पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
पर्वत : पर्वतमा निर्माणाधिन अवस्थामा रहेर कर्मचारी र स्थानीयको अवरोधका कारण बन्द अवस्थामा रहेका दुई ओटा जलविद्युत आयोजनामध्ये एउटाको काम भने सुचारु भएको छ।
१४.८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनामा स्थानीय बासिन्दाले गर्दै आएको अवरोध हटेको भए पनि कर्मचारी र मजदुरहरूले विभिन्न माग राखेर बन्द गराएको तल्लो मोदीको काम भने अझै पनि अवरुद्ध नै छ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार दिउसो भएको वार्तामा मध्यमोदी आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिने सहमति बनेपछि आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।
उनका अनुसार आयोजना पक्षले प्राविधिक मूल्याङ्कन भन्दा २५ प्रतिशत बढाएर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि प्रभावित क्षेत्रका स्थानीयवासीले आन्दोलन रोकेका छन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आयोजना निर्माणको क्रममा बम विस्फोट गराउँदा घर चर्किएको भन्दै क्षतिपूर्तिको माग गर्दै आयोजनाको काम अवरुद्ध गरी आन्दोलनमा उत्रिएका थिए। चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको काम गत जेठ ८ गतेदेखि रोकिएको थियो।
आन्दोलनका कारण मोदी गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको सुरुङ निर्माण काम रोकिएको थियो। गाउँपालिका अन्तरगत वडा नम्बर १ र २ का मख, ठाना, कल्लेनी र ओखलेमा रहेका बस्तीका घरहरू भूकम्पले झैँ भत्किन थालेपछि भूगर्व्विद र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुनःमूल्यांकन गर्नुपर्ने माग प्रभावित क्षेत्रका बासिन्दाले राखेका थिए।
तल्लो मोदीमा भने जुटेन सहमति
२० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना कर्मचारीहरूको माग भने सम्बोधन हुन सकेको छैन। तल्लो मोदी जलविद्युत आयोजनामा कार्यरत ४० जना कर्मचारीहरूले स्वतः स्थायी हुनुपर्ने र स्थायी नहुने तथा जागिर छाड्न चाहने कर्मचारीलाई एकमुष्ट २० लाख उपदान स्वरूप रकम दिनुपर्ने माग राखेका छन्।
तर आयोजनाका सञ्चालकहरू भने निर्माणको समयमा ठेकेदार कम्पनीमा कार्यरत कर्मचारीहरूले निर्माण कार्य सकिएपछि स्वतः अवकाशमा जाने अवस्थामा अनावश्यक दबाब दिएको बताउँदै कर्मचारीका माग पुरा गर्न अस्वीकार गर्दै आएको छ। आन्दोलनरत कर्मचारी र आयोजना सञ्चालकहरूको बिचमा बुधवार पनि वार्ता भएको थियो। यद्यपि वार्ता भने निष्कर्षमा पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ।
आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको भए पनि आन्दोलनका कारण लक्ष्यअनुसार परीक्षण उत्पादन नहुने भएको छ। २०६९ साउनमा निर्माण सुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असार थियो। आयोजनाले विभिन्न कारण यसअघि धेरै पटक उत्पादन मिति सारिसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।