खेलकुद

कर्माछिरिङले बाटो बिराएपछि एन्फा छाडेँ

'फुटबलको जहाज'मा ठुला प्वाल परिसकेका छन्

असार ७, २०७६

    काठमाडौं : पछिल्लो ८ वर्षदेखि नेपाली फुटबल क्षेत्रमा 'चेन्ज एन्फा, सेभ नेपाली' अभियन्ता हुन् नवीन पाण्डे। अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्षका प्रमुख सल्लाहकार एवम् अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डेले हालै एन्फाका बसै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

    हिमालयन शेर्पा क्लबको म्यानेजरका रुपमा काम गरेका उनी वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको पक्षमा लागेका थिए। तर उनै पाण्डे एन्फामा पुरानै प्रवृत्ति हावी भएको, अध्यक्ष शेर्पा आफ्ना एजेण्डाबाट टाढा पुगेको र व्यवसायिक शैली भन्दा पनि व्यक्ति रिझाउने काममा लागेको भन्दै रिसाएका छन्। उनले जेठ २७ गते पदबाट राजीनामा दिएका थिए। एन्फा छाड्नै पर्ने कारण के हो त? पाण्डेसँग थाहाखबरका भागवत भट्टराईले गरेको कुराकानी: 

    तपाईले कर्मा छिरिङ्ग  शेर्पालाई छोड्नु भएको हो ? 

    म हिजो उहाँको एजेण्डा र प्रतिवद्धताहरुको पक्षमा लागेको थिएँ। म हिजोदेखि आजसम्म त्यही प्रतिवद्धतामा काम गरिरहेको छु  ।  तर अध्यक्षज्यू हिजोको  एजेण्डा र प्रतिवद्धता भन्दा निकै टाढा पुग्न भएको महसुस गरेँ।  तर्सथ, यो दुरी नमिलेको मात्र हो। म व्यक्ति व्यवस्थापन गरेर अगाडि बढ्नु भन्दा सिष्टम र पद्धतिको पक्षमा लागेँ। उहाँ व्यक्ति खुसी बनाएर अगाडि बढ्ने मार्गमा लाग्नु भयो। त्यस कारण यहाँ छोड्ने र टाढा हुने कुरा नै छैन। 

    गणेश थापा ठीक लाग्‍न थालेको या आफू गलत लाग्न थालेको हो ? 

    गणेश थापासँगग मेरो कुनै व्यक्तिगत गठजोड छैन। उहाँले मेरो के बिग्रानु भएको छ र! अनि मैले उहाँको के बिगार गरेको छु र! फुटबलको कुरामा उहाँले गर्नुभएको कर्मको फल भोग्ने हो।  उहाँले जे रोप्नु भयो त्यही पाउनु भयो। हिजो रोपेको विरुवाको अवस्था कस्तो मलाई भन्दा उहाँलाई धेरै थाहा छ।

    नेपाली फुटबलको लागि गरेको कर्मको फल मैले नै भोग्ने हो।  म उहाँको व्यक्तिगत विषयमा टिप्पणी गर्न चाहान्‍न।  मेरो सवालमा म आफ्नो एजेण्डामा सही छु।  मेलै त विरुवा रोप्न खोजेको थिएँ, त्यो पनि पूर्ण भइसकेको छैन। 

    तपाईंले तय गरेको मिसन के हो ? एन्फाबाट बाहिर बसेर कसरी पुरा हुन्छ तपाईंको योजना?

    मेरो मिसन नेपाली फुटबललाई व्यवसायिक बनाउने हो।  दक्षिण एसियाको 'पावर हाउस' बनाउने  हो।  फुटबलको माध्यमबाट गर्व गर्न लायक नेपाली संस्थाका रुपमा एन्फालाई परिचित गराउने हो। हरेक खेलाडी, प्रशिक्षक र रेफ्रीले आफैंलाई गर्व गर्ने पहिचान बनाउन सकुन् भन्‍ने हो। यो मिसन पुरा गर्न एन्फाबाट सहज हुन्थ्यो। तर त्यहाँ सम्भव देखिनँ । त्यसैले बाहिर बसेर पनि यो मिसनमा काम गर्न सकिन्छ। जो म गर्ने छु। परिधि सानो हुँदा सहज होला तर प्रवत्तिले समस्या भयो। तर सम्भव छ। किनकी यो १०० मिटरको रेस होइन। यो त म्याराथुन हो निकै ठुलो मेहनत र परिश्रमपछि मात्र विजय सम्भव छ। 

    कसरी गर्नहुन्छ यो सबै काम ? 

