फिचर

गाउँमा कसैलाई थाहै छैन, सरकारको 'खाता खोलौँ' अभियान

बैंक कर्मचारी भन्छन्- प्रचारप्रसार पुगेन

असार ७, २०७६

    सोलुखुम्बु : नेपाल सरकारले 'खोलौ बैंक खाता' अभियान सञ्चालन गरेको दुई महिना पूरा भएको छ। तर सोलुखुम्बुका ग्रामीण क्षेत्रका नागरिक भने यस विषयमा केही पनि जानकारी नभएको बताउँछन्।

    सोताङ गाउँपालिका-४ कि कविता बस्नेतलाई आजसम्म 'खौलौ बैंक खाता' सम्बन्धी केही पनि जानकारी छैन। यस अभियानअन्‍तर्गत अहिले सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएकोहरूलाई समेटिनेछ।

    देउसाका मोतिराज राईको पनि अहिलेसम्म कुनै पनि बैंकमा खाता छैन। उनले भने, 'खाता खोलिन्छ भन्ने सम्म थाहा छ तर बैंकले नै एक सय जम्मा गरेर खाता खोल्छ भन्ने चाहिँ थाहा छैन।'

      'समृद्धिसँग जोडौं नाता, हरेक नेपालीको बैंक खाता' भन्ने नाराका साथ सरकारले बैशाख एक गतेदेखि सुरु गरेको अभियानलाई जिल्लामा सञ्चालित बैंकहरूले पनि साथ नदिएको होइन।

    उक्त कार्यक्रम अन्तर्गत खाता खोलिएमा बैंकले १ सय रुपैँया खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ। तर यो कार्यक्रम जनता सम्म पु¥याउन नसक्दा प्रभावकारी नदेखिएको लोखिमका रामकिरण राईको भनाई छ। उनले भने, 'यो कार्यक्रम आफैमा राम्रो छ, तर हामी जस्ता जान्नेबुझ्नेलाई त थाहा छैन गाउँका मान्छेलाई कसरी थाहा हुन्छ ? त्यसैले गाउँमा क्याम्पेन राख्नुपर्छ।'

    बैंक कर्मचारी भन्छन्- प्रचारप्रसार पुगेन 

    सदरमुकाममा रहेका बैंकहरूको तुलनामा गाउँमा भएका बैंकमा केहि बढी सङ्ख्यामा खाता खुलेको बैंकहरूले जनाएका छन्। सदरमुकाममा बस्नेहरूको बैंकमा खाता रहेकाले पनि सदरमुकामस्थित बैंकमा खाता खोल्नेको सङ्ख्या कम भएको बैंकहरूको अनुमान छ।

    सल्लेरीमा रहेको कृषि विकास बैंकमा अहिले सम्म जम्मा ४ जनाले मात्र सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तर्गतको खाता खोलेका छन्। प्रचार प्रसारको कमीले पनि बैंकमा खाता खोल्न आउने संख्या उल्लेख्य नभएको बैंकका लेखा शाखाका कर्मचारी विनोद ढुङ्गानाले बताए।

      'केन्द्रीय मिडियामार्फत प्रचारप्रसार गरिँदा गाउँका नागरिकले जानकारी नपाएको हुन सक्छ।' उनले भने, 'जिल्लामा सञ्चालन हुने मिडियामार्फत प्रचारप्रसारको व्यवस्था मिलाउन सकेको खण्डमा यसको प्रभावकारीता बढ्ने थियो।'

    राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरीमा अहिलेसम्म १५ जनाले खाता खोलेको शाखा प्रमुख भावना फुयालले बताइन्। कुनै पनि बैंकमा खाता नभएकालाई मात्र यो सेवा उपलब्ध हुने भएकाले खाता खोल्नेको संख्‍या कम भएको हुन सक्ने उनको भनाइ छ।

    जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा रहेको कृषि विकास बैंक शखामा भने अहिलेसम्म २७ जनाले खाता खोलेको शाखा प्रमुख महेन्द्र साहले जानकारी दिए। देश संघीय संरचनामा गएपछि हरेक स्थानीय तहमा बैंक स्थापना भएर काम गरिरहेका छन्। तर कार्यक्रमलाई जनतासमक्ष पुर्‍याउने प्रभावकारी माध्यम नहुँदा पनि यो कार्यक्रममा सहभागीता उत्साहप्रद नदेखिएको स्वायम् बैंकका कर्मचारी बताउँछन्।

    सात जनाले खोले खाता

    यता सल्लेरीमै रहेको सेञ्‍चुरी कमर्सियल बैंकमा अहिलेसम्म ७ जनाले सबै नेपालीको बैंक खाताअन्तर्गत खाता खोलेको बैंकका कर्मचारी खेमराज कट्टेलले जानकारी दिए।

    २०७६ भरिमा सबै नेपालीको बैंक खाता खोल्ने सरकारको नीति भए पनि सोलुखुम्बुमा यसको प्रभावकारिता कम देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलिले वैशाख १ गते सुरु गरेको यो कार्यक्रम दुई महिना बिते पनि यहाँका नागरिकलाई खासै जानकारी नभएको बताउँछन्। 

    कसरी खोलिन्छ खाता?

    सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता पुर्‍याउने कार्यक्रम समावेश गरेको थियो। सोही नीतिबमोजिम सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई खोलौं बैक खाता अभियान २०७६ को रुपमा अगाडि बढाएको हो।

     सरकारले प्रमाणित गरेको कुनै एउटा मात्रै प्रमाणपत्र भए खाता खोल्न सकिनेछ। यस्तै राष्ट्र बैंकले सर्वसाधारणहरूलाई प्रेरित गर्न बैंकको सामाजिक उत्तदायित्वअन्तर्गत जम्मा भएको रकमबाट हरेक खातामा एक सय रुपैयाँ जम्मा गर्ने जनाएको छ। यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यस अघि खाता नखोल्नेहरूलाई मात्रै जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

भोजराज कार्की

कार्की थाहा खबरका सोलुखुम्बु समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]