडफोड र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ।

    अप्रेशन गरी शिशु जन्माएकी गीताको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो। उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै शनिबार महिलाहरुले प्रशासन समेत घेराउन गरेका थिए। महिलाहरुले जुलुस निकाली प्रशासन घेराउ र अस्पताल घेराउ गरेका थिए। आफन्त र गाउँले पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध पारेका थिए।

    बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए। ‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ। अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ। 

    घटनाको विषयमा छानविन शुरु

    अस्पतालका सबै चिकित्सकले सामूहिक बिदाको माग गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको ३ सदस्यीय छानविन टोली आइतबार डडेल्धुरा पुगेको छ। मन्त्रालयले कर्मचारी प्रशासन तर्फमा उपसचिव भानुभक्त न्यौपाने, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाकी डा पुण्या पौडेल र जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डा बसन्त जोशीसहित पठाएको ३ सदस्यीय टोली डडेल्धुरा आएको हो।

    टोलीले घटनाको विषयमा छानविन गरिरहेको जनाइएको छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]