काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको बारेमा कुरा गर्नु भन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरे। कुनै समय कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कांग्रेसले अहिले सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्यो भन्न नमिल्ने तर्क गरे।
मन्त्री बाँस्कोटाले भने, 'स्वतन्त्रताको मसिहा धेरै बन्नु पर्दैन। मैले बारम्बार भन्ने गर्या छु। कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनेले पनि यो कुरा उठाउनु आवश्यक छैन। १५ सालमा विपी कोइरालाको दुई तिहाइको सरकार हुँदा मणिराज उपाध्यायको पत्रिकालाई आलोचना गरे वापत लोककल्याणकारी विज्ञापन दिइएको थिएन। मैले भनेको होइन। भीष्मबहादुर देवकोटाले लेखेको हो।'
अरु मुद्दा नभएपछि मिडिया काउन्सिल विधेयकलाई 'परालको त्यान्त्रो समातेर पार लाग्न सक्छ कि' भन्ने दृष्टिले प्रयोग गरिएको दाबी उनले गरे। उनले भने, 'लोकतन्त्र र स्वतन्त्र प्रेसलाई अप्ठ्यारो पार्ने कुनै कुरै छैन। यो चाहीँ अरु मुद्दा सकिएपछि परालको त्यान्द्रो समातेर पार लागिन्छ कि भनेर नन्ठान्नु।
'हुँदै नभएका कुरालाई उठाएर हैरान बनाउने, डिमोरलाइज्ड गर्ने हिसाबले कुरा उठाउनु, अर्काको राजनीतिक दृष्टिकोणमाथि बारम्बार प्रहार गर्नु राम्रो होइन। यो सत्य हो नेपालमा कम्युनिस्ट र कांग्रेस छन्। अहिले दुई तिहाईकै सरकार छ। यो व्यवहारमा जाँचिने छ। को लोकतन्त्र र स्वतन्त्रताको पक्षधर? को कुरा मात्रै गर्ने भन्ने कुरा', उनले १५ साल देखिका प्रसंग उल्लेख गर्दै कांग्रेसलाई आफ्नो विगत सम्झन सचेत गराए।
मन्त्री बाँस्कोटाले भने, '२०५८ सालपछि मिडिया जगतमा के भएको थियो? अन्तराष्ट्रिय संस्थाहरूले नेपाललाई के भनेका थिए? पत्रकारका लागि सबैभन्दा ठूलो कारागार भनेर भनेका थिए। कसको पालो थियो? लोकतन्त्र कसले किस्तिमा राखेर बुझाएको थियो? प्रेस स्वतन्त्रताको शिकारीको सूचीमा को परेको थियो? मैले लगाएको आरोप होइन? आइएफजेले लगाएको कुरा हो।'
बाँस्कोटाले पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरे। सरकारले ल्याएका विधेयकका बारेमा नभएका कुरा प्रचार गर्ने काम भएको आरोप लगाए। उनले भने, 'मलाई थाहा छैन। हामीलाई त कसैले पनि प्रेस स्वतन्त्रताका शिकारीहरू भनेर उपमा दिएको छैन। हामीले त्यो भोग्न पनि नपरोस्। हामी त्यसतर्फ सचेत छौँ। सरकारले विधेयककै ल्याउन नहुने थियो भने यसभन्दा अगाडि के ल्याउने गर्नुहुन्थ्यो? के गरी सरकार चलाउने गर्नुहुन्थ्यो? कानुन बिना? नियम बिना? विधिको शासन हो कि के हो?'
गुठीयारहरूलाई आफुले सामन्तवादी नभनेको पनि बाँस्कोटाले प्रष्टिकरण दिए। उनले भने, 'जनतालाई सामन्ती भनेको होइन। पूँजीवाद पनि छ। साम्राज्यवाद पनि छ। सामन्ती सोचहरू पनि छन्। यो चाहीँ साँचो हो।'
प्रेसमाथि बाह्य र प्रेस आफैले सिर्जना गरेका चुनौती रहेको भन्दै उनले प्रेसमाथि सरकार वा कहिँकतैबाट पनि खतरा नरहेको बताए। सरकारको तर्फबाट समाचार लेखे वापत कसैलाई पनि केही पनि नगरिएको पनि उनले बताए। उनले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेसमाथि अंकुश लगाउने काम नभएको र आग्रह छाडी सकारात्मक सुझावको सम्बोधन हुने बताए। उनले लोक कल्याणकारी विज्ञापनमा कसैलाई विभेद नगरिएको पनि स्पष्ट पारे।
मिडियाका लागि डाटा सेन्टरका सम्बन्धमा उठेका प्रश्नमा उनले मिडिया आफैँले बनाउनुपर्ने तर्क अघि सारे। 'मिडियाका लागि डाटा सेन्टर बनाउनका लागि सरकारसँग बजेट छैन। मिडिया आफैँले बनाउनुपर्छ भन्ने सरकारको मान्यता रहेको छ',उनले भने, 'आफ्नो डाटा सेन्टर आफैँ बनाउनुपर्छ। किनभने सबै मिडिया उद्योग हो। मिडिया स्वतन्त्र पनि छ। आफ्नै ढंगले इन्भेस्ट गरेर पनि गएको छ। सबै ठाउँमा सरकारले लगानी गर्न सक्दैन भन्ने मान्यताको हिसाबले त्यसमा बजेट रहेको छैन।'
बाँस्कोटाले फोर जी सेवामा भ्रष्टाचार भएको भन्ने आफूलाई थाहा नभएको र ३३ महिनामा सक्ने भनिएकोमा १२ महिनामा सक्ने गरी सम्झौता भएको स्पष्ट पारे। उनले कात्तिकसम्ममा देशका ठूला शहरमा र एक वर्षभित्र देशभरि नै फोर जी सेवा संचालन हुने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।