काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) करिब ५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेजका अनुसार आज ने...
दुई वर्षभित्रै फल दिने बोट लगाइने
भद्रपुर, (झापा) : पछिल्लो समयमा भारतबाट विषादीयुक्त फलफुल नेपाली बजारमा भित्रिन थालेपछि यस रोकथामका लागि प्रधानमन्त्रीको गृह जिल्ला झापामा वृक्षारोपण (फलफुल बगैँचा विकास) कार्यक्रम सञ्चालन हुँदैछ।
उदयपुरको गाइघाटस्थित वृहत् जल आधार व्यवस्थापन केन्द्र कोसीले प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लालाई उच्च प्राथमिकतामा राखेर वृक्षारोपण (फलफुल बगैंचा विकास) कार्यक्रम सञ्चालन गर्न लागेको हो।
प्रधानमन्त्रीको समृद्धि तथा खुसी नेपाली अवधारणा अन्तर्गत समुदायले छोटो समयमै आयआर्जन गर्न सक्ने उद्देश्यका साथ फलफुल बगैँचा विकास कार्यक्रम झापामा सञ्चालन गर्न लागेको वृहत् जल आधार व्यवस्थापन केन्द्रका प्रमुख उद्धवबहादुर घिमिरेले जानकारी दिए।उनका अनुसार वृहत् जल आधार व्यवस्थापन केन्द्रले प्रदेश एकका १४, प्रदेश २ र ३ का ५/५ वटा जिल्ला गरी २४ वटा जिल्लाहरूमा यो कार्यक्रम विस्तार गर्दै लैजाने बताए।
‘वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभाग मार्फत यस चालु आर्थिक वर्षमा वृक्षारोपण कार्यक्रमका लागि २५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ’, उनले भने, ‘सो कार्यक्रम बमोजिम यही असार मसान्तभित्र झापा र उदयपुरलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन हुँदैछ।'
उनले यसका लागि उपयुक्त जमिनको खोजीमा केन्द्र रहेको जानकारी दिए। उनले भने, ‘जमिन प्राप्तिपछि डिभिजन वनको सहकार्यमा सामुदायिक वनसँग मिलेर कार्यक्रम थाल्छौं।’
फलफुल वृक्षारोपणका लागि उपयुक्त जमिनको अवलोकन
डिभिजन वन कार्यालय झापाको सहकार्यमा वृहत् जल आधार व्यवस्थापन केन्द्रको टोलीले झापाका केही सामुदायिक वन छनौट गरी जमिन हेर्न काम सुरु गरेको छ। केन्द्रका प्रमुख उद्धवबहादुर घिमिरे, इन्जिनियर वीरेन्द्र महतो र डिजीभन वन कार्यालय झापाका प्रमुख विष्णुप्रसाद घिमिरेसहितको टोलीले फलफुल वृक्षारोपणका लागि झापाका तीन वटा सामुदायिक वन अन्तर्गत पर्ने जमिनको स्थलगत अवलोकन गरी छनोट प्रक्रिया अघि बढाइसकेको छ।
झापामा फलफुल वृक्षारोपण कार्यक्रम सञ्चालन हुने भएपछि डिभिजन वनले भद्रपुरस्थित चन्द्रगढ, राम पोखरी सामुदायिक वन र दमकस्थित हम्सेगुम्से सामुदायिक वनको जमिन छनोट गरेको डिभिजन वन प्रमुख घिमिरेले जानकारी दिए। ‘तीन वटामध्ये चन्द्रगढ र हम्सेगुम्सेको जमिन हेरिसकेका छौं’, उनले भने, ‘केन्द्रको टोलीले पनि सो जमिन फलफुल वृक्षारोपणका लागि उपयुक्त मानेको छ। अब इन्जिनियरसहितको टोलीले सामुदायिक वनसँग सम्झौता गरी कार्यक्रम अघि बढाउँछ।’
दुई वर्षभित्रै फल दिने बोट लगाइने
वृहत् जल आधार व्यवस्थापन केन्द्रका प्रमुख घिमिरेका अनुसार एक हेक्टरदेखि पाँच हेक्टर जमिनमा फलफुल बगैँचा विकास कार्यक्रम सञ्चालन हुन्छ। ‘बगैँचामा आँप, लिची र अम्बक जातका वृक्षारोपण गर्ने छौं', उनले भने, ‘पाँच वर्षसम्मका ती जातका ५० हजार बोटबिरुवा लहानमा रहेको छ। त्यहीबाट लिएर रोप्ने छौं।’
आँप, लिची र अम्बक छिटो फल्ने भएकोले बिरुवा रोपेको दुई वर्षभित्रै फल दिन्छ र विषादीरहित फलफुलबाट समुदायले राम्रो आम्दानी गर्ने लक्ष्य लिएको उनको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।