समाज

अवैध उत्खननले नदीनाला संकटमा

असार ५, २०७६

    दैलेख : ढुंगा गिट्टी र बालुवाको अवैध उत्खननले खोलानाला संकटमा पर्दै गएका छन्।  स्थानीय स्रोतसाधनको उपयोगको अधिकार स्थानीय सरकारमातहत आएसँगै दैलेखका खोलाहरुमा अवैध रुपमा ढुंगा गिट्टी र बालुवा उत्खनन बढेको हो।

    खोलाको सतह निकै तलसम्म पुग्ने गरी बालुवा ढुंगा र गिटी उत्खनन गरिएको देखिन्छ। यस्ता कार्यहरूले जैविक विविधिता नष्ट हुँदै गएको र प्राकृतिक विपत्ति निम्तिने स्थानीयले बताउने गरेका छन्।

    दैलेखको माथिल्लो कर्णाली लोहोरे छामघाट रामाघाट ढुगेश्वर चुप्रा बिनिखोला कट्टीखोला लगायतका स्थानहरूमा अवैध तरिकाले ढुंगा बालुवा र गिट्टी उत्खनन हुने गरेको छ।

    स्थानीय सरकारहरुले वातावरणीय प्रभाव मूल्यांकन गरे पनि जिम्मेवार नियकाले स्थलगत अध्ययन गरेको पाइँदैन। वातावरणीय प्रभाव मूल्यांकनभन्दा फरक स्थानबाट धमाधम उत्खनन हुनुले समस्या झनै बढेको जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले बताए।

    स्थानीय तहले कार्यान्वयन गरेनन् प्रतिवेदन

    गत वर्ष इआइए प्रतिवेदन जिल्लाका ११ वटै स्थानीय तहलाई बुझाएको भए पनि उनीहरूले प्रतिवेदन कार्यान्वयन नगरेको जिल्ला समन्वय प्रमुख प्रेमबहादुर थापाले बताए। पक्की पुलनजिक बस्तीनजिक पहिरोको जोखिम भएका स्थानहरुमा समेत ढुंगा बालुवा उत्खनन् गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिले संयुक्त अनुगमन गरेर यसबारे स्थानीय पालिकाहरुलाई पत्राचार गरिसकेको बताएको छ। यद्पि यो वर्ष नियमविपरीत उत्खनन बढेको प्रमुख थापाको भनाइ छ। 

    अवैध क्रसर उद्योग

    जिल्लामा सञ्‍चालित निर्माण कम्पनीहरुले अवैधरूपमा क्रसर उद्योग सञ्‍चालन गरेर गिट्टी बालुवाको दोहन रोकिन नसकेको स्थानीय बताउँछन्। राकमकर्णालीको सिस्ने बजार तलपट्टी खोलामा चारवटा डोजर लगाएर धमाधम बालुवा उत्खनन हुने गरेको छ।

    मध्यपहाडी राजर्माग सञ्‍चालन ठेकेदार कम्पनीले जानकारी नै नदिई क्रसर उद्योग सञ्‍चालन गरेरको पाइएपछि रामाघाट प्रहरी लगाएर रोक्नुपरेको समन्वय प्रमुख प्रेमबहादुर थापा बताउँछन्।

    दोभानमा धेरै समस्या

    भैरवी गाउँपालिका र नारायण नगरपालिकाको दोभान प्रर्ने छामघाट खोलामा कसले नियमन गर्ने भन्ने विषयमा समस्या भएको देखिन्छ। यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिका र दुल्लू नगरपालिकाको दोभानमा पर्ने पादुका खोलामा झन बढी अवैध गिट्टी बालुवा उतखनन हुने गरेको छ।

    खोलाको छेउमा नियमविपरीत क्रसर उदयोग नै सञ्‍चालन गरी गिट्टीबालुवा निकासी हुने गरेको छ। खोलाको दुवै किनारामा डोजर लगाएर घडेरी जस्तो बनाएको देखेपछि चामुण्डाबिन्द्रासैनी नगरपालिका र निर्माण कम्पनीहरुलाई यसो नगर्न सुझाव दिइएको जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी शाहले बताइन्।

    नियम बन्छ कार्यान्वयन हुँदैन

    प्राकृतिक सम्पतिको दोहन रोक्न कैयौँ नियम भने पनि अवैध उत्खनन रोकिएको छैन। समन्वय समितिले गत वर्ष असार १ गतेदेखि रोक्न निर्देशन दिएको थियो।

    १५ गते पछि मात्र रोकिएको थियो भने यो वर्ष पनि जिल्ला समन्वय समितिले असार १ देखि रोक्न भनेर पत्राचार गरेको बताएको भएपनि स्थानीय निकायहरुले विकासमा अवरोध हुने भन्दै १५ गतेसम्म खुल्ला गर्नुपर्ने दबाब दिएको र केही स्थानीय तहले अटेर गरेको समन्वय प्रमुख थापाको गुनासो छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]