काठमाडौं : विभिन्न देशबाट भारत प्रवेश गर्ने नेपालीका लागि अव भारतको भिसा आवश्यक पर्ने भएको छ। पाकिस्तान, चीन, मकाउ र हङकङबाट भारत प्रवेश गर्दा भिसा चाहिने नयाँ व्यवस्था सुरु भएको हो।
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गरेर यी चार मुलुकबाट भारत प्रवेश गर्ने नेपालीलाई अनिवार्य रुपमा भारतको भिसा लिएर आउन भनेको हो। ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकहरूका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्नु हुन जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
नयाँ व्यवस्थाले नेपालीले भारतीय अध्यागमनमा अनावश्यक झन्झट व्योहोर्नु पर्ने भएकाे छ। यस्तै दूतावसले भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बहराइन, इराक, लिविया र लेबनान यात्रा गर्ने नेपाली नागरिकलाई अनिवार्य रुपमा दूतावासले जारी गर्ने सिफारिस पत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिनसमेत भनेको छ।
भारत हुँदै ती देशमा जानका लागि सिफारिस पत्र लिन सम्बन्धित देश जानुपर्ने कारण सहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति, भारतबाहेक अन्य तेस्रो राष्ट्र गएको भए त्यसको अभिलेख (भिसा) पेश गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।