मनोरञ्जन

मुना-मदनमार्फत् पलेँटीमा शान्ति ठटालकाे धुन

असार ८, २०७६

    काठमाडाैं : यस महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत हुने भएको छ। 

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए।

    गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गर्‍यो। उनले काठमाडाैंको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला शुरु गरिन्। त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना-मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएकाछन्।

    संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन्। त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाडाैंमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरिरहेकी छन्।

    नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना-मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ। त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ। यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन्। त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मीना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन्। 

    मुना-मदनको यो प्रस्तुतिमा अर्को आकर्षण पनि रहेको छ। दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपालीको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन्। त्यसैले यो पलेँटी मार्फत् काठमाडाैंले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ। मुना-मदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने छ।

    ‘मैले उहिल्यै धुन भरेको मुना-मदन झण्डै झण्डै भुली सकेकी थिएँ। पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु। यसको रंग भने लोकले गाउँदै आएको मुन-मदनकै मौलिक धुनमा आधारित छ।‘ आफूले धुन भरेको कृतिका बारे संगीतकार ठटालले जानकारी गराइन्।

    ‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुन थाल्दा यसको प्रस्तुति भएको थियो। एउटा रमाइलो जानकारी गराउँछु। त्यतिबेला मुना-मदन गीतिनाटकको निर्देशक पनि मै पो थिएँ त?’ उन्मुक्त हाँसोकासाथ ठटाल भन्दै थिइन्, ‘यसपाली भने गीति नाटकको रुपमा होइन। कथा गायनको रूपमा प्रस्तुत हुनेछ।‘

    ‘संगीतमा निरन्तर क्रियाशील शान्ति दिदीका झण्डै बिर्सिसकेका मुना-मदनका धुनलाई पलेँटीको अभिलेखालयमा संकलन गर्न पाउनु सानो उपलब्धी होइन। 'देवकोटाको यसै कृतिमा अग्रज संगीतकार अम्बर गुरुङले भर्नु भएका धुन हामीले सुन्न पाएनौं। त्यसलाई बेलैमा व्यवस्थित ढंगले अभिलेखायलमा राख्न पाएको भए नेपाली संगीत र साहित्यको ढुकुटी थप भरिलो हुने थियो।‘

    पलेँटी संयोजक आभास भन्दै थिए, ‘शान्ति दिदीले हामीलाई यसको अभिलेख राख्ने मौका दिनुभएको छ, यसले हाम्रो संगीत र साहित्यको ढुकुटीमा अनमोल रत्न थपिएको छ।‘ नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति ठटाल र उनको टिमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन्।

    शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्ताहान्त-शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

    कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र इमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको आयोजक संस्था नेपालयले जानकारी गराएको छ। यही जुन महिनाको, २८, २९ ३० तारिख ९ असार १३, १४ र १५० मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’ मा प्रस्तुत हुने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]