समाज

प्रहरीसँगको भिडन्तमै मारिएका हुन् त विप्लवका जिल्ला इन्चार्ज?

स्थानीय भन्छन् : एउटा पनि गोलीको आवाज सुनेनौँ

असार ५, २०७६

    काठमाडौं : प्रहरीले बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा विप्लवका एकजना नेता भिडन्तमा मारिएको समाचार सार्वजनिक गर्‍यो। केही साताअघि भोजपुरमा एकजना कार्यकर्तार तीर्थराज घिमिरे मारिएपछि रिसाएका विप्लव कार्यकर्ताले नेपाल बन्द गर्ने क्रममा काठमाडौंमा बम बनाउँदा पाँचजना मारिएका थिए। 

    सरकार-विप्लव तनाव बढिरहेका बेला भिडन्तमा विप्लवका जिल्ला नेता मारिएको समाचारले अर्को तरंग फैलिएको छ। गुठी विधेयकले तनावमा परेको सरकारले विप्लवका नेतामाथि गोली नै हानेर ज्यान लिएपछि अर्को तनाव बढ्ने डर भएको छ। 

    घटना के हो? 

    बिहीबार दिउँसो ३ बजेतिरको समयमा लालबन्दी नगरपालिका-१० नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब ३ किलोमिटर उत्तरतर्फको जंगलमा विप्लवका कार्यकर्तासँग भिडन्त भएको समाचार प्रहरीले सार्वजनिक गर्‍यो। र, उक्त भिडन्तमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको पुष्टि केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पनि गरे। 

    इलाका प्रहरी कार्यालय नवलपुरबाट गस्तीमा निस्किएको प्रहरी टोलीसँग भिडन्तका क्रममा पौडेल मारिएको दाबी २ नम्बर प्रदेश प्रहरी कार्यालयले पनि गरेको छ। 

    प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको सूचनालाई विश्वास गर्ने हो भने उक्त स्थानमा दुईवटा मोटरसाइकल चढेर आएका विप्लवका तीनजना कार्यकर्तासँग भिडन्त भएको हो। 

    प्रहरी प्रवक्ता पोखरेलका अनुसार चेकजाँचका क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रतिकारमा पौडेल मारिएका हुन् भने अन्य दुईजना त्यहाँबाट भाग्न सफल भएका छन्।  प्रहरीले घटनास्थलबाट एकथान सिक्सर रिभल्वर र कटुवा पेस्तोल बरामद भएको दाबी गरेको छ। 

    कस्तो छ घटनास्थल ?

    सर्लाहीस्थित सञ्चारकर्मीहरू घटनास्थलमा पुग्दा भुइँभरी रगत लत्पतिएको भेटिएको छ। लालबन्दी नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गबाट ३ किलोमिटर उत्तर चन्द्रपुर जंगलमा एउटा बाँसझाङमुनि छ घटनास्थल। लालबन्दी बजारका बासिन्दा घाँस दाउरा गर्न जाने सानो गोरेटो बाटो छेउमा प्रहरीले भनेको ‘भिडन्तस्थल’ मा आलै रगत देखिन्थ्यो। 

    घटनास्थलबाट इलाका प्रहरी कार्यालय नवलपुर तीन किलोमिटरको दुरीमा पश्चिमतर्फ रहेको छ। राजमार्गबाट घटनास्थल पुग्न कम्तिमा आधा घण्टा कस्सिएर हिँड्नुपर्छ।

    घटनास्थलको चारै दिशामा सिसौको जंगल छ। बाटो भन्दा पश्चिमतर्फ केही पर खेत छ। प्रहरीकै दाबी अनुसार भिडन्त भइसकेपछि ज्यान गुमाएका पौडेलको शव स्थानीयबासीले समेत चाल नपाइ जिल्ला अस्पताल मलंगवातर्फ लगिएको छ।

    भिडन्त हो कि होइन? 

    प्रहरीले भिडन्तमै विप्लवका जिल्ला इन्चार्ज मारिएको बताएको छ। यो घटनामा जिल्लादेखि, प्रदेश र केन्द्रीय प्रहरीको एउटै रेडिमेड जवाफ छ, ‘सुरक्षा जाँच गर्न खोज्दा विप्लवका जिल्ला इन्चार्जले प्रहरीमाथि गोली चलाए, त्यसपछि प्रतिकार गर्दा उनी मारिएका हुन्। अन्य दुईजना भाग्न सफल भए।’

    तर प्रहरीले यो दाबी गरिरहँदा स्थानीयबासी भने गोलीको आवाज नै नसुनेको बताउँछन्। घटना हुनु अघिसम्म त्यही वरपर स्थानीय कृषक काम गरिरहेका थिए। तर प्रहरीले भिडन्त भएको भनेको समयमा त्यो क्षेत्र सुनसान थियो। 

    ‘हामी घाँस दाउरा गर्न जाने जंगलको बाटोमा घटनास्थल छ। यदि भिडन्त नै भएको भए हामीले गोली चलेको आवाज सुन्नेथियौँ’, घटनास्थल नजिकैकाका एकजना स्थानीयबासीले भने, ‘हामीले एउटै पनि गोली चलेको आवाज सुनेनौँ। सायद प्रहरीले पौडेलमाथि एकदमै नजिकबाट गोली चलाएको हुनुपर्छ।’

    प्रहरीले भनेको भिडन्तस्थलबाट करिब डेढ किलोमिटर पर मात्रै बस्ती छ। घटनास्थलमा भिडन्तका समयमा घम्साघम्सी भएको कुनै पनि प्रमाण थाहाकर्मीले भेट्टाएनन्। स्थानीयबासीले पनि भिडन्त भएको आवाज नसुनेको बताए। 

    एकजना स्थानीयबासीले नाम नखुलाउने शर्तमा पौडेललाई प्रहरीले पक्राउ गरेपछि एकान्तमा लागेर हत्या गरिएको दाबी गरेका छन्। ‘भिडन्त भएको थियो भने त गोली चलेको सुन्नुपर्ने हो। घटनास्थल हेर्दा पक्रेर गोली हानेको हाम्रो अनुमान हो’, उनले भने, ‘स्थानीयले थाहा पाउने डरले हुन सक्छ, तत्कालै त्यहाँबाट शव उठाएर लगिएको छ।’

    भिडन्तपछि भागेका भनिएका विप्लवका अन्य दुई कार्यकर्ताको अत्तोपत्तो छैन। उनीहरू भागेको समेत कोही स्थानीयले नदेखेपछि घटना झन् रहस्यमय भएको छ। 

    को हुन् कुमार पौडेल

    कुमार पौडेल सर्लाहीकै बागमती नगरपालिका-२ ढुंग्रेका बासिन्दा हुन्। उनी लामो समयदेखि विद्रोही गतिविधिमा सहभागी हुँदै भूमिगत थिए। सुरुमा माओवादीमै लागेर भूमिगत भएका उनी शान्तिप्रक्रियापछि विप्लवतर्फ लागेका थिए। 

    विप्लवतर्फ लागेका उनी चन्दा संकलनमा पनि उत्तिकै सक्रिय थिए। स्थानीयका अनुसार उनले पार्टीका लागि भन्दै विभिन्न व्यवसायी र उद्योगीबाट चन्दा उठाउँथे। 

    उनीबारेमा अहिले पनि स्थानीयबासी खुलेर कुरा गर्न चहाँदनैन्। थाहाखबरले केही स्थानीयसँग कुरा गर्न खोज्दा यसबारे नबोल्ने भन्दै उनीहरू तर्किए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]