राजनीति

गुठी विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्यो: नारायणमान बिजुक्छे

असार ९, २०७६

    काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न बनेको विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको बताएका छन्। उनले उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने बताएका छन्।

    भक्तपुर नगरपालिकाको पाँचौ नगर सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेता बिजुक्छेले भने, ‘विधेयक वर्षौँदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधीश र सामन्तहरुको चलखेल भयो ।'

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिजुक्छेले  गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए । 

    भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको सोमबार उद्घाटन गर्दै उनले नेपालका गुठी जग्गा लथालिङ्ग रहेकाले यसको व्यवस्थापन जरुरी रहेको उल्लेख गरे। उनले फिर्ता लिन नहुने गुठी विधेयक तत्काललाई फिर्ता भए पनि पुनः पेश गरेर पारित गर्न सरकारलाई आग्रह गरे ।

    जनप्रतिनिधिले जनताको मतलाई अप्ठ्यारो हुने गरी काम गर्न नहुनेमा जोड दिँदै उनले किसानहरूबीच समानता ल्याउन किसानलाई मोहियानी हक दिनुपर्ने उल्लेख गरे।

    बिजुक्छेले टोल-टोलमा भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिँदै नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीलाई समयसापेक्ष तालिम, सडकपेटी व्यवस्थापन, सफा पशु वधशाला र आदर निकेतनका लागि आवश्यक ऐन बनाउनुपर्ने औँल्याए।

    कार्यक्रमका सांसद प्रेम सुवालले भक्तपुरको नगरकोट–बागिश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए। नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल तथा साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएको उल्लेख गरे।

    उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन डाक्टर र इञ्जिनीयरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयको अध्ययन आवश्यक भएकाले नगरपालिकाले यी विषयका लागि छात्रवृत्ति राखेको बताइन्।।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]