समाज

असिनाले ८ करोडको क्षति, राहत दिन आनाकानी गर्दै स्थानीय तह

असार ६, २०७६

    पर्वत : गत वैशाख र जेठ महिनामा परेको असिना र वर्षाले पर्वत जिल्लामा झन्डै ८ करोड भन्दा बढीको क्षति पुर्‍याएको छ। भारी वर्षा र बाक्लो असिनाले जिल्लाका शंकरपोखरी, फलेवास, कार्कीनेटा, राम्जा, देउपुर, आर्थर, फलामखानी, कटुवाचौपारी लगायतका दर्जनौँ ठाउँमा लगाइएका कृषि उत्पादनहरू सहित घरमा उक्त

    मूल्यबराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्। जिल्ला विपद् व्यवस्थापन समितिले असिनाका कारण क्षति पुगेका स्थानमा स्थलगत अध्ययन र मूल्याङ्कन गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो।

    समितिको बैठकमा कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले यसपटक असिनाका कारण किसानहरू गम्भीर समस्यामा परेको र कतिपय ठाउँमा लगाएका खाद्य र नगदे बालीको बीउ समेत नजोगिएको जानकारी गराए।

    समितिको बैठकमा पीडित किसानहरूलाई जतिसक्दो राहत उपलब्ध गराउन सम्भव भएसम्म स्थानीय पालिकाहरूसँग मिलेर समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। समितिको बैठकमा सहभागी भएका स्थानीय तहका प्रमुखहरूले सम्भव भएसम्म पीडित कृषकहरूको घाउमा मल्हम लगाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

    समितिको बैठकमा राहत उपलब्ध गराउन प्रतिबद्धता जनाएका स्थानीय पालिका प्रमुखहरूले भने अघिपछिको समयमा असिना र वर्षाका कारण ठुलो क्षति भएका कारण पालिकासङ त्यति ठुलो बजेट नहुने भएकाले राहत वितरण गर्ने विषयमा कुनै पनि निर्णय हुन नसकेको बताउने गरेका छन्।

    फलेवास नगरपालिकामा मात्रै झन्डै एक करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरका कृषि उपजहरूमा क्षति पुगेको तथ्याङ्क सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए। स्थानीय पालिकाहरूमा त्यति ठुलो रकम राहत स्वरूप दिन सक्ने अवस्था नभएका कारण नगरपालिकाको बैठक बसे पनि यस विषयमा निर्णय हुन नसकेको उनको भनाई छ। 

    असिना पीडित कृषकहरूलाई राहत स्वरूप नगद नै उपलब्ध गराउने वा क्षति पुगेको बाली लगाउने बेलामा आवश्यक पर्ने बीउ वितरण गर्ने? भन्ने बिषयलाई पनि विकल्पका रूपमा ल्याइएका कारण राहत वितरण गर्ने विषयमा तत्काल नै कुनै पनि निर्णय नभइसकेको गाउँ तथा नगरपालिका प्रमुखहरूले बताएका छन्।

    बालीमा क्षति भएको झन्डै दुई महिना बितिसक्न लाग्दा पनि स्थानीय जनप्रतिनिधिदेखि पालिकाका प्रमुखहरूले पनि यस विषयमा चासो नदिएको भन्दै पीडित कृषकहरू भने आक्रोशित भएका छन्। व्यावसायिक रूपमा लगाउँदै आइएको खाद्य बालीमा ठुलो क्षति हुँदा समेत स्थानीय सरकारले केही गर्न नसक्नु स्थानीय सरकारहरू कृषक मैत्री छैनन् भन्ने देखिएको पीडित कृषकहरूको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]