    हेर्नुस्, यो काम आजको भोली हुन्‍न। यसका लागि बलियो फाउन्डेशन आवश्यक पर्छ। हामीसँग त्यो फाउन्डेशन छैन। सुरुवातको चरणमा पनि छैनौँ । तर मलाई विश्वाश छ ढिलो चाँडो सबैले यो विषयलाई स्वीकारर्नु पर्नेछ, हामी काँहा छौ , न रंगशाला छ  । न व्यवस्थित ट्रेनिङ्ग सेन्टर छ , न जिल्लाहरुलाई बलियो बनाउन सकिएको छ , न क्लबहरुलाइ बलियो पार्ने संरचना छ , खाली मिलाउने र चलाउने सिष्टमले एउटै गति लिन्छ। यो मिसन पुरा गर्न एउटै संकल्प भए पुग्छ, गलत गर्दिन, गलत गर्न पनि दिन्‍न। म गर्छु, सबैलाई गर्न लगाउँछु। यो सोच केही वर्ष लागू गर्न सके म असम्भव देख्दिनँ। 

    एन्फाको वर्तमान कामप्रति तपाईंले निकै आरोप लगाउनु भएको छ। हिजो तपाईं नै यो नेतृत्वको प्रचारमा हुनुहुन्थ्यो नि। 

    हो गरेको हो, हिजो अध्यक्षज्यूले देखाउनु भएको उत्साह, परिवर्तनको पक्षलाई उहाँले समेट्न खेल्नु भएको भूमिकाको आज पनि प्रशंसा गर्छु। योसँगै मैले उजागर गरेको विषय आरोप मात्र हो वा सत्य खोज्ने काम तपाईंहरुको हो। जो खोज पत्रकारिता गर्नु हुन्छ। मैले चर्चामा आउन वा केही पाउन यो गर्नु जरुरी छैन। सबै ठीक छ भनेर बस्यौँ भने हामीले आशा गरेको व्यक्ति पनि फेल हुन्छ। अनि सिष्टम पनि फेल, यसरी कसरी चल्छ ? त्यस कारण हिजो इमान्दरीतापूर्वक प्रचार गरेको हो। आज इमान्दारीपूर्वक सजग गराएको हो। बाँकी जसले जे अर्थ पनि लगाउन सक्छ नि !

    एन्फामा केही पाउन घुर्‍क्याउने र तर्साउने प्रवृत्ति हावी छ भन्‍ने सुनिन्छ, तपाईंको पनि स्वार्थ होला नि ? 

    हेर्नुस, तर्साउने र घुर्‍क्याउनेले राजीनाम दिन्छु भन्छ, दिन पनि सक्दैन। मैले त दिइसकेँ। अब मैले के पाउने? अनि अर्को कुरा म अध्यक्ष र महासचिव बनुँला भनेर फुटबलमा लागेको पनि त होइन। म त नेपाली फुटबलको समृद्धिका लागि स्वयसेवक बनेर कर्म गरिरहेको व्यक्ति हुँ। म फुटबल छोडेर हिँड्न सक्ने मान्छे पनि होइन। हो मेरो स्वार्थ छ, फुटबलमा लागेको खेलाडी, प्रशिक्षक, रेफ्री साना साना कुरामा निरीह हुनुपर्ने, अनि पदाधिकारी भने व्यक्तिगत समृद्धिमा लाग्ने प्रवृत्तिविरुद्ध काम गर्ने मेरो स्वार्थ हो। 

    तपाईंको राजीनामापछि एन्फा नेतृत्वको धारणा के पाउनु भएको छ ? 

    मैले कसैलाई केही भनेको छैन । केही साथीहरुले छोड्नु हुदैनथ्यो भन्‍नुहुन्छ। केहीले समयमै बाहिरिनु भयो भन्छन। केहीले एक वर्ष टिक्नु भयो, यही ठुलो कुरा हो भन्छन। सबै माया गर्नेहरुको शब्द फरक छ। मेरो राजीनामाको २४ घण्टा भित्र के के भयो भन्‍ने विषयचाँहि समय आएपछि भनौला। यो प्रश्न तपाईंले एन्फा नेतृत्वलाई नै सोध्नु ठीक होला। 

    फुटबलमा चेन्ज-सेभ अभियान चलाउनु भयो? आफै 'डेन्जर जोन'मा परेको जस्तो भएको छैन ? 

    चेन्ज निरन्तरको प्रकृया हो। म सेभ जोनमा नै छु।  बरु समयमै हामीले हिजो गरेका प्रतिवद्धता  पुरा गरेनौँ भने सबै डेन्जर जोनमा पुग्न सक्छौ। त्यसकारण म सबैलाई सचेत र सजग गराउन बाहिरिएको हुँ। कसैलाई बिग्रान होइन। एन्फा भित्रको आपसी लडाईंमा मैले कसैलाई सघाउनु पनि छैन। कसैलाई हराउनु पनि छैन। हिजो जस्तै फुटबलालाई निष्पक्ष अगाडि बढाउन जुट्नेहरुसँग साथै रहने छु। जिल्ला, क्लबसँग सम्पर्कमा छु। फुटबलका पागल फ्यानहरुसँग सम्पर्कमा छु।  

    हिजो हामीले फुटबलको जाहाजमा प्वाल छ भन्यौ। तर हामीले त्यो जाहज चलाउने अवसर पाएपछि पहिले प्वाल टाल्नु उपयुक्त हुन्थ्यो। तर हाम्रो नेतृत्व त्यसको परवाह नगरी अरु प्वाल पार्नेतर्फ अग्रसर भएको मैले पाएँ। त्यसकारण वर्तमान फुटबलको जहाजमा ठुला ठुला प्वालहरु परिसकेका छन। मेरो धर्म त्यो टाल्ने नै हो। म त्यही कर्म गर्छु  । जति सकिन्छ त्यति गर्छु। इमान्दारीतापूर्वक गर्छु।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]