काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
कपिलवस्तु : किसानलाई मौसम, प्रविधि र जलवायुको विषयमा जानकारी दिने उद्देश्यले कपिलवस्तुका ६३ वटा कृषक समूहलाई मोबाइल फोन वितरण गरिएको छ। ‘हाम्रो कृषि’ एप्लिकेसनमार्फत मौसम तथा प्रविधिसम्बन्धी जानकारी दिने तथा कृषकलाई परेको समस्या समाधान मोबाइलबाट गर्न कृषकलाई मोबाइल वितरण गरिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।
जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कृषि भूमि व्यवस्थापन सूचना प्रणालीले एक कार्यक्रमबीच मोबाइल हस्तान्तरण गरेको हो। एप्लिकेसनमार्फत जलवायुमा एक सातापछिसम्म हुने परिवर्तनबारे जानकारी लिन सकिने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोबिन्द आर्यले बताए।
‘एक हप्तापछि पर्ने पानी, हावाहुरी, असिनाबारे प्रारम्भिक जानकारी एप्लिकेसनमार्फत प्राप्त गर्न सकिन्छ र सोहीअनुसार कृषक सचेत बन्न सक्छन्,’ उनले भने।
जिल्लाका उत्कृष्ट कृषि समूहमध्ये कृषिका ३८ र पशुसेवा तर्फका २५ समूहलाई मोबाइल र सिमकार्ड हस्तान्तरण गरिएको हो। नेपाल टेलिकमको सहकार्यमा उक्त मोबाइलमा प्रत्येक महिना १५ एमबी डाटा निःशुल्क उपलब्ध गराइने भएको छ।
त्यस्तै, कृषि समूहलाई रेनगेज तथा थर्मोमिटर गरेर ३० हजार बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषिसम्बन्धी जानकारी मोबाइलमा आएपछि कृषकलाई राहत हुने सृजनशील कृषि समूह बाणगंगा नगरपालिका, ११ बरवाका अध्यक्ष कमला मरासिनीले बताइन्।
उनी भन्छिन्, ‘पटक–पटक असिनापानीले खेतीबालीमा असर गर्ने गरेको छ, अब हामी त्यसबारे पहिलै जानकारी पाउँछौँ र खेतीबाली बचाउन सक्छौँ।’
प्रविधिमैत्री कृषि प्रणाली
कृषिलाई प्रविधिसँग जोडेर लैजाँदा उत्पादकत्व बढ्ने जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना निर्देशक शिवनन्दन प्रसाद शाहले बताए। उनले भने, ‘अब किसानको एक हातमा हलो र अर्को हातमा प्रविधि हुन जरुरी छ, प्रविधिको प्रयोग गरेर कृषिको विकास गर्नुपर्छ।’
कृषक समूहलाई वितरण गरिएका मोबाइलको सही उपयोग गर्न तरकारी जोन कपिलवस्तुका प्रमुख राकेश ओझाले सुझाव दिए। उनले भने, ‘परीक्षणका रूपमा यो परियोजना सुरु भएको छ, त्यसैले पनि कृषक समूहले सही प्रयोग र उपयोग गर्नु जरुरी छ।’
फोनबाटै समस्या हल गर्ने
कृषकले आफ्नो समूहमा देखिएका समस्या एप्लिकेसनमा राखेमा विज्ञले अनुसन्धान गरेर जवाफ दिने कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका पशु चिकित्सक अनन्त कोइरालाले बताए। उनले भने, ‘कृषकले आफ्नो समस्याको फोटो खिचेर जानकारीसहित लेख्नुभएमा हामी एप्लिकेसनमार्फत समाधान गर्नेछौँ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।