विश्व

मोहम्मद मोर्सीको हत्या भएको एर्डोगानको आरोप

मोहम्मद मोर्सी
असार ४, २०७६

    टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन्।

    ‘अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन सकेनन्’, इस्तानबुलमा बुधबार उनले भनेका थिए।

    एर्डोगानले थपे, ‘मोर्सीको हत्या भएको हो, उहाँको प्राकृतिक निधन भएको होइन।‘ उनले मोर्सीको मृत्युका बारेमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका थिए।

    यसअघि मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको थियो।

    हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले मोर्सीको निधन भएको हुनसक्ने एमनेस्टीको आशङ्का थियो। त्यसैगरी मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ।

    इजिप्टको राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतहरूलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटुसम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ।

    इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको घोषणा गरिएको थियो।

    कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरूले जनाएका छन्।

    ‘अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा गर्‍यो’, न्यायाधिवक्ताको कार्यालयले भनेको छ।

    ‘उहाँलाई स्थानीय समयानुसार अपराह्न ४.५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरीरमा घाउचोट देखिएको छैन’, अस्पताल स्रोतले भन्यो।

    मोर्सीका कारण अदालती कारवाहीमा बाधा नपुगोस भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सीसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो।

    मोर्सी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो।

    जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शङ्कास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन मोर्सी अदालत उपस्थित भएका थिए। उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो। तर उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]