समाज

भक्तपुरमा शताव्दी पुरुष सत्यमोहन जोशीकाे अभिनन्दन

असार ६, २०७६

    भक्तपुर : संस्कृतिविद् एवं वाङमय शताव्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा भव्य नागरिक अभिनन्दन गरेको छ। जिल्लाका विभिन्न संघसंस्थाहरूले संस्कृतिविद् एवं वाङमय शताव्दी पुरुष सत्यमोहन नागरिक अभिनन्दन समारोह समिति गठन गरी जोशीलाई अभिनन्दन गरेको हो।

    जोशीलाई भक्तपुर जिल्लाका सांसद र नगरप्रमुखले संयुक्त रुपमा साढे दुई फिट चौडा र चार फिट लामो काठको कलात्मक झ्यालसहितको ताम्रपत्रद्बारा अभिनन्दन गरेको हो। सो अवसरमा साहित्यकार, संस्कृतिविद तेजेश्वरबाबु ग्वंगले नेवारी परम्परा अनुसार जोशीको शिरमा श्रीपेचको प्रतिक सेतो कपडाको ‘वेताली’ बाँधी दिएका थिए। त्यसैगरी भाषाविद् रमापति राज शर्माले दोसल्ला ओढाएका थिए भने मध्यपुर थिमिका वरिष्ठ वाद्यगुरु श्रीगोपाल प्रजापति, सहकारीविद् कैलाशभक्त प्रधानाङलगायतले फूलको मालाले अभिनन्दन गरेका थिए।

    यसअघि जोशीलाई मध्यपुर थिमिको बहाखाबजारमा भव्य स्वागत गरेको थियो। मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वाद्यगुरु श्रीगोपाल प्रजापतिलगायत आयोजक समितिका संयोजक वरिष्ठ साहित्यकार नरेन्द्रभक्त हाडालगायतका पदाधिकारीले स्वागत गरेका थिए।

    थिमिको ग्वंगचिवमा आयोजित संक्षिप्त कार्यक्रममा जोशीलाई मध्यपुर थिमिका नागरिकको तर्फबाट नेवारी परम्परा अनुसार धौ संगः (दही सगुन) दिएको थियो। जोशीले सो अवसरमा शान्तिको प्रतीक परेवाको जोडी समेत उडाइएको थियो। जोशीलाई थिमिको बहाखाबजारदेखि बाजागाजासहितको र्‍यालीले नगरपरिक्रमा गराएको थियो।

    बहाखाबजारदेखि शुरु भएको नगरपरिक्रमा थिमिको चपाचो, दिगुली, दुईपोखरी, बालकुमारी, शंखधरचोक हुँदैं सूर्यविनायक भक्तपुरको जगाती, च्याम्हसिंह हुँदै दत्तात्रय पुगेको थियो। दत्तात्रयमा र्‍याली एकछिन विश्राम गरी जोशीलाई खाना खुवाइएको थियो। नगरपरिक्रमा दत्तात्रयबाट पुनः शुरु भयो र गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, बंशगोपाल, बाराहीस्थान हुँदै कार्यक्रमस्थल पुगेको थियो।

    र्‍यालीमा विभिन्न संघसंस्था, महिला समूह, सहकारी संस्था, स्थानीय बाजा खलः, विद्यालयका विद्यार्थी नेवारी र विभिन्न जातजातिको भेषभुषामा सजिएर सहभागी भएका थिए। त्यसैगरी र्‍यालीमा बासुरी बाजा, धिमे बाजा, नायखीँ बाजा, प्रहरी व्याण्डको सहभागिता रहेको थियो। 

    नगर परिक्रमाको क्रममा जोशीको सम्मानमा नागचा प्याखँ (नाच) इन्द्र अप्सरा प्याखँ, कुमारी प्याखँ समेत प्रस्तुत गरिएको थियो।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]