अर्थ

बजेटमाथि कांग्रेसको टिप्पणी : २ वर्षमा सुदूरपश्चिमको उधोगति

रातो किताब जलाउने रहर थिएन

असार ९, २०७६

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्ष दलहरुले चर्को आलोचना गरिरहेका छन्। सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्ष दलले आलोचना गरेका हुन्।

    सोमबार नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सभापति एवं प्रदेश सांसद कर्णबहादुर मल्लले प्रदेश सरकारले आफ्ना कार्यकर्तामुखी गरी बजेट ल्याएको टिप्पणी गरेका छन्। सरकारले आफ्ना कार्यकर्तालाई ध्यानमा दिएर वितरणमुखी बजेट ल्याएको उनको आरोप छ।

    उनले सुदूरपश्चिमका जनताले अपेक्षा गरेअनुसारको बजेट नआएको र यो बजेटले द्रुतगतिको विकासको चाहनालाई पर धकेलिदिएको समेत बताए। उनले प्रदेश सरकारले एक हजारदेखि ९० हजारसम्मका तीन सय योजना बनाएको समेत पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए। सरकारले ल्याएको बजेटबाट सन्तुष्ट हुने अवस्था नरहेको उनको भनाइ छ। यो बजेट सुदूरपश्चिमका जनताको हितमा नभएको उनले दाबी गरेका छन्।

    रातो किताब जलाउने रहर थिएन

    प्रदेशसभा सदस्य मल्लले राज्य कोषको पूर्णरुपमा दुरुपयोग गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको आरोप समेत उनले लगाएका छन्। प्रदेश सरकारले अनुचित ढंगले बजेट विनियोजन गरेकाले आफूहरुले रातो किताब जलाएको उनले जानकारीसमेत दिए।

    पार्टीभित्र गम्भीर छलछल गरेर मात्रै रातो किताब जलाएको उनको भनाइ थियो। सरकारले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने योजनाभन्दा पनि कार्यकर्ता पोस्ने योजना बढी राखेकाले नेपाली कांग्रेस संसदीय दलले रातो किताब जलाएको उनले बताए।

    ‘बजेट जलाउने हाम्रो रहर थिएन, यो नेपालको इतिहासमा पहिलो घटना हो।’ उनले भने, ‘यो रातो किताब होइन यो ‘ब्ल्याङ्क’ बुक हो। सरकारले इच्छाएको बेला जतिखेर जसका नाममा चेक काट्नसक्ने हुनेगरी आएको बजेटलाई खाली किताबको संज्ञा दिएर हामीले यो जलाएका हौं।’

    पश्चिम सेतीलाई लाइफ लाइनबनाऔँ भन्दा मानेनन्

    आफूहरूले सत्तापक्षलाई पश्चिम सेती जलविद्युत् आयोजनालाई ‘लाइफ लाइन’ बनाउभन्दा नमानेको उनले आरोप लगाएका छन्।

    कुल ७५० मेगावाट क्षमताको सो आयोजना निर्माण गर्नको लागि यस वर्षको बजेटमा पाँच अर्ब रुपैयाँ छुट्याउ र केन्द्र सरकारलाई १० छुट्याओस् भन्दा नमानेको उनको भनाइ छ। उनले प्रदेश सरकार र संघीय सरकारले पश्चिम सेती जलविद्युत् आयोजनाको बजेटमा नामसमेत नलिएको आरोप लगाए।

    ‘हामीले प्रदेश सरकारलाई अहिले पश्चिम सेती जलविद्युत् आयोजनाको लागि पाँच अर्ब छुट्याउ, केन्द्र सरकारलाई १० छुट्याओस् भन्यौं। उनले भने,‘१५ अर्ब छुट्याउन। यसै वर्षबाट काम सुरु गर्नसके १० वर्षभित्र सम्पन्न गराउने सम्भावन हुन्छ। तर उहाँहरुले पश्चिम सेतीको कहीँकतै नाम नै लिनुभएन।’

    सुदूरपश्चिम २ वर्षमा उधोगतिमा जान्छ

    प्रदेशसभा सदस्य मल्लले अबको दुई वर्षमा सुदूरपश्चिम उभोगति जानुको सट्टा उधोगतिमा जाने ठोकुवा गरेका छन्। प्रदेश सरकारले विदेशी लगानी भित्र्याउनु नसक्नु, आएको बजेट पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नु, कार्यान्वयन भएको बजेट पनि दुरुपयोग भएकाले सुदूरपश्चिम उधोगतिमा जाने उनको ठम्याइ छ।

    ‘विकास निर्माणका काममा विदेशी लगानी भित्र्याउन नसकेको सुदूरपश्चिम प्रदेश हो। उनले भने,‘अन्य प्रदेशका भन्दा सबैभन्दा बजेट पनि सुदूरपश्चिमले नै ल्याएको छ।’

    उनले अहिले प्रदेश सरकारले ल्याएको बजेट पनि विगत झैं कार्यान्वयन गर्ने हो भने हामी सुदूरपश्चिमेली ‘कहाली लाग्दो’ अवस्थामा पुग्ने बताए। सुन्दर सुदूरपश्चि, समृद्ध सुदूरपश्चिम कल्पना बाहिरको कुरा रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमेली असाध्यै अकल्पनीय अवस्थामा पुग्न सक्ने उनको दाबी छ।

    ‘अहिले प्रदेश सरकारले ल्याएको बजेट यहीँ ढंगले कार्यान्वयन गर्ने हो भने अब एक–डेढ वर्षपछि सुदूरपश्चिम ‘कहाली लाग्दो’ अवस्थामा पुग्छ।’ उनले भने। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]